ad ad

कारोबार


बहाना बनाएर विकास आयोजनामा ढिलाइ नगर्न निर्माण कम्पनीलाई सांसद चौधरीको आग्रह

बहाना बनाएर विकास आयोजनामा ढिलाइ नगर्न निर्माण कम्पनीलाई सांसद चौधरीको आग्रह

नेपालखबर
फागुन २८, २०८० सोमबार १५:२९, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न आग्रह गरेका छन्। 

सोमबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै उनले विकास आयोजना निर्माण कार्यमा विलम्ब नगर्न भनेका हुन्। 

पश्चिम नवलपरासी जिल्लाभित्र सञ्चालित विकास आयोजनाको प्रगति एवं समस्या समाधानका विषयमा उनले सरकारी निकाय, स्थानीय तह र निर्माण व्यवसायीसँग छलफल गरेका थिए।

उक्त छलफलमा उनले भने, ‘विकास परियोजना सम्पन्न गर्न सरकारकातर्फबाट गर्नुपर्ने सहजीकरणमा हामीले निरन्तर समन्वय गर्दै आएका छौँ। स्थानीय तह होस् वा प्रदेश सरकार, त्यहाँ पनि हाम्रातर्फबाट निरन्तर समन्वयको काम भइरहेको छ । तर के कारणले आयोजनाहरुको काम अपेक्षाकृत हुन सकेको छैन। यसमा गम्भीर बन्न जरुरी छ।’

नवलपरासी १ बाट प्रतिनिधिभा सदस्य निर्वाचित सांसद चौधरीले नारायणगढ बुटवल सडकखण्ड र हुलाकी राजमार्गको कामलाई तिब्रता दिन जोड दिए।

‘हाम्रोतर्फबाट कहाँ कहाँ सहजीकरण गर्नुपर्छ, म तयार छु  तर अब विभिन्न वाहानामा काम ढिलासुस्ती गर्ने छुट कसैलाई छैन’, उनले प्रष्ट पारे। 

उनले परियोजना सम्पन्न गर्ने मिति नै निश्चित गरेर काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरे। 

नवलपरासीबाट निर्वाचित भएपछि सांसद चौधरीले जिल्लाको विकासका लागि सरोकारवालासँग निरन्तर छलफल गर्दै आएका छन्।

उनले विकासका कामलाई गति दिन सबै पक्षसँग आयोजनाको प्रगति र समस्याका बारेमा पनि सरोकारवालासँग छलफल गर्ने गरेका छन्। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्डको काममा भइरहेको सुस्तताप्रति उनले असन्तुष्टि जनाए।

‘हुलाकी सडकको काम वर्षाैंदेखि धिमा गतिमा भइरहेको छ । बुटवल नारायगण सडक खण्डको काम पनि उस्तै छ’, सांसद चौधरीले भने, ‘अब एकले अर्कालाई आरोप लगाएर हुँदैन। सबैले जिम्मेवारीवोध गरेर अगाडि बढौं।’ 

बुटवल नारायणगढ सडकखण्डको काम पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकादेखि सुनवल नगरपालिकासम्म करिव ४७ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ। 

निर्माण व्यवसायीका प्रतिनिधिहरुले आवश्यक निमार्णजन्य सामग्री र नदीजन्य सामाग्रीको अभावका कारण काममा ढिलाइ भएको गुनासो गरेका थिए।

तर स्थानीय तहका जनप्रतिधि र सरकारी अधिकारीहरुले पनि निर्माण व्यवसायीहरुले विभिन्न बहाना बनाएर काम नगर्ने गरेको आरोप लगाए। सांसद चौधरीले भने नवलपरासीको विकासका लागि व्यवस्थित खाका बनाएर अगाडि बढेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .