अहिलेकै गतिमा नेपालको जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्ने देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ मा भएको जनगणनाको जनसंख्याको संरचना प्रतिवेदनमार्फत उक्त प्रक्षेपण गरेको हो।
हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ। विसं १९६८ देखि २०७८ सम्म जनसंख्याको आकार ५ गुणाले बढेको देखिएको कार्यालयले जनाएको छ।
ताजा नतिजाअनुसार जनगणना अवधिको वार्षिक औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत छ। जुन २०६८ मा १.३५ प्रतिशत थियो।
कार्यालयले भनेको छ, ‘अहिलेको गतिअनुसार जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्नेछ। विसं १९६८ मा नेपालको जनघनत्व प्रतिवर्गकिमि ३८ जना रहेकामा २०७८ मा बढेर १९८ जना पुगेको छ।’
भौगोलिक क्षेत्रअनुसार तराईमा सबैभन्दा बढी ४६० जना र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना छ भने पहाडमा १९२ जना छ। प्रदेशको हकमा सबैभन्दा बढी मधेसमा ६३३ जना छ भने बागमतीमा ३०१ जना छ।
जिल्लाअनुसार देशको सबैभन्दा बढी जनघनत्व (५,१६९ जना) काठमाडौं जिल्लामा पाइएको छ। त्यसपछि भक्तपुर (३,६३१ जना) र ललितपुर (१,४३३ जना) जिल्लामा छ। नेपालको सबैभन्दा कम जनघनत्व भएका जिल्लामा मनाङ (३ जना), मुस्ताङ (४ जना) र डोल्पा (५ जना) पर्छन्।
कार्यालयका अनुसार २०३८ मा नेपालको कुल जनसंख्यामा तराईको जनसंख्या ३८ प्रतिशत थियो। जुन २०७८ मा बढेर लगभग ५४ प्रतिशत पुगेको छ।
हिमाली क्षेत्रमा सोही अवधिमा कुल जनसंख्याको ९.९ प्रतिशत थियो, जुन २०७८ मा घटेर ६.१ प्रतिशत पुगेको छ भने पहाडमा पनि यस अवधिमा जनसंख्या घटेको छ।
प्रदेशको हकमा मधेस र बागमतीमा सबैभन्दा बढी झण्डै २१ प्रतिशत जनसंख्या छ भने सबैभन्दा कम कर्णालीमा ५.७९ प्रतिशत छ। गत १० वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनीमा १३.८ प्रतिशत र सबैभन्दा कम गण्डकीमा २.६ प्रतिशतले जनसंख्या थप भएको छ।
विगत १ दशकको जनसंख्या वृद्धिदरअनुसार लुम्बिनी (१.२४ प्रतिशत) र मधेस (१.२ प्रतिशत) मा वार्षिक जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा बढी छ भने सबैभन्दा कम गण्डकीमा ०.२५ प्रतिशत छ।
जिल्लागत रुपमा जनसंख्या वृद्धिदर अधिकांश हिमाली र पहाडी क्षेत्रका ३४ जिल्लाहरुको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक छ। तराईका सबै जिल्लाको जनसंख्या वृद्धिदर धनात्मक रहेको कार्यालयले जनाएको छ।
राष्ट्रिय जनगणना २०७८ ले झण्डै दुई तिहाइ (६६ प्रतिशत) जनसंख्या नगरपालिकामा बसोबास गरेको देखाएको छ।
जिल्लास्तरको जनसंख्या वितरणलाई हेर्दा पनि काठमाडौंमा नै सबैभन्दा बढी जनसंख्या ७ प्रतिशत र सबैभन्दा कम मनाङमा ०.०१ प्रतिशत अर्थात् ५ हजार ६ सय ५८ छ। सबैभन्दा बढी ऋणात्मक वार्षिक वृद्धिदर रामेछापमा (–१.६७ प्रतिशत) छ।
Shares
प्रतिक्रिया