नेपालमा आर्थिक रूपले सक्रिय र रोजगारीमा रहेको जनसंख्या १० वर्ष वा माथिका कुल जनसंख्याको लगभग दुई तिहाइ (६५.६ प्रतिशत) देखिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक रूपमा सक्रिय पुरुषहरू ७१ प्रतिशत छन्। जुन महिलाहरूको तुलनामा ६० दशमलव ४ प्रतिशतले बढी हो।
प्रदेशगत रूपमा हेर्दा कर्णालीमा आर्थिक रूपमा सक्रिय जनसंख्या सबैभन्दा बढी ७२ प्रतिशत छ भने त्यसपछि कोशीमा ७१ दशमलव १ प्रतिशत छ र सबैभन्दा कम मधेशमा ५७ दशमलव ३ प्रतिशत छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १० वर्ष वा सोभन्दा माथिका जनसंख्यामा विगत १२ महिनामा ६ महिना वा सोभन्दा बढी समय काम गर्ने वा काम खोज्ने आर्थिक रूपमा सक्रिय व्यक्ति ९३ प्रतिशत छन्।
आर्थिक रूपले सक्रियमध्ये रोजगारीमा रहेका पुरुषहरू ९३ दशमलव ८ प्रतिशत र महिलाहरू ९२ प्रतिशत छन्।
रोजगारीको अनुपात सबै भौगोलिक क्षेत्रहरू, नगर र गाउँपालिकाहरू र प्रदेशहरूमा लगभग समान छ।
जनसंख्याको १५ देखि ६४ वर्ष उमेर समूहलाई सक्रिय र ० देखि १४ वर्ष र ६५ वर्ष वा सोभन्दा माथिको उमेर समूहकालाई आश्रित जनसंख्या भन्ने गरिएको छ।
कुल आश्रित अनुपात भन्नाले १५ देखि ६४ वर्षका सक्रिय उमेर समूहका प्रतिसय जनसंख्यामा ६५ वर्ष वा सोभन्दा माथिको उमेरका वृद्धवृद्धाको संख्या र १५ वर्षमुनिका बालबालिकाको संख्या नै कुल आश्रित अनुपात हो।
वि.सं. २०७८ मा कुल आश्रित अनुपात ५३ दशमलव ३ रहेको छ। जसअनुसार नेपालमा प्रति १०० काम गर्ने उमेर समूह (१५ देखि ६४) मा कुल आश्रित अनुपात लगभग ५३ जना छ। त्यसैगरी बाल आश्रित अनुपात ४२ दशमलव ६ र वृद्ध आश्रित अनुपात १० दशमलव ६ रहेको छ।
Shares
प्रतिक्रिया