नेपालले बंगलादेशसम्म नेपाली ट्रक प्रवेशको माग गरेको छ। नेपाली मालवाहक ट्रकले बंगलाबन्ध सुख्खा बन्दरगाहसम्म प्रवेश पाउनुपर्ने माग गरेको हो।
काँकडभित्ता फूलबारी बंगलाबन्ध नाकाबाट नेपाली ट्रक जान पाउनुपर्ने माग नेपालले गरेको हो। बंगलादेशको सिपिङ राज्यमन्त्री खालिद महमद चौधरी नेपाल भ्रमणमा रहेको समय पारेर नेपालले नेपाली ट्रकलाई बंगलादेश पहुँचको माग गरेको हो।
सिपिङमन्त्री चौधरीले काँकडभित्ता फूलबारी नाकाको स्थलगत अवलोकन समेत गरेका छन्। साथै उद्योग वणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग पनि भेटघाट गरेका छन्।
गत वर्षदेखि उक्त मार्ग हुँदै नेपाली धागो प्रवेशको अनुमति दिएको बंगलादेशले नेपालसँगको व्यापारमा सहजीकरण गर्ने संकेत गरेको छ। सोसँगै नेपालले थप माग अघि सारेको हो।
भेटमा मन्त्री भण्डारीले नेपालबाट बंगलादेश धागो, दूध, तरकारी, फलफूल, जडीबुटीलगायतका वस्तु निर्यातको सम्भावना भएका वस्तु रहेको उल्लेख गरेका छन्।
मन्त्री भण्डारीले भेटमा भने, ‘उच्च भन्सार महसुल तथा गैर भन्सारजन्य अवरोधको कारणले नेपाली उत्पादनले बंगलादेशी बजारमा पर्याप्त पहुँच प्राप्त गर्न सकेको छैन।’
यस्तो विषयलाई सल्टाउन उनले आग्रह गरे। नेपाललाई चटगाउँ र मोङ्ला सामुद्रिक बन्दरगाह पहुँचका साथै अन्य स्थलमार्गमार्फत पारवहन सुविधामा बंगलादेशले गत वर्षदेखि सहजीकरण गरेको छ।
टेक्सटायल उद्योगमा अघि बढेको बंगलादेशमा नेपाली धागोले समेत प्रवेश पाएको थिएन। तर गत वर्षदेखि सहजीकरण गरेको छ।
लामो समयदेखि नेपालले बंगलाबन्ध सुख्खा बन्दरगाहबाट धागो निर्यात गर्न बन्द नै गरेको थियो। गत वर्ष पुसदेखि र यो बन्दरगाह नेपाली व्यापारीका लागि खुल्ला गरेको छ। विगतमा भारत र टर्कीको मात्रै धागो निर्यात हुँदै आएको थियो।
गत वर्ष बंगलाबन्ध सुख्खा बन्दरगाह नाकाबाट नेपाली धागो निर्यात सकिने व्यवस्था गरेको थियो।
निर्णय बंगलादेशको भन्सार तथा अन्य शुल्कसम्बन्धी जिम्मेवार सर्वोच्च निकाय राष्ट्रिय राजस्व बोर्डले आफ्नो वैधानिक नियमन अर्डरमा समावेश गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो।
सन् २००३ सम्म नेपालले बंगलाबन्ध बन्दरगाहबाट नै निर्यात गर्थ्यो। २५ वर्षअघि काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध व्यापारिक मार्गबाट बंगलादेशसँग औपचारिक व्यापार सुरु गरिएको थियो।
त्यस समयमा बंगलादेशमा थोरै मात्र टेक्सटाइलको काम हुन्थ्यो। बंगलादेशले आफ्नो धागो बजारका लागि नेपालबाट निर्यात रोके पनि अहिले खुल्ला गरिदिएको हो।
बंगलादेशसँंगको व्यापारका लागि काँकडभिट्टादेखि बागडोग्रा–घोषपोखर–फूलबारीसम्मको करिब ५४ किलोमिटरको दूरी पार गरेर बंगलाबन्ध पुग्न सकिन्छ।
Shares
प्रतिक्रिया