४ सय ३९ मेगावाटको बेतन कर्णाली जलविदुत आयोजनाको लाइसेन्स प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
कर्णाली नदीमा बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना बनाउन लागिएको हो। आयोजनाको लागि बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादनको अनुमति पत्र लिँदै छ।
अब लाइसेन्स प्रक्रिया अन्तिम चरणमा पुगेको विद्युत् विकास विभागले जनाएको छ। आयोजनाको असरबारे उजुरी भएमा उपलब्ध गराउन समेत विभागले सूचना जारी गरेको छ।
करिब ८८ अर्ब लागत अनुमान भएको यस आयोजना २०८८ भदौ १ गते उत्पादन सुरु गरिने लक्ष्य छ।
आयोजना पिकिङ रन अफ रिभरमा आधारित भएको र जडित क्षमता ४३९ मे.वा. रहनेछ। जसमा मुख्य पावरहाउसबाट ४३०.१३ मेगावाट र वातावरणीय वहावबाट थप ८.८ मेगावाट विद्युत उत्पादन हुनेछ।
डिजाइन प्रभाव ५३६ घनमिटर प्रतिसेकेण्ड र कुल हेड करिब ९९.१३ रहने गरी मुख्य विद्युत् गृहबाट ४३०.१३ मेगावाट उत्पादन हुनेछ।
साथै डिजाइन प्रभाव १३.४८ घनमिटर प्रतिसेकेन्ड र कुल हेड करिब ७८.३ मिटर रहने गरी वातावरणीय वहावबाट थप ८.८ मेगावाट उत्पादन हुनेछ। आयोजनाको कुल वार्षिक सरदर २३०२.५ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ।
अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिका एवं कर्णाली प्रदेश, सुर्खेत जिल्लाको पंचपुरी नगरपालिका र चौकुने गाँउपालिका भएर बग्ने कर्णाली नदीमा आयोजना निर्माण हुनेछ। आयोजनाको मुख्य संरचनाहरू कर्णाली नदीको दायाँ किनारा ढकारी गाउँपालिकामा पर्छ।
Shares
प्रतिक्रिया