प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली पुगेका छन्।
सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ ब्रेक थ्रु गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार सिन्धुली पुगेका हुन्।
आज उनी होटल क्वालिटी रिसोर्टमा बास बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ बुधबार ब्रेक थ्रु गर्ने कार्यक्रम छ।
तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोसी मरिण डाइभर्सन आयोजनामा प्रधानमन्त्री प्रचण्डले नियमितरुपमा चासो दिएपछि उल्लेख्य प्रगति भएको छ।
आयोजना प्रमुख मित्र बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ।
नेपालका विद्युत तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर खनिएको छ। यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो।
सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन। सो आयोजनाको ‘कफर ड्याम’निर्माण भइरहेको छ।
निर्माण व्यवसायीले काम गरिरहेको भएपनि बाँध निर्माणमा अपेक्षित प्रगत भएको छैन।
सो आयोजनाबाट तराई–मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
सुनकोसी गाउँपालिका–७ कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीमा पथान्तरण गरिनेछ। सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरूङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ।
त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ। त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ।
आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरिरहेको छ। बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ।
बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ। विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
Shares
प्रतिक्रिया