ad ad

कारोबार


निगमले माग्यो हवाइ इन्धनमा करछुट, पार्टपुर्जा र खाद्य सामग्रीमा भन्सार छुट

निगमले माग्यो हवाइ इन्धनमा करछुट, पार्टपुर्जा र खाद्य सामग्रीमा भन्सार छुट

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १६:३४, काठमाडौँ

नेपाल वायुसेवा निगमले अन्य राष्ट्रका ध्वजावाहकले पाएजस्तै निगमलाई पनि विशेष सुविधाहरु दिन माग गरेको छ। 

निगमको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट बैठकमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसमक्ष कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त माग राखेका हुन्। 

बैठकमा अधिकारीले निगमले हालसम्म गरेका उपलब्धि र भावी योजना सुनाएका थिए। 

उनले निगमका जहाज तथा विमानस्थलमा चल्ने उपकरणहरुको मर्मत सम्भारमा लाग्ने पाटपुर्जाहरु र निगमको जहाजमा प्रयोग हुने खाद्य सामाग्रीहरु मा भन्सार छुट सुविधा उपलब्ध गराउन, हवाइ इन्धनमा लगाइएको कर छुट गर्नेतर्फ पहल गरिदिन, निगम राष्ट्रिय ध्वजावाहक भएकोले अन्य राष्ट्रमा त्यहाँका राष्ट्रिय ध्वजावाहकलाई प्रदान गरिने विशेष सुविधाहरु जस्तै निगमलाई पनि नेपाल सरकारको तर्फबाट विशेष सुविधाहरु दिलाउन माग गरेका थिए। 

त्यस्तै, विमान चालक तथा अन्य कर्मचारीहरुको सेवा सुविधा वृद्धि गर्न, मौजुदा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा निगम जस्तो विशेष प्रकृतिको हवाई व्यवसायको लागि छुट्टै प्रावधान राखी आवश्यक संशोधन गर्नुपर्ने कार्यमा सहजीकरण गरिदिनुहुन तथा नेपाल वायुसेवा निगम ऐन, २०१९ को प्रावधान अनुसार राष्ट्रिय ध्वजावाहकलाई सुदृढ र सवल बनाउन सहयोगको लागि मन्त्रालय समक्ष आग्रह गर्दै समन्वयात्मक भूमिका खेलिदिन समेत अधिकारीको अनुरोध थियो। 

मन्त्री तामाङले निगमको चालू आ. व. २०८०/८१ को समिक्षा र आगामी आ. व. २०८१/८२ को वार्षिक योजना तथा बजेट प्रक्षेपण बैठकको उद्घाटन समेत गरेका थिए। उक्त बैठकमा निगमका कार्यकारी अध्यक्ष लगायत नायव महाप्रबन्धक (प्रा.), निगमका सम्पूर्ण विभागीय प्रमुखहरु, निगमका दश वटै अन्तर्राष्ट्रिय स्टेसनका प्रमुखहरु, सम्बन्धित महाशाखा तथा शाखा प्रमुखहरु र निगममा क्रियाशील चारवटै ट्रेड युनियनका अध्यक्षहरुको उपस्थिति थियो। 

उक्त अवसरमा निगमका बजार व्यवस्थापन विभागका निर्देशक टंकनिधि दाहालले निगमको हालको बजार स्थिति र बजारीकरणको विषयमा प्रस्तुतीकरण गरेका थिए। 

उक्त समीक्षा बैठक तथा बजेट प्रक्षेपण कार्यक्रम ४ गतेसम्म चल्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .