ad ad

कारोबार


आईपीओ तत्काल जारी नहुने, बोर्डको पहिलो बैठकले गर्न सकेन निर्णय

आईपीओ तत्काल जारी नहुने, बोर्डको पहिलो बैठकले गर्न सकेन निर्णय

कार्यवाहक अध्यक्ष नरेन्द्र राना


नेपालखबर
जेठ २३, २०८१ बुधबार ११:४४, काठमाडौँ

प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) तत्काल जारी नहुने भएको छ। 

लामो समयदेखि अध्यक्षविहीन नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र रानाको पहिलो बोर्ड बैठकले आईपीओबारे कुनै निर्णय गर्न नसकेको हो।

मंगलबार साँझ पहिलो बोर्ड बैठक बसे पनि निर्णयविहीन बनेको छ। बोर्डका अध्यक्ष रानाले अर्को बैठकसम्म आईपीओ निष्काशन नगर्ने बताए।

उनले भने, ‘हिजो बसेको बैठकबाट आईपीओ निष्काशनबारे निर्णय हुन सकेन। अर्को बैठक नबसुन्जेल निष्काशन हुँदैन।’ 

बोर्डका प्रवक्ता डा.नवराज अधिकारीले नीतिगत व्यवस्था नभएसम्मका लागि आइपीओ निष्काशनको काम बन्द रहने जानकारी दिए। 

निवर्तमान अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि गत पुसबाट धितोपत्र बोर्ड अध्यक्षविहीन छ। 

जेठको पहिलो साता अर्थ मन्त्रालयले मन्त्रालयको प्रतिनिधिको रुपमा रानालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो।

योसँगै धितोपत्र बोर्डमा यथा अवस्थामा रहेको आईपीओ निष्काशनले निरन्तरता पाउने आशा थियो। यद्यपि बोर्डको अर्को बैठक नबसुन्जेल आईपीओ निष्काशन नहुने भएको छ। 

धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति अगाडि नबढ्दा २८ अर्ब हाराहारीका प्राथमिक सेयर अलपत्र परेका छन्।

बोर्डका अनुसार ३५ कम्पनीको २७ अर्ब ९३ करोड रुपैयाँबराबरको १७ करोड ३ लाख कित्ता सेयर निष्काशन अनुमतिको पर्खाइमा छन्। 

जसमा प्रिमियम मूल्यका ४ वटा कम्पनी छन् भने ३१ वटा कम्पनीले १०० रुपैयाँ प्रतिकित्ताका दरमा आईपीओ निष्काशन गर्ने पाइपलाइनमा छन्। 

प्रिमियममा भने सौर्य सिमेन्ट उद्योग, ह्याम्स अस्पताल, मारुती सिमेन्ट उद्योग, जगदम्बा स्टिल र रिलायन्स स्पिनिङ मिल्स छन्।

यी कम्पनीहरुले २ सय ६४ रुपैयाँदेखि ८२० रुपैयाँसम्म प्रिमियम शुल्कमा आईपीओ निष्काशन गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .