ad ad

कारोबार


धमाधम निलम्बनपछि निगमले थाल्यो नयाँ पाइलटको खोजी, १० जना करारमा लिँदै

धमाधम निलम्बनपछि निगमले थाल्यो नयाँ पाइलटको खोजी, १० जना करारमा लिँदै

निलम्बनमा परेका पाइलटहरु सुवास रिजाल, भावना पन्त, रविन्द्र कुमार शेरचन, विजय लामा र श्रवण रिजाल


वसन्त अर्याल
जेठ २७, २०८१ आइतबार १७:७, काठमाडौँ

नेपाल वायुसेवा निगमका पाइलट धमाधम निलम्बनमा परेसँगै नयाँ पाइलटको खोजी सुरु भएको छ। 

निगमले नेपाल एयरलाइन्सका उडान नै प्रभावित भएसँगै १० जना पाइलट करारमा राख्न लागेको हो। 

वायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाजमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा परेसँगै ३ जना पाइलट निलम्बनमा छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजको ककपिटमा बसेर फोटो भिडियो खिच्ने २ जनालाई निलम्बन गरेको छ। 

पाइलटको अभाव झेल्दै आएको निगममा एकैपटक ५ पाइलट निलम्बनमा पर्दा उडान कुनै गन्तव्यमा उडान नै कटौती गर्ने अवस्था आएको छ। 

‘एउटा पाइलटले निश्चित घण्टामात्रै उडान गर्न पाउने व्यवस्था छ’, निगमका एक पाइलट भन्छन्, ‘पाइलट नै कम हुँदा अहिले हङकङ लगायतका गन्तव्यमा उडान कटौती भएका छन्।’

एउटा पाइलटले दैनिक बढीमा १० घण्टा र महिनामा १०० घण्टा मात्रै उडान गर्न पाउँछन्। अर्थात् लगातार १० दिन १० घण्टा उडाए २० दिन उडान गर्न पाउँदैनन्। 

निगमसँग २ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज छन्। अहिले ४ वटै जहाजले विभिन्न गन्तव्यमा उडान गरिरहेका छन्। 

यी ५ पाइलट निलम्बनमा 
गत हप्ता मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई ‘एक्टिभ ड्युटी’बाट हटाएको छ। पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘ड्युटी’बाट हटाएको प्राधिकरणले जनाएको छ। 

उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ‘ग्राउन्डेड’ गराएको छ।   

पन्त न्यारोबडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइडबडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन रहेका छन्। 

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका ३ पाइलट, ३ निर्देशक र एक उपनिर्देशकसहित ७ उच्च तहका कर्मचारीलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ।  

जसमा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेती, वरिष्ठ क्याप्टेन सुवास रिजाल, वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन, क्याप्टेन श्रवण रिजाल, हाल निर्देशक रहेका उमेश पौडेल, निर्देशक उपेन्द्र पौडेल र उपनिर्देशक बृहतमान तुलाधर छन्। निगमले अन्य कर्मचारीको विकल्प निगमभित्रैबाट तत्काल दिन सके पनि पाइलटको व्यवस्था गर्न सकेको छैन। 

जहाज उडाउने र विभागको नेतृत्व गर्ने कर्मचारी नै वाइडबडी जहाज खरिद प्रकरणमा निलम्बित छन्। तीन पाइलटले मुद्दाको किनारा नलागेसम्म जहाज उडाउन पाउँदैनन्। 
 
निलम्बनमा परेकामध्ये श्रवण रिजाल इन्स्ट्रक्टर पाइलट समेत हुन्। रिजालले अन्य पाइलट र को—पाइलटको चेकजाँच गर्ने जिम्मेवारी थियो।

विशेष अदालतमा दायर मुद्दामा वरिष्ठ क्याप्टेन सुवास रिजालले रिक्वेस्ट फर प्रपोजलसहितका डकुमेन्टको गलत लिखित पेस गरेको आरोप लागेको छ भने वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन र क्याप्टेन श्रवण रिजालमाथि २३० टन क्षमताको जहाज आयात गरी २४२ टनकै मूल्य भुक्तानी गरेको आरोप छ।

१ वर्षका लागि १० पाइलटको खोजी 
नेपाल वायुसेवा निगमले १ वर्षको लागि १० जना पाइलट करारमा नियुक्त गर्दै छ। यसका लागि जेठ १८ गते १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। 

‘अहिले १० जना पाइलट करारमा माग गरिएको छ’, निगमका प्रवक्ता देवेन्द्र पुन भन्छन्, ‘नेपालीसँगै विदेशी पाइलटले निवेदन हाल्न पाउँछन्।’

नेपालमा एयरबस ३३० जहाज नेपाल वायुसेवा निगमसँग मात्रै भएकाले नेपाली पाइलट पाउन मुश्किल छ। विदेशी नै राख्नुपर्छ। निगमले न्यारोबडी जहाजमा इन्स्ट्रक्टर पाइलट माग गरेकाले विदेशी पाइलट नै भर्ना हुने सम्भावना छ। 

निगमले करारमा एयरबस ३३० का लागि ६ र ३२० जहाजका लागि ४ पाइलट माग गरेको छ। निगमले ३२० जहाजको इन्स्ट्रक्टर पाइलट २ जना माग गरेको छ। न्यारोबडीकै २ जना क्याप्टेन माग गरेको छ।  

३३० वाइडबडी जहाजको इन्स्ट्रक्टर पाइलट ३ जना माग गरेको छ। वाइडबडीकै एयरबस ३३०का लागि ३ क्याप्टेन माग गरेको छ। 

नेपाल वायुसेवा निगमसँग ४ वटा जहाज उडान गर्नको लागि अहिले ३५ जना क्याप्टेन र को–पाइलट गरी ३५ जना  छन्।

वाइडबडी ३३० जहाजमा ८ जना क्याप्टेन ५ जना को–पाइलट छन्। ३२० जहाजमा १० जना क्याप्टेन १२ जना को–पाइलट उडान गर्न योग्य छन्। 

वाइडबडी र न्यारोबडी जहाज उडान गर्दा १ क्याप्टेन र १ को-पाइलट हुन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .