ad ad

कारोबार


म्यादी र लघु म्यादी जीवन बिमा ९ प्रतिशतले घट्दा वैदेशिक रोजगार बिमालेख ३० प्रतिशतले बढ्यो

सबै प्रकारका बिमा गर्ने बढे, जीवन बिमाको प्रिमियम मात्रै ७ प्रतिशतले वृद्धि
म्यादी र लघु म्यादी जीवन बिमा ९ प्रतिशतले घट्दा वैदेशिक रोजगार बिमालेख ३० प्रतिशतले बढ्यो

नेपालखबर
असार १२, २०८१ बुधबार १७:०, काठमाडौँ

चालू आर्थिक वर्षको ११ महिनामा बिमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य वृद्धि भएको छ। जीवन र निर्जीवन दुवै बिमा कम्पनीको व्यवसायमा बढोत्तरी भएको हो। 

नेपाल बीमा प्राधिकरणका अनुसार यो १० महिनामा बिमालेखसँगै बिमा कम्पनीले संकलन गर्ने प्रिमियम रकम पनि उल्लेख्य बढेको छ। 

यो अवधिमा जीवन बिमा कम्पनीले ७.४० प्रतिशतले प्रिमियम शुल्क संकलन बढाएका छन् भने निर्जीवन बिमा कम्पनीहरुले १.०२ प्रतिशतले बढाएका हुन्। 

गत वर्षको जेठ महिनासम्म १ करोड ४० लाख ६९ हजार वटा बिमालेख जारी गरेका जीवन बिमा कम्पनीहरुले चालू आवको जेठ महिनामा १ करोड ४० लाख ८९ हजार वटा बिमालेख जारी गरेका छन्। तुलनात्मक रुपमा जीवन बिमा कम्पनीहरुले यो वर्ष ०.१४ प्रतिशतले बढी बिमालेख जारी गरेका हुन्। 

जीवन बिमालेखको संख्यामा यो वर्ष उति बढोत्तरी नभए पनि कम्पनीहरुले प्रिमियम शुल्क भने गत वर्षभन्दा ७.४० प्रतिशतले बढी संकलन गरेका छन्। यो अवधिमा जीवन बिमा कम्पनीले १३ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेका हुन्। गत वर्ष सोही अवधिमा कम्पनीहरुले १२ खर्ब ४५ अर्ब ४३ करोड रुपैयाँ प्रिमियम उठाएका थिए। 

यस्तै निर्जीवन बिमा कम्पनीहरुको भने चालु वर्षमा बिमालेख बिक्री बढेको छ। गत वर्षको जेठ मसान्तसम्म निर्जीवन बिमा कम्पनीहरुले २५ लाख ३७ हजार ४१६ वटा बिमालेख जारी गरेकोमा चालु आवको सोही अवधिमा २७ लाख १३ हजार ७१ वटा बिमालेख जारी गरेका हुन्। गत आवको तुलनामा यो वर्ष ६.९२ प्रतिशतले धेरै बिमालेख जारी भएको हो।

निर्जीवन बिमा कम्पनीले यो अवधिमा प्रिमियम शुल्क संकलन भने १.०२ प्रतिशतले बढाएका छन्। गत आवको जेठमा ३ खर्ब ६१ अर्ब ९८ करोड रुपैयाँ प्रिमियम उठाएका निर्जीवन बिमा कम्पनीहरुले चालु आवको सोही अवधिमा ३ खर्ब ६५ अर्ब ६९ करोड रुपैयाँ प्रिमियमबापत उठाएका हुन्। 

समग्रमा (जीवन/निर्जीवन) बिमा कम्पनीहरुले जेठ मसान्तसम्म १७ खर्ब ३ अर्ब २७ करोड रुपैयाँ बिमितबाट प्रिमियबापतको रकम उठाएका हुन्। यो अवधिमा जीवन बिमालेख जारी ३.०९ प्रतिशतले  बढेको छ।  म्यादी र लघु म्यादी जीवन बिमालेख भने ९.१३ प्रतिशतले घट्दा बैदेशिक रोजगार बिमालेख भने ३०.५५ प्रतिशतले बढेको हो।

सहरउन्मुख व्यवसाय, जनताको पहुँच घट्दै 
बिमा व्यवसायमा आक्रामक रुपमा प्रस्तुत भइरहँदा बिमा कम्पनीहरु पहुँचमा भने चुकेका छन्।

गत आर्थिक वर्षसम्म कुल जनसंख्याको ४४.२० प्रतिशत जनतामा बिमाको पहुँच पुगेपनी चालू आवको जेठ मसान्तसम्म घटेर ४३.९५ प्रतिशत जनतामा मात्रै पहुँच पुगेको हो।

बिमा कम्पनीहरु सहर केन्द्रित बन्न थालेपछि व्यापारमा उल्लेख्य वृद्धि गरे पनि पहुँच भने घटेको छ।  

यो अवधिमा जीवन बिमा कम्पनीहरुको शाखा कार्यलय ३.०२ प्रतिशतले घटेको छ। बिमा बजारमा ८० प्रतिशत माथिको हिस्सा ओगट्दै आएका जीवन बिमा कम्पनीहरुले शाखा घटाउँदा समग्र जनतामा बिमाको पुहँचको हिस्सा पनि घट्दै गएको छ। 

यता निर्जीवन बिमा कम्पनीहरुको शाखा १४.२३ प्रतिशतले बढेको छ। समग्रमा बिमा कम्पनीहरुले २९७२ वटा शाखा कार्यालयहरुबाट बिमालेख जारी गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .