ad ad

कारोबार


अमेरिकी चुनावमा पैसाको खोलो बगाउँछन् अर्बपतिहरू, ट्रम्प-बाइडेन भिडन्तमा को कता?

अमेरिकी चुनावमा पैसाको खोलो बगाउँछन् अर्बपतिहरू, ट्रम्प-बाइडेन भिडन्तमा को कता?

बाइडेन र ट्रम्प (फक्स बिजनेस)


नेपालखबर
असार १५, २०८१ शनिबार १२:२९, काठमाडौँ

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावको सरगर्मी सुरु भइसकेको छ। दुई मूलपार्टीहरु डेमिक्रेटिक र रिपब्लिकनका तर्फबाट आगामी चुनावका लागि को उठ्ने टुंगो लागिसकेको छ।

डेमोक्रेटिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकनबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आधिकारिक उम्मेदवार बनेका छन्। योसँगै आआफ्नो चुनावी प्रचारलाई तीव्रता दिइरहेका छन्। शुक्रबार बिहान मात्रै दुवै उम्मेदवार ‘अमेरिकी राष्ट्रपतीय बहस’मा सहभागी भए।

हालसम्मका विभिन्न चुनावी पोलहरुले बाइडेनमाथि ट्रम्प भारी पर्नसक्ने संकेत गरिरहेका छन्। ‘राष्ट्रपतीय बहस’ले बाइडेनको पार्टीभित्रै उनी चुनाव लड्न नहुने समेतका थप बहसहरुको सिर्जना भएको छ। 

यो बहसले कस्तो मोड लेला आगामी दिनले देखाउने नै छ तर अमेरिकी राष्ट्रपतीय चुनावमा प्रत्यक्ष प्रभाव पार्ने अन्य धेरै पक्षहरु पनि छन्। र, तिनैमध्ये पर्छ उम्मेदवारका दाताहरुको सहयोग। किनभने उनीहरुले गर्ने डलर सहयोगले उम्मेदवारको चुनावी प्रचारप्रसारलाई प्रभाव पार्छ।

अमेरिकी मिडियाहरुका अनुसार मे महिनाको अन्त्यसम्म ट्रम्प क्याम्पेनले १७ करोड डलर बढी नगद संकलन गरेको बताएको छ भने बाइडेन क्याम्पेनले १५ करोड डलर बढी संकलन भएको उल्लेख गरेको छ। को हुन् त बाइडेन र ट्रम्पका १०/१० ठूला दाता? 

१० अर्बपति जो बाइडेनलाई समर्थन गर्छन् 

ब्लुमबर्ग र बाइडेन (गेट्टी इमेज)

माइकेल ब्लुमबर्ग 
डेमोक्रेटिक उम्मेदवार जो बाइडेनका ठूला सहयोगी देखिएका छन् माइकेल ब्लुमबर्ग। खर्ब डलरभन्दा बढी सम्पत्तिका मालिक उनले बाइडेन क्याम्पलाई २ करोड डलर दिइसकेका छन्। सन् २०२० को आफ्नै राष्ट्रपतीय चुनावी अभियानमा उनले १ अर्ब डलर खर्च गरेका थिए तर उनी पछि हट्नुपर्‍यो। त्यसयता उनी बाइडेनलाई समर्थन गर्दै आएका छन्।

गत महिनाको अन्त्यतिर उनले १ करोड ९० लाख डलर बाइडेनको मुख्य सुपरप्याकलाई दिएका थिए। न्युयोर्क सिटीका पूर्वमेयर उनी आफ्नो डेटा–प्याक्ड मेसिन बेचेर धनी भएका हुन्। यही वर्षको सुरुतिर उनी सय अर्ब डलर अर्बपतिको क्लबमा प्रवेश गरेका थिए। 

रइद हफम्यान 
साढे २ अर्ब डलर सम्पत्तिका मालिक रइद पनि बाइडेनका समर्थक हुन्। उनले बाइडेन समूहलाई १ करोड ७७ लाख डलर सहयोग गरेका छन्। ग्रेलक पार्टनर्सका व्यावसायिक साझेदार उनले लिंक्डइन सुरु गर्नुअघि इलोन मस्क र पिटर थाइलसँग मिलेर पेपालको सहसंस्थापना गरेका थिए। जुन पछि सन् २०१६ मा उनले २६ अर्ब डलरमा माइक्रोसफ्टलाई बिक्री गरे।

हफम्यान ठूला डेमोक्रेटिक दाता बन्दै आएका छन्। उनले वामपन्थी समूहहरुलाई सन् २०२० यता ४ करोड बढी डलर दिएका छन्। जसमध्ये आधाले बाइडेनलाई नै समर्थन गर्छन्। 

जिम साइमन्स (मृतक) 
३१.४ अर्ब डलरका मालिक जिम साइमन्सले बाइडेन समूहलाई १ करोडभन्दा बढी डलर दिइसकेका छन्। गत मे १० मा ८६ वर्षको उमेरमा साइमन्सको मृत्यु भइसकेको छ। रेनासा टेक्नोलजिज सुरु गर्नुअघि उनी स्टोनी ब्रुक युनिभर्सिटीको गणित विभागमा थिए।

उनलाई संसारले गणितज्ञका रुपमा चिन्छ। उनी र श्रीमती मरिलिनलाई डेमोक्रेटिक दाताका रुपमा लिइन्छ। जिम मर्नु एक साताअघि मात्र बाइडेनको सुपरप्याकलाई उनीहरुले ६६ लाख डलर दिएका थिए। 

माइकेल मरिट्ज 
बाइडेन समूहलाई माइकेल मरिट्जले ८३ लाख डलर सहयोग गरेका छन्। ६.२ अर्ब डलरका मालिक माइकेलले टाइम म्यागेजिनको सन फ्रान्सिस्को कार्यालयमा १९८० को दशमा काम गरेका थिए। सिलिकन भ्यालीबाट भेन्चर क्यापिटलमा फड्को मारेका उनी सिक्योइया क्यापिटलका साझेदार पनि भए।

उनले गुगल, याहु र पेपालजस्तामा लगानीबाट उनले अर्बौँ डलर कमाए। उनले बराक ओबामाको क्याम्पेनलाई सन् २००८ मा ठूलै रकम सहयोग गरेका थिए। २०१६ मा मौन रहेका उनी २०२० मा फेरि बाइडेन समूहलाई ४० लाख डलरसहित देखापरे। अहिले पनि उनी ठूलै धनराशि बाइडेन समर्थनमा खर्च गर्ने योजनामा छन्।

स्टिफन मन्डेल 
साढे २ अर्ब डलरका मालिक स्टिफनले पनि बाइडेन समूहलाई ६८ लाख डलर सहयोग गरेका छन्। सन् १९९७ मा लन पाइन क्यापटिल हेजफन्ड स्थापना गरेका उनले सन् २०२२ को बाइडेनको ठूलो प्याकलाई ५० लाख डलरको चेक काटेका थिए। उनी टिच फर अमेरिकाका बोर्ड सदस्य पनि छन्। पछिल्ला वर्षमा उनी धेरै दान गर्ने धनीको छवि कमाइरहेका छन्। सन् २०१६ मा हिलारी क्लिन्टन क्याम्पेनलाई २ लाख डलर दिएका थिए भने २०२० मा बाइडेनको समर्थनमा ५० लाख डलर दिएका थिए। अहिले पनि उनले ५४ लाख डलरभन्दा बढी दिइसकेका छन्। उनकी श्रीमती सुसान मन्डेलले पनि १४ लाख डलर दिएकी छिन्। 

डस्टिन मस्कोवित्ज (गेट्टी/एजेन्सी)

डस्टिन मस्कोवित्ज 
झण्डै १८ अर्ब डलरका मालिक डस्टिनले बाइडेन समूहलाई ४२ लाख डलर सहयोग गरेका छन्। उनले हार्वर्डका सहपाठी मार्क जुकरबर्गसँग मिलेर फेसबुकको सहसंस्थापना गरेका थिए। जसले कुनै बेला उनलाई संसारकै कान्छा अर्बपति बनाइदियो। उनी र उनकी श्रीमतीले १७ अर्ब डलर दानमा खर्च गर्ने बताएका छन्। वामपन्थी समूहलाई उनले सन् २०१६ मा २ करोड डलर दिएका थिए। २०२० मा बाइडेन समूहलाई ५ करोड डलरजति सहयोग गरेका थिए। २०२२ को मध्यावधि चुनावमा उनले दिएका पैसा बाइडेन समूहतिर गएको छ। उनको अधिकांश पैसा डेमोक्रेटिक पार्टीतर्फ खर्च भएको छ। 

सेठ क्लारम्यान 
१.३ अर्ब डलरका मालिक सेठले बाइडेन समूहलाई ३६ लाख डलर दिएका छन्। बोस्टनको हेजफन्ड बाउपोस्ट ग्रुप सन् १९८२ मा स्थापना गरेका उनी कुनै बेला रिपब्लिकन पार्टीलाई पैसा दिन्थे। जर्ज डब्लु बुस, जोन म्याक्केन, मिट रोम्नीलाई समर्थनका लागि उनले हजारौँ डलर खर्च गरेका छन्। तर उनी डेमोक्रेटिक उम्मेदवारलाई पनि सधैँजसो ससानो परिमाणमा सहयोग गर्नेमा पर्छन्। सन् २०१६ मा क्लिन्टन समर्थक ग्रुपमा उनले १ लाख डलर खर्च गरेका थिए। सन् २०२० मा उनले बाइडेन समूहतर्फ लाखौँ खर्च गरेका थिए। 

हेनरी लाउफर 
२.६ अर्ब डलरका मालिक हेनरीले पनि बाइडेन समूहलाई ३५ लाख डलर सहयोग दिएका छन्। जिम साइमन्सकै अनुसरण गर्ने उनी रेनासा टेक्नोलजिजमा उपाध्यक्ष र प्रमुख वैज्ञानिकको रुपमा काम गरेका थिए। उनले डेमोक्रेटिक क्याम्पेनलाई आफ्नो सम्पत्ति दान गर्दै आएका छन्। सन् २०१६ मा क्लिन्टन समूहलाई २५ लाख डलर खर्च गरेका उनले २०२० मा बाइडेनका लागि १६ लाख डलर खर्च गरे। सन् २०२४ मा उनले २३ लाख डलर खर्च गरिसकेको बताएका छन्। उनकी श्रीमती मार्साले पनि थप १२ लाख डलर बाइडेन समूहलाई दिइसकेकी छिन्। 

अब्राहम ग्लेजर 
१.७ अर्ब डलरका मालिक अब्राहमले बाइडेन समूहलाई १६ लाख डलर दिएका छन्। उनी चर्चित इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका सहप्रमुखका रुपमा चर्चित छन्। क्लबमा बहुमत सेयर स्वामित्व उनकै छ। उनी स्वतन्त्र दाताका रुपमा चर्चित छन्। सन् २००४ मा जर्ज डब्लु बुसलाई, २००८ मा ओबामा र २०१६ मा जेब बुसलाई आर्थिक सहयोग गरेका थिए। पछिल्लो समय उनी बाइडेनतिर ढल्किएका छन्। २०२२ मा बाइडेन प्याकलाई ७ लाख डलर दिएका उनले २०२२ को मध्यावधिमा डेमोक्रेटिक ग्रुपलाई १७ लाख डलर दिएका थिए। 

एमी गोल्डम्यान फलर 
१.१ अर्ब डलरकी यी मालिकले पनि बाइडेन समूहलाई १२ लाख डलर दिएकी छिन्। लेखिकाको रुपमा चर्चित भए पनि एमी न्युयोर्कको घरजग्गा व्यवसायबाट सम्पत्ति कमाउँछिन्। पछिल्ला २ वर्षयता १२ लाख डलर बाइडेन ग्रुपले एमीबाट पाएको छ। 

१० अर्बपति जो ट्रम्पलाई समर्थन गर्छन् 
त्यसो त पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पनि धनाढ्य साथीहरु छन्। जसले उनलाई फेरि ह्वाइटहाउस ल्याउन ठूलो धनराशि खर्च गरिरहेका छन्। को को छन् त ट्रम्पलाई आर्थिक सहयोग गर्ने अर्बपति? 

टिमोथी मेलन र ट्रम्प (बिजनेस इन्साइडर/गेट्टी)

टिमोथी मेलन 
मेलन ट्रम्पलाई सहयोग गर्ने पहिलो नम्बरमा आउँछन्। केही समयअघि जब न्युयोर्क जुरीले ट्रम्पलाई ३४ अपराधमा दोषी ठहर गर्‍यो मेलनले ट्रम्प समर्थक सुपरप्याकलाई ५ करोड डलर दिने घोषणा गरे। उनले २०२० मा पनि २ करोड डलर अर्को ट्रम्प समर्थक समूहलाई दिएका थिए। सन् १९६० को दशकमा कम्प्युटर प्रोग्रामिङ कम्पनी सुरु गरेका उनले यसलाई २०२२ मा ६० करोड डलरमा बेचेका थिए। उनको सम्पत्ति १ अर्ब डलर रहेको छ भने ट्रम्प समूहलाई उनले साढे ७ करोड डलर बढी सहयोग गरेका छन्। 

लिन्डा म्याकमोहन 
२.९ अर्ब डलरकी मालिक लिन्डाले ट्रम्प समूहलाई १ करोड ११ लाख डलर सहयोग गरेका छन्। लिन्डा र उनका श्रीमान् भिनस खेल क्षेत्रका हुन्। सन् २०१० र सन् २०१२ मा कनेक्टिकटबाट माथिल्लो सदनमा सांसद बन्ने प्रयास समेत गरेकी थिइन्। उनी ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रुपको बोर्डमा समेत छिन्। 

केल्सी वारेन 
६.३ अर्ब डलरका मालिक केल्सीले ट्रम्प समूहहरुलाई ५८ लाख डलर सहयोग गरेका छन्। डाकोटा एक्सेस पाइपलाइनको स्वामित्वकर्ता इनर्जी ट्रान्सफरका कार्यकारी प्रमुख रहेका उनलाई सन् २०१७ मा ट्रम्पले मद्दत गरेका थिए। त्यही वर्षको अन्त्यतिर पाइपमा तेल हालिएको थियो। वारेनले सन् २०१६ को क्याम्पेनमा ट्रम्पलाई समर्थन गर्न १ लाख डलर सहयोग गरेका थिए। उनले १ करोड ११ लाख डलरभन्दा बढी पुनर्निर्वाचित हुन सहयोग गरेका छन्। यो वर्ष मात्रै उनले ६० लाख डलरजति दिइसकेका छन्। 

डेनी हेन्ड्रिक्स 
२०.९ अर्ब डलरका मालिक डेनीले ५५ लाख डलरभन्दा बढी ट्रम्प समूहलाई दिएकी छिन्। सन् २०१६ को चुनावी अभियानमा आर्थिक संकलन समितिमा उनी उपप्रमुख नै थिइन्। २०२० का बेला ६० लाख डलर दिएकी उनले अहिले ५५ लाख डलरभन्दा बढी दिइसकेकी छिन्। उनले आफ्ना श्रीमान् (मृत्यु भइसकेको)सँग मिलेर एबीसी सप्लाईको सहस्थापना गरेकी थिइन्। जुन २० अर्ब डलर मूल्यवान् बनेको थियो। 

टिमोथी डन 
२.२ अर्ब डलर सम्पत्तिका मालिक टिमोथीले ट्रम्प समूहलाई ५० लाख डलर सहयोग गरेका छन्। तेल व्यवसायी उनले क्राउन क्वेस्टको कम्पनी खडा गरेका थिए। २०२० यता उनले ट्रम्पलाई आर्थिक सहयोग गर्नथालेका हुन्। गत डिसेम्बरमा ट्रम्पको सुपरप्याकलाई उनले ५० लाख डलर दिएका थिए। अर्को साढे २५ लाख डलर रिपब्लिकन कमिटीहरुलाई दिएका छन्।

एलिजाबेथ उहिलिन
उहीलिनले पनि ट्रम्प समूहलाई ५० लाख डलर सहयोग गरेकी छिन्। उनको कुल सम्पत्ति ६.६ अर्ब डलर हाराहारीमा छ।

रिचार्ड उहिलिन 
रिचार्ड एलिजाबेथका श्रीमान् हुन्। यो दम्पतीको विस्कनसिनमा प्याकेजिङ कम्पनी युलिन छ। जुन सन् १९८० मा स्थापना गरेका हुन्। यसले वार्षिक ६.१ अर्ब डलरको बिक्री गर्छ। दम्पतीको कुल सम्पत्ति १३.२ अर्ब डलर छ। सन् २०२२ को मध्यावधिमा रिचार्डले मात्रै ८ करोड ४० लाख डलर सहयोग गरेका थिए। उनीहरु ट्रम्पका भरपर्दा दाताका रुपमा छन्।

सन् २०१६ मा उनीहरुले ५ लाख डलर दिएका थिए भने २०२० मा १० लाख डलर खर्च गरेका थिए। यसका बाबजुद रिचार्डले २० लाख डलर सन् २०१६ को प्राइमरीमा ट्रम्पविरोधी उम्मेदवारलाई पनि दिएका थिए। गत वर्ष ट्रम्पका प्रतिस्पर्धी रन डिसान्टिसलाई पनि उनले ३० लाख डलर सहयोग गरेका थिए। तर गत महिना ट्रम्पको मुख्य सुपरप्याकलाई ५० लाख डलर सहयोग गरेका थिए। 

फिल रफिन र ट्रम्प (लसभेगास सन)

फिल रफिन 
२.६ अर्ब डलरका मालिक फिलले ३३ लाख डलर ट्रम्प समूहलाई दिएका छन्। ट्रम्पसँग निकट सम्बन्ध भएका अर्बपति हुन् उनी। लास भेगासको ट्रम्प इन्टरनेशनल होटलमा उनको पनि सहस्वामित्व छ। सन् २०१६ मा जर्मनीको ड्युची बैंकबाट पैसा जुटाउन असफल हुँदा भेगास होटलको ३ करोड डलर ऋण ट्रम्प र रफिनले तिरेका थिए। त्यसको छैठौँ हप्तासम्म ट्रम्पले आफ्नै १ करोड २० लाख डलर क्याम्पेनमा खर्च गरेका थिए। पछिल्ला २ चुनावमा खर्च गरेभन्दा धेरै रकम यसपटक खर्च गरिसकेका छन्। 

जियोफ्रे पाल्मर 
३.१ अर्ब डलरका यी धनीले पनि ट्रम्प समूहलाई ३० लाख डलर खर्च गरिसकेका छन्। जियोफ्रे लस एन्जलसका जमिनदारमध्येका एक हुन्। उनको पोर्टफोलियोमा ११ हजार अपार्टमेन्ट छन्। सन् २०१६ को ट्रम्प सुपरप्याकमा ६३ लाख डलर खर्चेका उनले २०२० मा १ करोड डलर बढी सहयोग गरेका थिए। यसपटक उनले ३० लाख डलरमाथिको सहयोग गरिसकेका छन्। 

रोबर्ट वुडी जोन्सन
जोन्सन ३.२ अर्ब डलरका मालिक हुन्। उनले ट्रम्प समूहहरुमा २७ लाख डलर सहयोग गरेका छन्। उनले बेलायतका लागि ट्रम्पको दूतका रुपमा काम गरिसकेका छन्। उनी स्वास्थ्य क्षेत्रको कम्पनी जोन्सन एन्ड जोन्सनका उत्तराधिकारी पनि हुन्। उनी पनि ट्रम्पका भरपर्दा समर्थक मानिन्छन्। यसपटक उनले १९ लाख डलरभन्दा बढी सहयोग गरिसकेका छन् भने उनकी श्रीमती सुजेनले ८ लाख डलरभन्दा बढी सहयोग गरिसकेकी छिन्। 

यसबाहेक धेरै कम्पनीका प्रमुखहरुले पनि ट्रम्पलाई समर्थन गरेका छन्। जोय रिकेट्स (टीडी अमरिट्रेड), हेज फन्ड अर्बपति जोन पल्सन, क्यासिनो व्यवसायी स्टिभ विन ट्रम्पलाई समर्थन गर्नेमा पर्छन्। फोर्ब्सबाट भावानुवाद 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .