ad ad

कारोबार


बिमा गर्नेले ११ महिनामै त्यागे झण्डै १२ अर्बको बिमालेख, कम्पनीलाई व्यवसाय जोगाउनै धौधौ

बिमा गर्नेले ११ महिनामै त्यागे झण्डै १२ अर्बको बिमालेख, कम्पनीलाई व्यवसाय जोगाउनै धौधौ

नेपालखबर
असार २३, २०८१ आइतबार १५:३२, काठमाडौँ

चालू आर्थिक वर्षमा बिमा त्याग (सरेन्डर) गर्ने बिमितको संख्या उल्लेख्य बढेको छ। बिमालेख (बिमा पोलिसी) छोड्ने बढेसँगै कम्पनीहरुलाई भने व्यवसाय जोगाउनै धौधौ परेको छ। 

बिमा गर्नेको संख्याभन्दा बिमा त्याग गरेर बाहिरिने बिमितको संख्या बढ्न थालेको हो। यसले बिमा कम्पनीहरुलाई पोलिसी समर्पण रोक्ने चुनौती थपिएको छ।  

पछिल्लो समय बिमालेख नवीकरण नगर्ने तथा परिपक्व नहुँदै त्याग गर्ने बढेका हुन्। नवीकरणमा लाग्ने जरिवानामा छुट दिनेदेखि हरेक वर्षजसो कम्पनीहरुले समयमै नवीकरण गर्नेलाई विभिन्न सुविधा दिने अफर समेत ल्याएका छन्। तर कम्पनीहरुले दिएको छुट निष्प्रभावी देखिएको छ। 

चालू आवको ११ महिनामै बिमितले करिब १२ अर्ब रुपैयाँको बिमा पोलिसी त्याग गरेका छन्। सामान्यतया परिपक्व हुनुपूर्व नै त्याग गर्ने बिमितले आफूले तिरेको पैसा पनि कटाएर थोरै अंश मात्रै पाउने गर्छन्। 

बिमा ऐन २०७९ अनुसार बिमा गरेर तीन वर्ष अवधिसम्म किस्ताबापतको प्रिमियम बुझाएका बिमितले आफूले तिरेको शुल्क फिर्ता लिएर बिमा त्याग गर्ने व्यवस्था छ। 

यस्ता बिमितले पोलिसी सरेण्डर गर्दा तिरेको कुल किस्ताको ४० देखि ६० प्रतिशतसम्म रकम फिर्ता पाउँछन्। यसअनुसार परिपक्व हुँदा पाउने सुविधाबापतको रकम समर्पण गर्ने बिमितले गुमाउने गर्छन्। यति हुँदा पनि बिमितले बीचैमा घाटा खाएर भए पनि बिमालेख त्याग गर्ने क्रमलाई बढाएका हुन्। 

चालू आवको जेठ महिनासम्ममा बिमितले ११ अर्ब ९१ करोड ६५ लाख रुपैयाँबराबरको ९८ हजार १ सय ३६ वटा बिमालेख त्यागेका छन्।

बिमितले गत पुस महिनामा ६ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५३ हजार ११३ वटा बिमालेख त्याग गरेका थिए। त्यसयताको ६ महिनामै बिमितले ५ अर्ब ३७ करोड रुपैयाँबराबरको बिमालेख त्याग गरेका छन्। 

नेपाल बिमा प्राधिकरणका अनुसार बिमालेख बीचैमा त्याग गर्नेहरु सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्समा छन्। व्यावसायिक रुपमा पहिलो नम्बरमा आउने यो कम्पनीको बिमा सरेन्डर पनि सर्वाधिक धेरै नै छ। चालू आवको ११ महिनामा यो कम्पनीबाट बिमितले ४ अर्ब १६ करोड २१ लाख रुपैयाँ बराबरको बिमालेख त्याग गरेका छन्। 

यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को २ अर्ब ७१ करोड ९४ लाख बराबरको बिमा सरेन्डर हुँदा राष्ट्रिय बिमा कम्पनीको १ अर्ब १ करोड रुपैयाँबराबरको बिमालेख त्यागिएको छ। 

यसरी जेठ मसान्तसम्म नेशनल लाइफको ८७ करोड, एसियन लाइफ इन्स्योरेन्सको ७३ करोड, सूर्यज्योति लाइफको ६५ करोड, हिमालयन लाइफको ६३ करोड, मेट लाइफको ३७ करोड, सानिमा रिलायन्सको १८ करोड प्रभु महालक्ष्मी लाइफको १७ करोड रुपैयाँबराबरको बिमालेख त्याग भएका हुन्। 

योबाहेक सिटिजन्स लाइफको १३ करोड, आईएमई लाइफको ११ करोड, रिलायबल लाइफको ८ करोड, सन नेपाल लाइफको ५ करोड रुपैयाँबराबरको बिमालेख त्याग भएको हो। 

बिमालेखप्रति बिमितको आकर्षण घट्दै गएपछि बिमालेख त्याग हुने क्रम बढ्दो छ। यसले बिमा कम्पनीहरुको व्यवसायलाई थप दबाबमा पारेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .