ad ad

कारोबार


लगानीकर्ताले रुचाएकै अर्थमन्त्री आउँदा पनि सेयरबजार दिनभर राताम्मे, करिब ९ अर्बको कारोबार

लगानीकर्ताले रुचाएकै अर्थमन्त्री आउँदा पनि सेयरबजार दिनभर राताम्मे, करिब ९ अर्बको कारोबार

नेपालखबर
असार ३१, २०८१ सोमबार १५:२९, काठमाडौँ

लगानीकर्ताले रुचाएका विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएकै दिन सेयरबजार दिनभर राताम्मे बनेको छ। 

यसअघि मन्त्री बन्ने हल्लामै पोजेटिभ सर्किट लागेको सेयरबजारमा मन्त्रीको नियुक्तिमा भने बजार राताम्मे बनेको हो। 

राजनीतिक फेरबदलको सुरु भएसँगै करिब ८ कारोबार दिन लगातार बढेको नेप्से सूचकले सोमबार विश्राम लिँदा दिनभर बजार राताम्मे बन्न पुग्यो। सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ अंकमा बन्द भएको हो। सूचक घटे पनि सोमबार कारोबार भने ६ महिनायताकै सर्वाधिक छ। 

गत माघ ३ गते ९ अर्बको कारोबार भएको बजारमा त्यसपछि सो बराबरको सेयर कारोबार हुनसकेको थिएन। पछिल्लो ८ कारोबार दिनमा सूचकमा उल्लेख्य उछाल देखिए पनि कारोबार ८ अर्ब पुग्नसकेको थिएन। यद्यपि सोमबारको राताम्मे बजारमा कारोबारमा भने उल्लेख्य वृद्धि देखिएको हो। 

सोमबार कुल ३ सय २२ कम्पनीको ८ अर्ब ७३ करोड रुपैयाँको सेयर कारोबार भएको हो। नेप्से खुलेबाटै ओरालो लाग्न थालेको सेयरबजारमा लगानीकर्ताको बिक्री चाप देखिएको थियो। पछिल्लो केही दिनदेखि निरन्तर बढेको बजारको मौका छोप्दै सेयर बिक्री गरेर नाफा बुक गर्ने लगानीकर्ता हावी हुँदा अर्थमन्त्रीको फेरबदल छायाँमा पर्यो। 

यसअघिका उनका तीन कार्यकालमा निरन्तर नयाँ उचाइ लिएको नेप्सेले उनको चौथो कार्यकालको स्वागत भने राताम्मे बनेर गरेको छ। यद्यपि कारोबार रकमको वृद्धिले भने सेयरबजारमा लगानीकर्ताको उपस्थिति बलियो हुन थालेको जनाउन दिएको हो। 

पछिल्लो ८ कारोबार दिनमा निरन्तर बढेको समूहहरु सोमबार घटेर राताम्मे बन्दा त्यसको असर समग्र बजारमा देखिएको हो। आज बैकिङ समूह, विकास बैंक समूह, फाइनान्स समूह, होटल तथा पर्यटन समूह, जीवन बिमा समूह, लघुवित्त समूह र निर्जीवन बिमा समूहको उपसूचक घटेको हो। 

आज लगानी समूह, जलविद्युत् समूह र म्युचअल फन्ड मात्रै सामान्य अंकको वृद्धिसहित हरियो बनेको हो। 

प्रोफिट बुकमा लगानीकर्ता लाग्दा आज कुल कारोबारमा आएकामध्ये ५६ वटा कम्पनीको मात्रै सेयरमूल्य बढेको छ भने १८४ वटा कम्पनीको मूल्य घटेको छ। 

बढ्नेमा सिभिल बैंकको डिबेन्चर अगाडि छ । यसको मूल्यमा सकारात्मक सर्किट लाग्दा मान्डु हाइड्रोपावरको मूल्यमा ९.९९ प्रतिशतले वृद्धि देखिएको हो। आज अधिकांश म्युचुअल फन्डको मूल्य बढेका छन्। घट्नेमा भने जानकी फाइनान्स अगाडि छ। 

निरन्तर तीन दिन सेयरमूल्यमा उछाल देखिएको यो कम्पनीमा आज १० प्रतिशतले सेयर मूल्य घटेर नेगेटिभ सर्किट लागेको हो। 

कारोबारका आधारमा भने आज माथिल्लो तामाकोशी जलविद्युत् अगाडि छ। यो कम्पनीको ३७ करोड रुपैयाँ सेयर कारोबार हुँदा निफ्राको २१ करोड बराबरको सेयर कारोबार भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .