सिटिजन्स बैंकको खराब कर्जा ४ प्रतिशत माथि पुगेको छ।
बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खराबकर्जा रेसियो (एनपीएल) ४.०७ प्रतिशतमा पुगेको हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकको खराब कर्जा ३.३९ प्रतिशतमा थियो।
यस्तै यो अवधिमा बैंकको नाफामा पनि कमी आएको छ। अघिल्लो आवमा १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवमा १ अर्ब ३४ करोड रुपैयाँ मात्रै नाफा कमाएको हो।
एक वर्षको अवधिमा ५२ करोड रुपैयाँले नाफा घटेको हो। बैंकले कर्जा नोक्सानी व्यवस्थापनका लागि मात्रै ५३ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष पनि बैंकले ५३ लाख रुपैयाँ नै छुट्याएको थियो।
बैंकको प्रमुख आयको रुपमा ब्याज आम्दानी हुन्छ। यसले नाफा बढाउन र घटाउन प्रमुख भूमिका खेल्ने गर्छ। गत आवमा बैंकले पाउने यस्तो ब्याजमा पनि उल्लेख्य कमी आउँदा त्यसको असर नाफामा देखिएको हो। अघिल्लो वर्ष बैंकले ५ अर्ब ८२ करोड रुपैयाँ ब्याज आम्दानी गरेकोमा गत आवमा ५ अर्ब ६८ करोड रुपैयाँ मात्रै आम्दानी गरेको हो।
तुलनात्मक रुपमा यो वर्ष बैंकको ब्याज आम्दानीमा १४ करोड रुपैयाँले कमी आएको हो। बैंकको सञ्चालन आय पनि यो वर्ष ४४ करोड रुपैयाँले कमी आएको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकको सञ्चालन आय ५ अर्ब ६९ करोड रुपैयाँ रहेकोमा यो असार मसान्तसम्म घटेर ५ अर्ब २५ करोड रुपैयाँ आइपुगेको छ।
त्यसो त बैंकको खराब कर्जा पनि यो वर्ष बढेको छ। अघिल्लो वर्ष ३.३९ प्रतिशत रहेको खराब कर्जा रेसियो गत असार मसान्तसम्म बढेर ४.०७ प्रतिशत पुगेको छ।
नेपाल राष्ट्र बैंक ऐनअनुसार खराब कर्जा ५ प्रतिशतभन्दा माथि हुनुलाई वित्तीय जोखिमको रुपमा मानेको छ। सिटिजन्स बैंकको खराब कर्जा पनि सीमामा पुगेको हो।
Shares
प्रतिक्रिया