ad ad

कारोबार


धितोपत्रको दोस्रो बजारमा जीवन बीमा कम्पनीले किने १९ अर्बको सेयर

लगानीको ७९ प्रतिशत हिस्सा बैंकको मुद्दतीमै
धितोपत्रको दोस्रो बजारमा जीवन बीमा कम्पनीले किने १९ अर्बको सेयर

नेपालखबर
साउन २७, २०८१ आइतबार १७:५, काठमाडौँ

लगानीको हिसाबले ठूलो मानिने जीवन बिमा कम्पनीहरुले एक वर्षमा धितोपत्रको दोस्रो बजारबाट १९ अर्ब मूल्यबराबरको सेयर खरिद गरेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा १९ अर्ब १२ करोड रुपैयाँको सेयर लगानी गरेका हुन्। धितोपत्र बजार बढ्ने आकलनका साथ साना पुँजी भएका जीवन बिमा कम्पनीहरुले पनि दोस्रो बजारमा अर्बमाथिको लगानी गरेका छन्।

नेपाल बिमा प्राधिकरणका अनुसार हिमालयन लाइफले ५ अर्ब ६६ करोड, सूर्यज्योति लाइफले १ अर्ब २७ करोड र रिलायबल लाइफले १ अर्ब ५ करोड रुपैयाँ दोस्रो बजारमा लगानी गरेका छन्।

चुक्ता पुँजी र व्यवसायका हिसाबमा कमजोर मानिने यी कम्पनीहरुले चालू आवमा भने धितोपत्रको दोस्रो बजारमा गरिने लगानीलाई विशेष प्राथमिकतामा राखेका हुन्। यी कम्पनीहरुले व्यावसायिक रुपमा ठूला मानिएका नेशनल लाइफ, लाइफ इ. कर्पोरेसन र नेपाल लाइफले भन्दा धेरै रकम धितोपत्रको दोस्रो बजारमा लगानी गरेका छन्।

नेशनले लाइफले यो वर्ष ५२ करोड रुपैयाँको लगानी दोस्रो बजारमा गर्दा नेपाल लाइफले २ अर्ब ८० करोड र लाइफ इ.कर्पोरेसनले १ अर्ब ८२ करोड रुपैयाँ लगानी गरेको छ। ठूला कम्पनीहरु बैंकका निक्षेपमा भर परिरहँदा साना कम्पनीहरुले धितोपत्रको दोस्रो बजारमा लगानी बढाउँदै लगेका हुन्।

प्राधिकरणका अनुसार जीवन बिमा कम्पनीहरुले ११ वटा क्षेत्रमा लगानी विविधीकरण गर्नुपर्ने व्यवस्था छ। जसमा १४ वटा बिमा कम्पनीहरुले धितोपत्रको दोस्रो बजारमा मात्रै १९ अर्ब १२ करोड रुपैयाँ लगानी गरेका छन्। कुल ६ खर्ब ८२ अर्ब रुपैयाँ लगानी गरेका बीमा कम्पनीहरुले धितोपत्रको दोस्रोबजारमा मात्रै कुल लगानीको २.८ प्रतिशत लगानी गरेका छन्।

प्राधिकरणले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा कुल लगानीको धेरैमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ।

कुल लगानीको ८० प्रतिशतसम्म लगानी मुद्दती निक्षेपमा गर्दै आएका कम्पनीहरुले यो वर्ष भने सेयरमा गर्ने लगानीलाई पनि बढाएर २ प्रतिशतमाथि पुर्‍याएका हुन्।

यी कम्पनीले सेयरका लागि दोस्रो बजारमा मात्रै लगानी बढाएका छैनन्। जीवन बिमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको डिबेन्चर, ऋणपत्र तथा बन्डहरुमा ५२ अर्ब ७४ करोड रुपैयाँ समेतको लगानीलाई बढाएका छन्। 

यो वर्ष सूचीकृत पब्लिक कम्पनीहरुको डिबेन्चर, बन्ड तथा ऋणपत्रमा भने १८ अर्ब ८६ करोड रुपैयाँ लगानी गर्दा नागरिक कोष र म्युचुअल फन्डमा २ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन्। 

अन्यतर्फका कम्पनीहरुको संस्थापक सेयरमा जीवन बिमा कम्पनीले ११ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्दा सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा भने १ अर्बमाथिको लगानी गरेका छन्। 

इन्भेस्टमेन्ट कम्पनीको सेयरमा भने हिमालयन लाइफले मात्रै ४६ करोड रुपैयाँ लगानी गरेको हो। अन्यले भने यो वर्ष लगानी गरेका छैनन्। 

वाणिज्य बैंकको मुद्दतीकै भरमा बिमा कम्पनी, विविधीकरणलाई बेवास्ता
बिमितबाट प्रिमियम शुल्कमार्फत आर्जन गरेको करिब ७ खर्ब रुपैयाँ जीवन बिमा कम्पनीहरुले विभिन्न ११ वटा क्षेत्रमा लगानी गरेका छन्।

यी कम्पनीहरुले बिमा बिक्रीबापत सर्वसाधारणबाट उठाएको प्रिमियम रकम लगानी गरेका हुन्।

यो वर्ष १४ वटा जीवन बिमा कम्पनीहरुले प्रिमियमबापत संकलन गरेका ६ खर्ब ८२ अर्ब २९ करोड रुपैयाँ ११ वटा क्षेत्रमा लगानी विविधीकरण गर्नुपर्ने थियो। जसमा थोरैमा ३० प्रतिशतसम्म लगानी बैंकको मुद्दतीमा गर्न पाउने भए पनि कम्पनीहरुले कुल लगानीको ६९.५८ प्रतिशत लगानी मुद्दतीमै गदै आएका छन्। 

यो वर्ष ६ खर्ब ८२ अर्ब रुपैयाँमा ४ खर्ब ६१ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुको मुद्दतीमा राखेका छन्। घट्दो ब्याजदरमा पनि बिमा कम्पनीहरुले बैंकमा गर्ने लगानीलाई विविधीकरण गर्नुको साटो मुद्दतीमै केन्द्रित भएका हुन्।

प्राधिकरणले मुद्दतीमा जाने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नका लागि २ वर्षअगाडि ११ वटा क्षेत्रमा लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था कार्यान्वयनमा ल्याइसकेको छ। तर कृृषि, पर्यटनजस्ता क्षेत्रमा मापदण्डभन्दा निकै कम गरेर मुद्दतीमै लगानी सीमित गरेका छन्।

त्यसो त यो पटक घरजग्गामा पनि कुनै बीमा कम्पनीले लगानी गरेका छैनन्। घरजग्गा कारोबारमा गएको २ वर्षदेखि सुस्तता छाउँदा जीवन बिमा कम्पनीहरुले यो क्षेत्रमा जाने लगानीलाई पूर्ण रुपमा रोकेका छन्। 

कुन कम्पनीले कति गरे लगानी? 

कम्पनी  लगानी रकम (रु)
नेपाल लाइफ २ खर्ब ३ अर्ब
लाइफ इन्स्योरेन्स कर्पोरेसन १ खर्ब १ अर्ब 
हिमालयन लाइफ ६५ अर्ब
नेशनल लाइफ ६४ अर्ब
राष्ट्रिय बिमा संस्थान ४९ अर्ब
एसियन लाइफ ४१ अर्ब
सूर्यज्योति लाइफ ३४ अर्ब
मेट लाइफ २८ अर्ब 
सिटिजन्स लाइफ १९ अर्ब
सानिमा लाइफ १८ अर्ब
रिलायबल लाइफ १६ अर्ब 
आइएमई लाइफ १५ अर्ब
प्रभु महालक्ष्मी लाइफ १४ अर्ब
सन नेपाल लाइफ ११ अर्ब

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .