ad ad

कारोबार


नेपालले अन्तर्राष्ट्रिय उडान किन नरोक्ने?

नेपालले अन्तर्राष्ट्रिय उडान किन नरोक्ने?

वसन्त अर्याल
फागुन २९, २०७६ बिहिबार ११:३८,

कोरोनाको संक्रमण विश्वभर फैलिन नदिन धेरै देशले हवाइ यातायातमा प्रतिबन्ध लगाएपछि नेपालले पनि अन्तर्राष्ट्रिय उडान रोक्नुपर्ने आवाज उठ्न थालेको छ। तर यसबारे सरकारले भने कुनै कदम चालेको छैन।

अमेरिकाले कुनै पनि युरोपेली नागरिकलाई एक महिनाका लागि प्रवेशमा रोक लगाउने घोषणा गरेको छ। छिमेकी देश भारतले कोरोना प्रभावित देशका नागरिकको भिसा रद्द गरेपछि नेपालले पनि आवश्यक कदम चाल्नुपर्ने दबाब बढेको हो।

सरकारले चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेन गरी आठ देशका नागरिकको लागि भिसा लिँदा कोरोना नभएको ‘हेल्थ सर्टिफिकेट’ देखाउनुपर्ने नियम ल्याएको छ।

तर सरकारको यो नियमप्रति स्वयं सांसदहरु असन्तुष्ट देखिएका छन्। संघीय प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले संक्रमण नभएको प्रमाणपत्र देखाएकै भरमा संक्रमण भेटिएको देशबाट आउनेलाई खुल्लमखुल्ला छाडिनु गलत भएको बताएका छन्। नेपाल आउनेलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने उनीहरुले जोडदार माग गरेका छन्।

चीनको वुहानबाट फैलिन सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी बन्नुमा प्रमुख भूमिका हवाइ क्षेत्रको रहेकाे छ। भाइरसकै कारण विश्वभर एक लाख २७ हजार बढी मानिसमा संक्रमण र ४ हजार ७ सय १६ जनाको मृत्यु भइसकेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछाने हवाइ उडान बन्द गर्ने कि नगर्ने उच्चस्तरीय समितिले निर्णय गर्ने बताउँछन्।

कोरोनाबारे अध्ययन तथा आवश्यकताअनुसारको निर्णय गर्न गृह, परराष्ट्र, शिक्षा, कृषि, स्वास्थ्य, उद्योग, पर्यटन, अर्थ र सञ्चारमन्त्री सदस्य रहेको उच्चस्तरीय समिति उपप्रधानमन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा गठन भइसके पनि हालसम्म उडान रोक्ने सुझाव नआएको उनको भनाइ छ।

‘कोरोना संक्रमण फैलिन नदिन सरकारले उपप्रधानमन्त्री (ईश्वर पोख्रेल) नेतृत्वको उच्चस्तरीय समितिले अध्ययन गरिरहेको छ’, लामिछानेले नेपालखबरसँग भने, ‘उडान बन्द गर्ने/नगर्ने केही दिनभित्रै निर्णय लिन्छ।’

याे पनि -
सांसदहरु भन्छन्ः कोरोनाबारे सरकार खेलाँची गर्दै छ, तत्काल रणनीति बनाउनुपर्‍यो

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री नेपालमा हवाइ उडान प्रतिबन्ध लगाउनुपर्ने अवस्था अहिले नै नआएको दाबी गर्छन्।

‘कुनै एयरलाइन्स आफैँले उडान बन्द गर्छ भने उसको इच्छा हो’, क्षेत्रीले भने, ‘उड्डयन प्राधिकरण अहिले नै हवाइ सेवा बन्द गर्ने निर्णयमा पुगेको छैन।’

चीनमा कोरोना भाइरस लगभग नियन्त्रणमा आइसकेको बिहीबारमात्रै त्यहाँको सरकारले घोषणा गरेको एजेन्सीहरुले जनाएका छन्। नेपालमा युरोपबाट सिधा उडान नभएकोले हवाइ उडान बन्द गर्नुपर्ने अवस्था नरहेको मन्त्रालयको बुझाइ छ।

‘युरोपियनहरु भारतीय बाटो प्रयोग गरी नेपाल आउने धेरै छन्। भारतले नै भिसा रद्द गरेपछि नेपालले उडान नरोके पनि धेरै असर गर्दैन’, मन्त्रालयका एक अधिकारीले नाम नबताउने शर्तमा भने।

कोरोना नेपालमा नआएको भने होइन। एक जनामा संक्रमण पुष्टि भए पनि उनी स्वस्थ भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर संक्रमित आशंकामा अस्पतालमा जाँच गर्नेहरु भने देखिरहेकै छन्। यस्तो अवस्थामा सरकारले बेलैमा आवश्यक ध्यान दिन बुद्धिमत्तापूर्ण हुन्छ।

डा. समीरमणि दीक्षितले केही दिनअघि नेपालखबरसँग गरेको भिडियो कुराकानीमा नेपालमा तथ्यांकगत रुपमा कोरोना नदेखिए पनि विमानस्थलको चेकजाँच भरपर्दो नभएकोले कोरोना छैन भनेर ठोकुवा गर्न नसकिने बताएका थिए।

त्यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अब नागरिक आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने, सरकारले क्वारेन्टाइनमा राख्न नसक्ने बताएपछि आलोचित बन्नुपरेको थियो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले समेत बुधबार कोभिड–१९ लाई विश्व महामारी घोषणा गरिसकेको अवस्थामा नेपालले उडान नरोक्नु आफ्नै खुट्टामा बञ्चरो हान्नुजस्तै त हुने हैन भन्ने आशंका उब्जिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .