ad ad

कारोबार


आन्तरिक उडानमा ३ दिनयता घर जाने बढे, फर्किँदा विमान रित्तै

आन्तरिक उडानमा ३ दिनयता घर जाने बढे, फर्किँदा विमान रित्तै

वसन्त अर्याल
चैत ९, २०७६ आइतबार ९:५६,

नेपाली आन्तरिक हवाइ उडान कम्पनीले नियमित तालिकाअनुसार उडान गरिरहेको बताएका छन्। शुक्रबारदेखि यात्रुको चाप बढे पनि उडान थप नगरेको बताएका छन्।

एयरलाइन्सहरुले यात्रुको चाप एकतर्फी मात्रै भएकाले भाडादरमा भने केही हेरफेर गरेको बताएका छन्।

‘मन्त्रालयले तोकेभन्दा बढी भाडा लिएका छैनौँ’, बुद्ध एयरका बजार प्रमुख रुपेश जोशीले नेपालखबरसँग भने, ‘तर अघिल्लो हप्ताभन्दा भाडादर केही बढाएका छौँ।’

उनले एकतर्फी मात्रै यात्रु हुँदा पनि मन्त्रालयले तोकेको सीमाभन्दा कममै टिकट बिक्री गरिरहेको जानकारी दिए।

buddha air udan

‘एकतर्फी मात्र यात्रु हुँदा एयरलाइन्सलाई के फाइदा हुन्छ र? मन्त्रालयले तोकेभन्दा कम भाडादरमै उडाइरहेका छौँ’, जोशीले भने।

सरकारले सोमबारबाट लामोदूरीका यातायात बन्द गर्ने निर्णयसँगै ३ दिन अलि भीड देखिएको उनको भनाइ छ। यात्रुको चाप भए पनि कुनै नयाँ उडान भने नथपेको उनले बताए।

सोमबारपछि भने प्रि बुकिङ नै कम रहेको जोशीले जानकारी दिए।

याे पनि :
बुद्ध एयरले सार्वजनिक गर्‍यो भाडादर, कहाँको कति ? (सूची)

त्यस्तै यति एयरलाइन्सले पनि आफ्नो भद्रपुरबाहेक नियमित तालिकाअनुसार नै उडान भरिरहेको बताएको छ।

‘हामीले दैनिक नियमित उडान तालिकाअनुसार गरेका छौँ’, यति एयरलाइन्सकी मार्केटिङ अफिसर विपना श्रेष्ठले भनिन्, ‘विगत ३ दिनमा भने एकतर्फी चाप रहेको छ। भद्रपुरमा एक उडान थप गरेका छौँ।’

श्रेष्ठले कोरोना संक्रमणको डरले पर्यटक आवागमन बन्द हुँदा १३ देखि १९ तारिखसम्म केही उडान कटौती गरेको जानकारी दिइन्।

उनका अनुसार विगत ३ दिनमा विराटनगरमा सबैभन्दा बढी दैनिक ५ उडान भइरहेको छ। पहिला दैनिक ९ देखि १० वटा उडान हुन्थ्यो भने हाल ४ वटा उडान मात्रै रहेको छ। नेपालगञ्जमा २ उडान मात्रै भइरहेको छ।

‘नेपाल आउने पर्यटकको संख्या घटेसँगै पोखरामा भाडादर नै घटेको छ। छोटो दूरीमा कुनै चाप छैन’, श्रेष्ठले भनिन्।

Shree

श्री एयरलायन्सका प्रबन्धनिर्देशक अनिल मानन्धरले पश्चिममा धनगढी, नेपालगञ्जमा तथा पूर्वमा भद्रपुर र विराटनगरमा बढी चाप रहेको बताए।

‘हामीले नयाँ कुनै हवाइ उडान थपेका छैनौँ’, मानन्धरले भने, ‘समयतालिकाअनुसार उड्ने हो। हामीले यात्रु कम हुँदा उडान बन्द गर्ने र यात्रु बढी हुँदा नयाँ उडान थपिहाल्ने गरेका छैनौँ।’

उनले एयरलाइन्सहरु विगतमा घाटामा चलिरहेको दाबी समेत गरे।

‘हामी घाटामा चलिरहेका थियौँ। अहिले पनि वान वे मात्रै चाप छ। जाने बढी छन्, फर्किँदा खालीजस्तै छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .