ad ad

कारोबार


कोरोनाबाट आन्तरिक उडान कति सुरक्षित?

कोरोनाबाट आन्तरिक उडान कति सुरक्षित?

वसन्त अर्याल
चैत १०, २०७६ सोमबार १२:२१,

बाग्लुङ घर भएका हरि आचार्य बिहान ९:४५ बजेको पोखरा उडान भेट्टाउन आधा घण्टाअघि त्रिभुवन विमानस्थल पुगे।

सरकारले अत्यावश्यक सेवाबाहेक सबै बन्द गरेसँगै आफ्नो जन्मघर जाने निर्णय गरेका थिए। विमानस्थल पुग्दा अनिवार्य मास्क लगाउनु भन्ने पोस्टर टाँसिएको थियो।

विमानस्थलको आन्तरिक टर्मिनल भवन छिर्नुअघि एयरपोर्टका कर्मचारीले उनको सामान्य ज्वरो नापे। स्यानिटाइजर प्रयोग गर्न दिए।

‘संक्रमणको चेकजाँच खासै कडा थिएन’, उनले नेपालखबरसँग भने, ‘काठमाडौंमा ज्वरो नाप्यो र स्यानिटाइजर प्रयोग गर्न दिए।’

domestic flight tia np 2

उनले पोखरामा पनि काठमाडौंमा जस्तै ज्वरो नाप्ने र स्यानिटाइजर प्रयोग गर्न दिएको बताए। बुद्धएयरमार्फत पोखरा गएका उनले जहाजमा ‘फुल अकुपेन्सी’ भएको जानकारी दिए।

पोखरा पुगेपछि भने उनी अलपत्र पर्ने स्थिति आयो।

‘आन्तरिक उडान चल्न दिएको छ तर सार्वजनिक यातायातलाई चल्न नदिँदा आधा बाटोमै अलपत्र पर्ने स्थिति आयो अनि रिजर्भ गाडीमा बाग्लुङ आएँ’, उनले आफ्नो गुनासो सुनाए।

domestic flight tia np 3

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य जहाजबाट अवतरण गरेपछि के गर्ने यात्रु आफैँको जिम्मा भएको बताउँछन्।

‘यहाँबाट पोखरा गएमा मानिस अर्को गन्तव्यमा कसरी जान्छ भन्ने त हाम्रो सरोकारको विषय भएन’, उनले नेपालखबरसँग भने, ‘हाम्रो जिम्मेवारी एउटा एयरपोर्टबाट अर्कोमा सुरक्षित पुर्याउने हो।’

आन्तरिक उडान कति सुरक्षित ?
सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा जम्मा नहुन निर्देशन दिएको छ। तर फेरि एउटै जहाजमा ७० जनासम्म उडान गरिरहेका छन्। बुद्ध एयरले पोखरा एटीआर ७० को जहाज उडाउँदै आएको छ। जसको सिट क्षमता नै ७० जना यात्रु बोक्ने हो।

domestic flight tia np 4

‘सरकारले भनेकै २५ जनाभन्दा बढी एकै ठाउँमा भीड नगर्नु र १ मिटर दूरी कायम राख्ने भन्ने सम्भव हुँदैन’, सहसचिव आचार्यले भने, ‘यो नियम लागू गर्ने भए १९ सिट क्षमताका जहाज मात्रै चलाए भयो, नभए आन्तरिक उडान बन्द गर्ने।’

हालको अवस्थामा उच्चस्तरीय समितिले प्रधानमन्त्रीको संशोधनलाई कार्यान्वयन गर्ने भन्ने निर्देशन आएको जानकारी दिए। प्रधानमन्त्री वा उच्चस्तरीय समितिले बन्द नगर भनेसम्म आन्तरिक हवाइ सेवा सुचारु हुने उनले बताए।

domestic flight tia np 5

तर आन्तरिक उडानमा संक्रमण नियन्त्रणको लागि जतिसक्दो उपाय अपनाएको बताए।

‘सबै यात्रुले मास्क लगाउनुपर्ने, बोर्ड हुनुभन्दा अघि हालमा स्यानिटाइजर लगाउने र सबै यात्रुको ज्वरो चेकजाँच भइरहेको छ’, सहसचिव आचार्यले भने।

domestic flight tia np 6
domestic flight tia np 7
domestic flight tia np 8
सबै तस्बिरः प्रविन काेइराला/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .