ad ad

कारोबार


उद्योगमा तीन हप्ते लकडाउनको असर ६ महिनासम्म, ठूलो घाटा सिमेन्टलाई

उद्योगमा तीन हप्ते लकडाउनको असर ६ महिनासम्म, ठूलो घाटा सिमेन्टलाई

सन्तोष न्यौपाने
चैत २५, २०७६ मंगलबार १२:१७,

मुलुकमा यसअघि सम्भवतः यति लामो समयसम्म औद्योगिक कलकारखानाहरु बन्द भएका थिएनन्।

अहिलेसम्म अस्थिर राजनीति, बन्द हडताल, द्वन्द्व र आन्दोलनका कारण उद्योगधन्दा बन्द हुन्थे। अहिले परिस्थिति फरक छ। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि देखिनथालेपछि सरकार आफैँले लकडाउन गरेको छ।

यसको प्रत्यक्ष असर औद्योगिक उत्पादनमा परेको छ। व्यवसायीहरुका अनुसार तीन हप्ते लकडाउनले औद्योगिक क्षेत्रमा ६ महिनाभन्दा धेरै असर गर्नसक्नेछ।

लामो समयसम्म उद्योग बन्द हुँदा यसले पछिसम्म असर गर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन्। उद्योगको प्रकृतिअनुसार सामान्य अवस्थामा आउन ४ महिनादेखि ६ महिनासम्म लाग्न सक्ने उनको भनाइ छ।

‘मुलुकको वितरण प्रणाली पहिलेकै अवस्थामा आउने ६ महिनाभन्दा बढी समय लाग्न सक्छ’, नेपालखबरसँग मुरारकाले भने।

यही कुरामा सहमति जनाउँछन् सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपाने। झण्डै एक महिनाको लकडाउनले सिमेन्टजस्तो उद्योगलाई पुरानै अवस्थामा फर्किन एक वर्षसम्म लाग्नसक्ने न्यौपानेको भनाइ छ।

यसैबीच अर्थमन्त्री डा. युवराज खतिवडाले सावधानी अपनाएर उद्योगहरु सञ्चालन गर्ने बताएका थिए। तर, मन्त्री खतिवडाले भनेअनुसार उद्योग सञ्चालन हुने वातावरण बनेको छैन। बन्द भइसकेको उद्योग पुनः सञ्चालन गर्न धेरै गाह्रो हुने मुरारका बताउँछन्।

कच्चा पदार्थको अभाव हुन्छ। मजदुरहरु आफ्नो घरमा गएका हुन्छन्। यी सबै मिलाएर पुनः उद्योग सञ्चालन गर्न समय लाग्ने उनी बताउँछन्।

व्यवसायीका अनुसार लामो समय उद्योग बन्द हुँदा मुख्य दुई पक्षमा असर गर्छ। पहिलो वितरण प्रणालीमा असर र अर्को उद्योगको मेसिनमा।

लामो समयको बन्दले वितरण प्रणाली नै भताभुंग भएको अवस्था छ। उद्योग बन्द छ, कच्चा पदार्थ पनि छैन। उद्योग सञ्चालन गर्ने मजदुरदेखि वितरणमा प्रयोग हुने ढुवानी र चालक घरमा बसेको अवस्था छ।

बाहिरबाट आउने कतिपय सामानहरु कलकत्ता लगायतका बन्दरगाहमा छन्। एलसी खोलिएको छैन।

‘यो सबै अस्तव्यस्तका कारण आगामी केही महिनासम्म उत्पादनमै असर पर्छ’, मुरारकाले भने, ‘सामान्य हुन ६ महिनासम्म लाग्न सक्छ।’

खाद्यान्नलगायतका अत्यावश्यक उद्योग बन्द खोलिएपछि अर्को एक महिनामै सामान्य अवस्थामा आउन सक्छन्। सिमेन्ट तथा डन्डी उद्योगहरुलाई सामान्य अवस्थामा फर्किन एक वर्षसम्म लाग्न सक्ने न्यौपानेले बताउँछन्।

‘सरकारले खर्च गर्नसकेको हुदैन। अब झन् खर्च गर्ने क्षमता पनि ह्रास भइरहेको हुन्छ’, न्यौपानेले भने, ‘यो बन्दले वितरण प्रणाली र मागको आपूर्ति सामान्य हुन एक वर्षसम्म लाग्न सक्छ।’

त्यस्तै, नेपालमा कोरोना भाइरस रोकथाम भएर मात्र पुग्दैन। छिमेकी देश भारत लगायत तेस्रो मुलुकमा यो समस्या हुँदा पनि नेपाललाई असर गरिरहन्छ।

भारतमा देखिँदासम्म सीमानाका कडाइ गर्नुपर्ने हुन्छ। यसो गर्दा मान्छे आवतजावत पनि बन्द हुन्छ।

सबैभन्दा ठूलो असर सिमेन्ट उद्योगमा
लामो समयको बन्दले सबैभन्दा धेरै असर सिमेन्ट उद्योगलाई गर्ने सम्बन्धित उद्योगी बताउँछन्।

सिमेन्ट उद्योगको लागि चाहिने चुनढुंगा खानी वर्षाभरि चल्दैनन्। वर्षातको चार महिनालाई चाहिने चुनढुंगाको जोहो गर्ने यही बेलामा औद्योगिक क्रियाकलाप नै बन्द हुँदा यी उद्योगले मार खेप्नुपरेको छ।

‘असार, साउन, भदौ र असोज सबै चुनढुंगा खानी बन्द हुन्छन्, सिमेन्ट व्यवसायी न्यौपानेले भने, ‘भारतमा पनि त्यो समयमा बन्द हुन्छ। हामीले अब वर्षाको लागि जोहो गरेर राख्न नसकिने अवस्था हुनलाग्यो।’

अब सामान्य अवस्थामा आउने सिमेन्ट उद्योगलाई एक वर्ष लाग्न सक्ने उनको भनाइ छ। चुनढुंगाको कारणले तीन÷चार महिना असर गर्छ भने बजारको कारणले त्यो एक वर्ष धकेलिन्छ।

सिमेन्ट उद्योगको लागि अझ ठूलो समस्या भनेको पुनः सञ्चालन गर्दा लाग्ने खर्च हो। क्लिंकर उत्पादन गर्ने सिमेन्ट उद्योगको भट्टलाई चौबीसै घण्टा चलाउनुपर्ने हुन्छ। तर अहिले झण्डै एक महिना पूर्ण रुपमा बन्द भएका छन्।

यसरी बन्द गरिएका भट्टीलाई पुनः सञ्चालन गर्दा ५० लाखदेखि एक करोड रुपैयाँसम्म लाग्ने मुरारका बताउँछन्। पुनः सञ्चालन गर्दा उक्त भट्टीलाई ‘रिहिटिङ’ गर्नुपर्छ। ‘रिहिटिङ’ गर्दा चार÷पाँच दिन पनि लाग्छ।

साथै, मेसिनभित्र ‘फायर ब्रिक्स’ हुन्छ। बन्द गर्ने र सञ्चालन गर्दा त्यसको लाइफमा असर गर्छ। मुरारकाका अनुसार दुई÷चार दिन मात्र बन्द हुँदा त्यसलाई निश्चित तापक्रममा राख्न सकिन्छ। त्यसलाई पूर्ण रुपमा चिसो हुन दिइँदैन तर अहिले त पूरै बन्द अवस्थामा छन्। पूरै चिसो भइसकेको अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .