लकडाउनमा पनि सरकारले अत्यावश्यक पुल बनाउन दिने भएको छ। वर्षायामभित्र काम गर्न नसके ठूलो क्षति हुने पुलको काम गर्न दिने भएको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले अहिले नै निर्माण नगरे ठूलो क्षति हुने पुलको निर्माण गर्न सहजीकरण गरिरहेको बताएका हुन्।
‘भौतिक पूर्वाधार मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा पुल निर्माणको लागि सुख्खायाममा गर्नुपर्ने कामको लागि पत्र लेखेको थियो’, मन्त्री नेम्वाङले नेपालखबरसँग भने, ‘उच्चस्तरीय समितिले गृह मन्त्रालयलाई समन्वय गर्न भनेको छ।’
उनका अनुसार गृह मन्त्रालयले कोरोनाबाट सुरक्षित रही काम गर्न सम्बन्धित निर्माण व्यवसायीलाई अनुमति दिनेछ।
‘करिब ६० वटा पुलहरु निर्माणको काम सुचारु राख्न अनुमति माग गरिएको छ’, उनले भने, ‘लकडाउनको समयमा सुरक्षासम्बन्धी अपनाउनुपर्ने विधि अपनाएर काम गर्न पाउँछन्।’
उनका अनुसार काम गर्ने स्थलमा २५ जनाभन्दा बढी हुन नहुने, श्रमिक आइसोलेसनमा बस्नुपर्ने, निर्माण व्यवसायीले मजदुरको सुरक्षालाई ध्यानमा राख्नुपर्ने शर्त पालना गर्नुपर्नेछ।
सडक विभागका अनुसार हाल देशभर करिब ८ सय पुल निर्माणाधीन छन्। विभागका महानिर्देशक केशव कुमार शर्माले वर्षात्अघि नै गर्नुपर्ने पुलको तथ्यांक मन्त्रालयमा पठाएको बताए।
‘निर्माण व्यवसायीले ती अत्यावश्यक पुलमा कसरी काम गर्ने हो प्रस्ताव पेश गर्नुपर्छ’, महानिर्देशक शर्माले भने, ‘प्रस्ताव हेरेर गृहले अनुमति दिन्छ।’
उनका अनुसार कोरोनाको जोखिम कम भएका मुख्य सडकमा पनि काम गर्न दिने विषयमा छलफल भइरहेको तर पछिल्लो दुई÷तीन दिनमा कोरोना संक्रमित झन् देखिन थालेकाले अन्य काम गर्न दिने/नदिने विचाराधीन अवस्थामा रहेको छ।
‘अहिले काम गर्न नपाए ठूलो क्षति’
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लकडाउनको कारण अहिलेको सुख्खा समयमा काम गर्न नपाए बाढीले ठूलो क्षति पु¥याउने बताए।
निर्माण व्यवसायीले लामो समय मिहिनेत गरेर खोला फर्काउने, बाँध बाँध्ने काम गरिसकेकाले ती पुलमा काम गर्न पाउनुपर्ने उनको भनाइ छ।
‘हामीले जहाँ कोरोनाको संक्रमण जोखिम कम छ र काम गर्न अत्यावश्यक छ, त्यो ठाउँमा काम गर्ने वातावरण बनाउन भनेका छौं’, सिंहले नेपालखबरसँग भने, ‘अहिले नगरी नहुने काम भनेको २/३ महिना लगाएर खोला डाइभर्ट गरेर वा खोलालाई बाँधेर पुलमा ढलान गर्ने काम भइरहेको थियो। त्यो काम सम्पन्न गर्न पाए धेरै आर्थिक क्षतिलाई न्यून गर्न सकिन्छ।’
उनका अनुसार निर्माण व्यवसायीले अहिले नै गर्नपर्ने अत्यावश्यक करिब २ सय पुलमा काम गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
अहिले नगरी नहुने काम गर्ने वातावरण बनाउनको लागि क्याम्पभित्रै भएका कर्मचारीलाई काम गर्न दिने र ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्ट, रड ढुवानीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
लकडाउनमा ५ हजार बढी आयोजनामा काम नभए पनि निर्माण व्यवसायीहरुको ‘ओभरहेड’ खर्च भइरहेको सिंहको भनाइ छ।
‘कर्मचारीलाई तलब दिनुपरिरहेकै छ । उपकरणहरुको खरिद गर्दा लिएको ऋणको ब्याज तथा किस्ता बैंकलाई तिर्नु नै परेको छ। लकडाउन एक महिना होला तर यसको असर अर्को वर्षसम्म पर्छ’, उनले भने।
प्रतिक्रिया