ad ad

कारोबार


लकडाउनमा खसीको मासु प्रति किलो चार सय रुपैयाँ वृद्धि

लकडाउनमा खसीको मासु प्रति किलो चार सय रुपैयाँ वृद्धि

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १२:२,

सूर्यविनायक नगरपालिका वडा नं २ स्थित बालकोट मिट सपले खसीको मासु प्रतिकिलो रु एक हजार ६०० मा बिक्री गरेको छ। खसीको अभाव देखाउँदै व्यवसायीले मासुको मूल्य प्रतिकिलो रु ४०० वृद्धि गरेका छन् । लकडाउनअघिसम्म प्रतिकिलो रु एक हजार २०० मा बिक्री हुँदै आएको खसीको मासु अहिले प्रतिकिलो रु एक हजार ६०० पुगेको छ।

बालकोटमा मात्रै होइन जिल्लाका अधिकांश मासु पसलमा अहिले खसीको मासु प्रतिकिलो रु ४०० देखि रु ५०० सम्म वृद्धि गरी बिक्री गर्न थालेका छन्। बालकोट मिट सपका सुनिल शाहीले लकडाउनपछि खसीको अभाव भएकाले मासुको मूल्य वृद्धि भएको दाबी गर्छन्। उनी भन्छन्, ‘लकडाउन पहिले खसीको मासु प्रतिकिलो रु एक हजार २०० मा बिक्री गरेको हो, अहिले खसी पाइँदैन, पाइए पनि जिउँदो खसी नै प्रतिकिलो रु ८५० तिर्नुपर्छ अनि रु एक हजार ६०० मा बिक्री नगरे घाटा लाग्छ।’

कुखुराको मासु प्रतिकिलो रु ३५० मा बिक्री गर्ने गरेको छ। कुखुरा सहजै पाइने भएकाले कुखुराको मासुको भने मूल्य वृद्धि नभएको उनको दाबी छ। भक्तपुर सूर्यविनायक चोकका सूर्यविनायक मिट सपका सञ्चालक सूर्यबहादुर शाहीले खसीको मासु प्रतिकिलो रु एक हजार ६०० मा बिक्री गरेको बताए। वैशाख १ गते रु एक हजार ८०० सम्ममा बिक्री गरेको बताउँदै खसीको अभाव भएकाले मासुको मूल्य वृद्धि भएको दाबी गर्छन्।

व्यापारीले जिउँदो कुखुरा प्रतिकिलो रु १९० मा ल्याउने गरे पनि तयारी कुखुराको मासु भने रु ३५० मा बिक्री गर्ने गरेका छन्। लकडाउनमा मासु व्यापारीले मनोमानी मूल्य राखेर चर्को मूल्यमा मासु बिक्री गर्ने गरेको अनुगमनका क्रममा पनि पाइएको छ। व्यवसायीले बजारमा मासुको मनपरी मूल्य निर्धारण गरी बिक्री गरेपछि भक्तपुर नगरपालिकाले मासु पसलमा छापा मारेको छ। आज बिहान नगरपालिकाले विभिन्न पसलमा छापा मार्दा व्यापारीले मनोमानी मूल्यमा मासु बिक्री गरेको पाइएको हो।

भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालासहितको टोलीले गरेको मासु पसलको आकस्मिक अनुगमनमा कालोबजारी गरेर मासु बिक्री गरेको पाइएको हो। कोभिड–१९ महामारी नियन्त्रण गर्न गरिएको लकडाउनका बेलामा कुखुराको मासु प्रतिकिलो रु ३०० सम्म र खसीको मासु किलोको रु एक हजार ५०० सम्म लिई मनपरी मूल्यमा कालोबजारी गरेको पाइएको संयोजक गोराले जानकारी दिए।

अनुगमनका क्रममा भक्तपुरको केजी कोल्ड स्टोर, ख्वप कोल्ड स्टोर, पूर्ण शाहीको खसी र कुखुराको मासु पसल, भक्तपुर भ्याली कोल्ड स्टोरलगायतले दर्ता नवीकरण नगरेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, खसीको मासु महँगोमा बिक्री गरेको, मासुको मनपरी मूल्य लिएको, मूल्य सूची नराखेको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग नगरेको, फ्रिज चलाएको नमिलेको, मासु जालीले छोपेर नराखेको पाइएपछि तत्काल त्यस्ता गल्ती सुधार्न सचेत गराएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए।

अनुगमन टोलीका राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापाले लकडाउनयता मासु पसलदेखि अन्य दैनिक उपभोग्य सामग्री बिक्री गर्ने पसलमा मनोमानी मूल्य निर्धारण गरेर कालोबजारी गरेको पाइएको जानकारी दिए। स्थानीय तहले प्रभावकारी ढंगले लकडाउनमा बजार अनुगमन गर्न नसक्दा मनोमानी मूल्य लिएको, सुरक्षा सामग्री मास्क, पञ्जा, सेनिटाइजरको प्रयोग नगरेको, एक मिटरको दूरी कायम नगरेको पाइएको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .