लकडाउनको समयमा पनि तीन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणकार्यले निरन्तरता पाएको छ। विमानस्थलहरुले मौजुदा निर्माण सामग्री र थोरै मजदुरहरुले कामलाई निरन्तरता दिइरहेका हुन्।
लकडाउनकै बीच पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रन वे विस्तारको काम जारी छ। त्यस्तै, पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत हुँदै छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारीले तीनवटै विमानस्थलमा काम चलिरहेको जानकारी दिए। निर्माणको काम चलिरहे पनि लकडाउनअघि जस्तो तीव्र रुपले काम हुनसकेको छैन।
‘लकडाउन भए पनि तीनवटै विमानस्थलमा काम त भइरहेको छ तर धिमा गतिमा’, निर्देशक अधिकारीले नेपालखबरसँग भने, ‘मजदुरको समस्यासँगै निर्माण सामग्रीको अभावले तीव्र गतिमा काम गर्न सकिएको छैन।’
उनले देशका अन्य निर्माणाधीन एयरपोर्टमा भने खासै काम हुन नसकेको बताए।
त्रिभुवन विमानस्थलको बाँकी काम वैशाखभित्र सकिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले भने, ‘त्रिभुवन विमानस्थलको ३ सय मिटरको रनवे विस्तार र एअरबस ३३० स्तरको दुईवटा जहाज पार्किङ गर्न सकिने गरी पार्किङ वे निर्माणकार्यलाई तीव्रता दिइएको छ।’
वैशाखभित्रै उक्त दुवै काम सकिने उनले दाबी गरे।
‘पोखरा विमानस्थल समयमै सकिन्छ’
पोखरा विमानस्थलमा ३ सय ५० जना कामदारले लकडाउनको समयमा पनि काम गरिरहेका छन्। सन् २०२१ को जुलाईसम्म विमानस्थलको काम सक्नुपर्ने लक्ष्यसाथ काम भइरहेको विमानस्थलले जनाएको छ। यसअघि विमानस्थलले २०२० को डिसेम्बरमै सक्ने लक्ष्य राखेको थियो।
‘६ महिनाअघि नै काम सक्ने लक्ष्य राखी काम गरिरहेका थियौँ, लकडाउन धेरै समय लम्बिएन भने २०२१ को जुलाईअघि नै सकिन्छ’, पोखरा विमानस्थल प्रमुख विनेश मुनाकर्मीले भने, ‘अझै तीन महिना विमानस्थलभित्र काम गर्ने सामग्री छन्।’
उनले अहिले तत्कालको लागि भारतबाट ल्याउने सिमेन्टको अभाव रहेको र अब त्यो स्थानीय बजारमै पाइएकाले समस्या समाधान हुने बताए।
‘विमानस्थलमा ढलाइको काम बाँकी थियो, यसका लागि करिब ४० टन सिमेन्ट आवश्यक पथ्र्यो। जुन भारतबाट ल्याउँदै आएका थियो। त्यो नपाउँदा समस्या भएको थियो। पोखराका व्यवसायीले राम्रो सिमेन्ट उपलब्ध गराउन सक्ने भएपछि यो समस्या समाधान भई काम हुँदै छ’, मुनकर्मीले नेपालखबरसँग भने।
उनका अनुसार करिब ५८ प्रतिशत निर्माणको काम सकिएको छ। विमानस्थलभित्रका ठूला संरचना बनिसकेका र तिनको फिनिसिङको काम भइरहेकाले उपकरण जडान, वाल निर्माण, ढलानका केही काम मात्रै बाँकी रहेको उनको भनाइ छ।
अब धेरै उपकरण जडान तथा फिनिसिङका काम भएकाले सामग्री आए काम सक्न धेरै समय नलाग्ने मुनाकर्मीको भनाइ छ। उपकरणका सामग्री कलकत्ता, केरुङमा आइसकेको र केही चीनबाट ल्याउनुपर्ने अवस्था रहेको उनले जानकारी दिए।
भैरहवा विमानस्थल असार मसान्तसम्म पनि नसकिने
चार पटकसम्म म्यादथप गर्दा पनि नसकिएको भैरहवा विमानस्थल असार मसान्तसम्म पनि तयार नहुने भएको छ। विमानस्थलमा आवश्यक पर्ने लाइट तथा उपकरण बाहिरबाट ल्याउनुपर्ने भएकाले विमानस्थलको काम छिटो नसकिने भएको हो।
सन् २०१९ डिसेम्बरसम्म सक्ने लक्ष्य राखिए पनि विमानस्थलको म्याद २०२० मार्चसम्म थपिएको थियो। तर यो समय पनि यतिकै गुज्रिएको छ। बल्ल ९० प्रतिशत मात्रै काम सकिएको विमानस्थलले जानकारी दिएको छ।
‘अधिकांश उपकरणका सामग्री फेब्रुअरीमा चीनबाट आउनुपर्ने थियो’, भैरहवा विमानस्थलका प्रमुख प्रवेश अधिकारीले भने, ‘चीनमा कोरोनाको प्रभावका कारण सामग्री आउन नसक्दा पछि सबै बन्द भयो।’
विमानस्थलमा मुख्य उपकरण जडानको काम नै बाँकी रहेको उनको भनाइ छ।
‘अन्तिम म्याद मार्चसम्म थियो। सामग्री अभावका काम सकिएन। लकडाउन खुलेपछि मात्रै सामग्री ल्याउन सम्भव छ। असार मसान्तसम्म पनि सकिँदैन’, अधिकारीले भने।
विमास्थलको धावन मार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सीसीटीभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान भने भइसकेको छ।
निर्माणकार्यमा स्थानीय मजदुरहरु लकडाउनका कारण घर फर्किएको, नदीजन्य पदार्थ निकासी गर्न नपाएको र विमानस्थलमा जडान गर्न खरिद गरेका उपकरणहरु ल्याउन नपाएपछि निर्माणकार्य प्रभावित बनेको विमानस्थलको दाबी छ।
प्रतिक्रिया