ad ad

कारोबार


होटल कर्मचारीलाई तलब दिन सरकारको मुख ताक्दै होटल एसोसिएसन

होटल कर्मचारीलाई तलब दिन सरकारको मुख ताक्दै होटल एसोसिएसन

नेपालखबर
बैशाख १५, २०७७ सोमबार ९:२३,

नेपालमा तारे होटलका कर्मचारीको तलब अंग्रेजी महिनाअनुसार आउँछ। मार्च महिनामा १ हप्ता मात्रै होटल बन्द हुँदा कर्मचारीलाई तलब दिन सक्दैनौँ भन्ने होटल सञ्चालकले अप्रिलको तलब कसरी दिन्छन् भन्ने कर्मचारीलाई चिन्ता बढेको छ।

केही तारे होटलले ५० प्रतिशत मात्रै तलब दिन सकिन्छ भनेका छन् भने होटलहरुको संस्था होटल्स एसोसिएसन अफ नेपाल (हान)ले १२.५ प्रतिशत मात्रै तलब दिनसक्ने बताएको छ।

हायात होटलले जुन महिना (असार १६) सम्म ५० प्रतिशत मात्रै तलब दिने सूचना जारी गरेको छ। ट्रेड युनियनहरुले भने एकलौटी रुपमा लिएको निर्णय मान्य नभएको बताएका छन्।

हायातले असार १६ गतेसम्म होटल बन्द गर्दै ट्रेड युनियनसँग छलफल नगरी कर्मचारीलाई ५० प्रतिशत तलब दिने भनेर सूचना जारी गरेको कर्मचारीले बताएका छन्।

‘कर्मचारीले २०औं वर्ष कमाएको पैसाबाट कोष रहेको छ’, होटल हायातमा कार्यरत एक कर्मचारीले भने, ‘यो महिनाको तलब आउने बेला भइसक्यो। उनीहरुले ५० प्रतिशत भनेका छन्। हामीले हुँदैन भनेका छौं, कति आउँछ थाहा छैन।’

कर्मचारीले तलबबापत आउने रकमले घरपरिवार सम्हाल्नुपर्ने भएकाले पूरै तलब दिनुपर्ने माग रहेको बताएका छन्।

होटल बन्द भए पनि नजिकै बस्ने कर्मचारीहरु कामको लागि गएका छन्। नियमित सरसफाइका कर्मचारी, बिजुली, पानीलगायत इन्जिनियरिङ डिपार्टमेन्टका कर्मचारी, होटलका सुरक्षा कर्मचारी गइरहेका छन्।

हायात होटल मात्रै होइन याक एण्ड यतिले पनि कर्मचारीलाई लकडाउन अवधिमा ६० प्रतिशत मात्रै तलब दिने बताएको छ।

होटल कर्मचारीका अनुसार स्थायी कर्मचारीलाई पूरै तलब दिने र करारका कर्मचारीलाई ६० प्रतिशत मात्रै दिने कुरा भइरहेको छ।

‘होटलको सेवा कर्मचारीको हातमा हुन्छ। होटल सञ्चालकले कर्मचारीलाई निरुत्साहन गर्नुहुँदैन’, याक एण्ड यतिका कर्मचारीले भने, ‘मजदुरको तलब पूरै दिनुपर्छ। व्यवस्थापनसँग त्यही भनेका छौँ।’

सांग्रिला होटलले भने अहिलेसम्म तलब काट्ने कुरा कर्मचारीसँग गरेको छैन । ‘कर्मचारीको तलब कटौती गर्ने कुरा भएको छैन’, होटलमा कार्यरत गोकर्ण अधिकारीले भने, ‘हामीलाई आशा छ पूरै तलब आउँछ।’

‘साढे १२ प्रतिशत तलब मात्रै होटलले व्यहोर्न सक्छन्’
हानले कर्मचारीको तलबमा साढे १२ प्रतिशत मात्रै व्यहोर्नसक्ने अवस्था रहेको बताएको छ। हान प्रथम उपाध्यक्ष विनायक शाहले हानले साढे १२ प्रतिशत तलब व्यहोर्ने, बाँकी सरकारले कति सहयोग गर्छ, त्यसमा भर पर्ने बताए।

‘हामीले कर्मचारीलाई तलब दिन सक्दैनौँ भनेर हुँदैन। कर्मचारीले परिवार पाल्नुपर्छ भन्ने हामीले बुझेका छौं’, शाहले नेपालखबरसँग भने, ‘सरकारसँग सामाजिक सुरक्षा कोषको ठूलै रकम छ। त्यो रकम अहिले प्रयोग गर्नुपर्छ भन्ने हाम्रो माग छ। सरकारी निर्णयको प्रतीक्षामा छौं।’

शाहले सरकारसँग छलफल भइरहेको भन्दै सरकारले राहत प्याकेज ल्याउने बताए।

होटलले १० प्रतिशत सर्भिस चार्ज सेवाग्राहीसँग लिइरहेको हुन्छ। हरेक ६ महिनामा त्यो कर्मचारीलाई दिने चलन छ।

उनले भने, ‘अहिले हामीले त्यो रकमसहित तलबको १२.५ प्रतिशत व्यहोर्ने र त्यसमा सरकारले सामान्य जीवनयापनको लागि कति तलब चाहिन्छ, त्यो पूर्ति गर्नुपर्छ।’

हानले न्यूनतम १२.५ प्रतिशत भनेको भन्दै शाहले कुनै होटलले ५० प्रतिशत दिने, कुनैले ६० दिने भन्ने कुरा सम्बन्धित होटलको कुरा भएको बताए।

‘आफ्नो कर्मचारीलाई त पूरै तलब दिन सके त रामै हो नि!’, उनले भने।

सरकारले व्यवसायीहरुलाई लक्षित गरी ऋण तथा करमा केही राहतको प्याकेज ल्याए पनि कर्मचारीहरुको विषयमा भने कुनै प्याकेज नल्याएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .