कोरोना भाइरस संक्रमणको त्रासले गरिएको लकडाउनबाट पर्यटन क्षेत्रका श्रमिकहरु काम र दामविहीन बन्नपुगेका छन्। पर्यटन क्षेत्रलाई चलायमान बनाउने मजदुर तथा कर्मचारी नराम्ररी प्रभावित बनेका हुन्।
पर्यटन बोर्डको आँकलनमा नेपालमा यो क्षेत्रमा ५ लाख प्रत्यक्ष र २० लाख श्रमिकहरु अप्रत्यक्ष रुपमा आश्रित छन्। तर कोरोनाका कारण सबै पर्यटन गतिविधि ठप्प हुँदा श्रमिकहरुलाई समस्या भएको छ। त्यसमाथि तत्काल लकडाउन खुले पनि पर्यटन क्षेत्र चलायमान नहुने व्यवसायीले बताएका छन्, जसले पछि अझै समस्या हुने देखिएको छ।
पर्यटन क्षेत्रका धेरै गतिविधि वसन्त र शरद ऋतुमा हुने गर्छन्। हिमाल आरोहणदेखि घुमघामको लागि पनि यही बेला उपयुक्त मानिन्छ। धेरै कर्मचारी वा मजदुर यही समयमा आर्जन गरेको रकमले वर्षभरको बजेट धान्ने गर्छन्।
आफूलाई राहत माग्दै, मजदुरको बेवास्ता
पर्यटन व्यवसायीले यो वर्ष कुनै गतिविधि नहुने भन्दै सरकारले राहत दिएर व्यवसाय जोगाउन सहयोग गर्नुपर्ने माग गरिरहेका छन्।
व्यवसायीहरुले यस क्षेत्रका मजदुरलाई के गर्ने भन्ने योजनाबारे केही बोलेका छैनन्। अप्ठ्यारोमा परेका मजदुरलाई उल्टै पूरा तलब दिन नसक्ने बताइरहेका छन्।
होटल एसोसिएसन अफ नेपालकी अध्यक्ष सिर्जना राणाले तलब १२.५ प्रतिशत मात्रै दिन सक्ने अवस्था रहेको बताएकी छिन्।
‘होटलले उठाउँदै आएको १० प्रतिशत सर्भिस चार्ज हरेक ६ महिनामा वितरण गछौं’, राणाले भनिन्, ‘जम्मा भएको सर्भिस चार्ज बाहेक १२.५ प्रतिशत तलब दिन सक्छौं।’
उनले त्यसो गर्दा प्रत्येक कर्मचारीको हातमा सरकारले तोकेको न्यूनतम तलब हात पर्ने दाबी गरेकी छिन्।
होटल मात्रै होइन एयरलाइन्स कम्पनीहरुले पनि पूरा तलब दिन नसक्ने बताइसकेका छन्। ५० प्रतिशत तलब दिने बुद्ध एयरले जनाएको छ। श्री एयरलाइन्सले कर्मचारी कटौती गर्ने विकल्पमा सोचिरहेको बताइरहेको छ।
ट्रेकिङ तथा हिमाल आरोहण मजदुर बढी संकटमा
हिमाल आरोहणको सिजनमा कमाएर अन्य समय खर्च गर्ने टुरिष्ट गाइड, भारी बोक्ने, क्याम्प व्यवस्थापन गर्ने कर्मचारी सबैभन्दा बढी मारमा पर्ने भएका छन्।
हिमाल आरोहण संघका अध्यक्ष सन्तवीर लामाले करारका कर्मचारी र तल्लो तहका कर्मचारी बढी मारमा पर्ने बताउँछन्।
‘लकडाउनले सबै टुरिस्ट गाइडलाई समस्या पर्दैन। कम्पनीभन्दा गाइड धनी छन्’, लामाले भने, ‘भर्खर गाइड बनेकाहरु र करारमा काम गर्ने कर्मचारीलाई बढी समस्या हुन सक्छ।’
संघले तथ्यांक संकलन गरिरहेको बताउँदै १ हप्तामा सरकारलाई बुझाउने बताएका छन्। उनीहरुका अनुसार धेरै पर्यटन क्षेत्रमा काम गर्ने ‘सिजनल’ मजदुर हुन्छन्। काम नहुँदा कृषि पेशा गर्ने धेरै रहेको उनीहरुको दाबी छ।
लकडाउनको अवस्थाले धेरै पर्यटक मजदुर भोकै बस्नुपर्ने अवस्था नेपालमा नरहेको समेत लामा बताउँछन्।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटक मजदुरले काम नपाउँदा दैनिकी गुजार्न समस्या हुने बताउँछन्।
उनले पर्यटक मजदुर सिजनमा काम गर्ने हुने भन्दै रोजगारी सुनिश्चित गर्नुपर्ने बताए।
‘पर्यटन मजदुरलाई गुजारा गर्नको लागि कम्पनी वा एसोसिएसन जमानी बसेर ऋण पाउने वा यो क्षेत्रका कर्मचारीलाई रोजगारी सिर्जना गर्नुपर्छ’, सुवेदीले भने।
४ हजारलाई रोजगारी दिने तयारी
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ हजार बढीलाई रोजागारी दिने तयारी गरेको छ।
‘पर्यटन मात्रै होइन, विदेशबाट आउनेलाई पनि रोजगारी दिनसक्नुपर्ने अवस्था रहेको छ’, मन्त्रालयका सहसचिव तथा प्रवक्ता रुद्रसिंह तामाङले भने, ‘हाल मन्त्रालयले ४ हजारलाई रोजगारी सिर्जना गर्ने तयारी गरेको छ।’
उनले पर्यटन क्षेत्रमा रोजगारी सिर्जना गर्न अप्ठ्यारो पर्ने भन्दै पर्यटन क्षेत्रका श्रमिकले अन्य क्षेत्रमा काम गर्नुपर्ने बताउँछन्।
‘हामीले रोजगारी सिर्जना गरेर मात्रै भएन। होटलमा काम गर्ने कर्मचारी अर्को क्षेत्रमा रोजगारी लगाउँदा काम गर्न तयार नहुने अवस्था आउँछ’, सहसचिव तामाङले भने, ‘यसको लागि पर्यटन संघ÷संस्थासँग छलफल गरिरहेका छौं।’
मन्त्रालयले ४ हजार रोजगारी दिनेमध्ये १८ सयलाई पर्यटन बोर्डले रोजगारी दिने भनेको छ।
‘१८ सयलाई बोर्डले रोजगारी दिने पूरा तयारी गरेको छ’, बोर्डका सीईओ धनञ्जय रेग्मीले भने, ‘युएनडीपी र बोर्डको कोषबाट १८ सयलाई १ महिनाको रोजगारी दिइनेछ।’
लकडाउन खुलेपछि हिमाल सरसफाइ, सस्कृतिक सम्पदा सरसफाइलगायतका काममा श्रमिकलाई लगाउने रेग्मीले बताए।
ट्रेकिङ तथा हिमाल आरोहणका कर्मचारीलाई हिमाल सरसफाइ गराउने, ¥याफ्टिङका कर्मचारीलाई खोलाको आसपास, होटलका कर्मचारीलाई प्रमुख पर्यटक गन्तव्य क्षेत्र सरसफाइमा लगाउने बोर्डको तयारी छ।
हिमाल आरोहण संघका अध्यक्ष लामाले संघ संस्था तथा कम्पनीले रोजगारी आवश्यक पर्ने मजदुर पहिचान गरी सरकारलाई सहयोग गर्ने बताए।
‘हामीले लामो समयदेखि हिमाल सरसफाइ गरौं भनेका छौं। जुन महिनासम्म हिमाल सरसफाइ गर्न सकिन्छ’, उनले भने, ‘त्यसको लागि एसोसिएसनले मजदुर छनोटमा सहयोग गर्छ।’
प्रतिक्रिया