ad ad

समाज


६५ वर्षमा पहिलो पटक काठमाडौं प्रहरीको हिरासत खाली

६५ वर्षमा पहिलो पटक काठमाडौं प्रहरीको हिरासत खाली

उजिर कार्की
बैशाख १९, २०७७ शुक्रबार ११:४,

काठमाडौं प्रहरी परिसरको हिरासत कक्ष स्थापनापछि पहिलो पटक खाली भएको छ। १ सय ४५ जना थुनुवालाई राख्न सकिने हिरासतमा अहिले एक जना पनि छैनन्।

कोरोना संक्रमणको जोखिमका कारण देश डेढ महिनादेखि लकडाउनमा छ। भएका थुनुवालाई समेत मुक्त गरिएपछि हिरासत कक्ष रित्तो भएको हो।

hirasat28

लकडाउनको पहिलो दिन चैत ११ गते ७७ जना थुनुवा थिए। यीमध्ये ठगीमा २० जना, जातीय छुवाछुत तथा भेदभावमा १ जना, बैंकिङ कसुरमा ३, कालोबजारी १५, बलात्कार ४, लागूऔषध २७ र अन्य कार्यालयबाट आएका ७ जना गरी ७७ जना थुनुवा थिए।

मुलुकी अपराध संहिता २०७४ को दफा १५ को १ मा अनुसन्धान अधिकृतलाई थुनुवा छाड्न सक्ने विशेष अधिकार दिएको छ।

teku-jail67.jpg

‘अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति दिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ,’ उक्त दफामा भनिएको छ। 

यो पनि : प्रहरी भन्छ: अब लकडाउन लम्बिए अपराध बढ्छ

‘सोही व्यवस्थालाई टेकेर कोरोना संक्रमणको जोखिम कम गर्न काठमाडौं प्रहरीले हिरासत थुनुवामुक्त बनाएको हो,’ काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले भने।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सर्वोच्च अदालतले समेत यो व्यवस्थालाई कडाइका साथ लागू गर्न र हिरासतमा थुनुवाको संख्या कम गर्न भनेको थियो।

teku-jail4.jpg

काठमाडौं परिसरले जिम्मा जमानीमा ८ जनालाई छाडेको मुद्दा शाखाका डीएसपी कृष्ण चन्दले बताए। अन्य भने कोही पुर्पक्षका लागि कारागार चलान भएको र कोही अदालतबाटै धरौटी र साधारण तारेखमा छुटेका हुन्।

यस्तै पक्रनै पर्ने बाध्यता नभएका अभियुक्तहरुलाई लकडाउनका बेला नपक्रने समेत नीति लिएको छ। जसका कारण देशभर नै थुनुवा घटेका छन्। तर काठमाडौं प्रहरी परिसरको हिरासत भने २०१२ सालमा स्थापना भएदेखि कहिल्यै पनि खाली भएको थिएन।

hirasat27

काठमाडौंभर हाल ३२ जना मात्रै थुनामा छन्। पक्राउ गर्नैपर्ने भएकाले हाल उनीहरुलाई पक्रिएको काठमाडौं परिसरले जनाएको छ। डीएसपी चन्दका अनुसार बौद्धमा १०, थानकोटमा ६, कमलपोखरीमा ६, बानेश्वरमा ३, बालाजु, स्वयम्भु र गौशालामा २/२ र महाराजगन्जमा एक जना मात्रै थुनुवा छन्।

teku-jail2.jpg

१४ वृत्तसहित काठमाडौंका हिरासतमा ६ सय ५० जना थुनुवालाई राख्न सकिन्छ। काठमाडौंको हिरासत खाली भएपछि हिरासत कक्ष मर्मतसम्भार गरिएको छ। हिरासतमा भएका कपडा धुने, डिसइन्फेक्सन गर्ने र कोठाहरु रङरोगनको काम गरिएको छ।

लकडाउनपछि आपराधिक घटनामा समेत कमी आएको छ। लकडाउनका कारण नागरिक बाहिरफेर निस्कन नपाएको र प्रहरीको भने डिउटीमा तैनाथ रहेकाले अपराधमा कमी आएको प्रहरी बताउँछ।

614A8567.jpg

लकडाउन सुरु भएपछि काठमाडौंमा १ सय ७७ वटा घटना दर्ता भएपनि धेरैजसो पहिलेका हुन्। हद म्यादका कारण दर्ता नगरी नहुने भएकाले पुराना मुद्दा दर्ता गरिएको छ। पछिल्लो समय उपत्यकाका तीन वटै जिल्लामा आपराधिक घटनामा कमी आएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोख्रेलले बताए।

hirasat26
hirasat25
hirasat24
hirasat23
hirasat22

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .