ad ad

कारोबार


चहलपहल अनलाइन कक्षाको, इन्टरनेटमा पहुँच कति?

चहलपहल अनलाइन कक्षाको, इन्टरनेटमा पहुँच कति?

सन्तोष न्यौपाने
बैशाख २०, २०७७ शनिबार १०:४२,

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनपछि इन्टरनेट प्रयोगमा नयाँ ‘ट्रेन्ड’ देखिएको छ।

फेसबुक, ट्विटर, युट्युवजस्ता सामाजिक सञ्जालमात्र धेरै प्रयोग हुँदै आएको इन्टरनेट लकडाउन सुरु भएसँगै विभिन्न ‘कन्टेन्ट’ उत्पादनमा पनि प्रयोग हुन थालेको छ।

लामो समय विद्यार्थी घरमै बन्दी हुने अवस्था आएपछि कतिपय स्कुल तथा कलेजले ‘अनलाइन कक्षा’ सञ्चालन गर्न थालेका छन्। कार्यालय र व्यवसायिक काम घरबाटै हुन थालेका छन्।

औपचारिक रुपमा कुनै निश्चित स्थानमा भेला भएर गरिने बैठक, सभा, सेमिनार र कार्यक्रम अनलाइन कन्फ्रेन्सबाट हुन थालेका छन्।

यो नेपाली सञ्चार, सूचना तथा प्रविधि (आईसीटी) का लागि राम्रो संकेत हो। अझ यसले मोबाइल सेवा प्रदायक र इन्टरनेट व्यवसायिका लागि व्यवसाय फस्टाउने संकेत समेत देखाएको छ।

विभिन्न विद्यालय तथा कलेजहरुले विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न थालेको सन्दर्भमा नेपालमा हाल इन्टरनेको पहुँच कति छ र कति गुणस्तरीय छ भने हेर्न जरुरी छ।

के अनलाइन कक्षा सहरमा बस्ने, इन्टरनेट पहुँच भएका, ग्याजेटमा सुविधा भएकालाई मात्र हो त? यो गम्भीर प्रश्नमा पनि ध्यान दिनुपर्छ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो रिपोर्टअनुसार नेपालमा ‘ब्रोडव्यान्ड’ इन्टरनेटको ७२ प्रतिशत जनताको पहुँचमा पुगेको छ। यो भनेको हाम्रो हातहातमा रहेको थ्रिजी र फोरजी सेवा भएको मोबाइल इन्टरनेट र फिक्सड्लाइन (तार र ताररहित) सेवा हो।

यसमा पनि अधिकांश उपभोक्ता मोबाइल इन्टरनेटका छन्। ५५ प्रतिशतभन्दा धेरै मोबाइल ब्रोडव्यान्ड चलाइरहेको अवस्थामा १७ प्रतिशतले मात्र फिक्स्ड इन्टरनेट प्रयोग गरेको प्राधिकरणको विवरणमा उल्लेख छ।

अझ यो तथ्यांकलाई भित्रबाट हेर्ने हो भने धेरै उपभोक्ताले थ्रिजी इन्टरनेट चलाइरहेका छन्। थ्रिजी इन्टरनेटको पहुँचमा बसेको उपभोक्ताले कस्तो अनलाइन कक्षा लिन सक्लान?

सूचना तथा सञ्चार प्रविधि विज्ञ मनोहर भट्टराईले अहिले कै अवस्थामा पूर्णरुपमा अनलाइन कक्षामा जान नसकिने बताउँछन्। ‘वर्तमान परिस्थितिमा पुरानो कक्षालाई अनलाइन कक्षाले प्रतिस्थापन गर्न सकिने अवस्था छैन,’ नेपालखबरसँग कुरा गर्दैै भट्टराईले भने, ‘सबैमा इन्टरनेटको पहुँच नै छैन।’

पहुँच भएको इन्टरनेटमा पनि गुणस्तरमा सधै गुनासो आइरहन्छ। त्यस्तै, अभिभावक र विद्यार्थीमा इन्टरनेट चलाउने डिभाइसको पहुँच पनि नभएको हुँदा अनलाइन कक्षा सोचेजस्तो सजिलो नभएको भट्टराईले बताए।

‘सहरी इलाकामा इन्टरनेटमा केही राम्रो होला तर धेरै जनसंख्या यो सुविधाबाट बञ्चित छ,’ भट्टराई भने।

सुविसु केवल नेटका प्रेसिडेन्ट तथा इन्टरनेट सेवा प्रदायक संघका पूर्व उपाध्यक्ष सुधिर पराजुलीले फिक्स्ड इन्टरनेटको विस्तार सहरी क्षेत्रमा राम्रो भएको मान्छन्।

‘पछिल्लो समय इन्टरनेट सेवा प्रदायकबीच चर्को प्रतिस्पर्धा छ। जसले गर्दा ग्राहक बनाउने र गुणस्तर वृद्धिमा सहयोग पुगेको छ,’ उनले भने।

सहरी क्षेत्रमा इन्टरनेट पहुँच राम्रै भए पनि ग्रामीण क्षेत्रमा अझै पनि राम्रो इन्टरनेटको पहुँच छैन। धेरै उपभोक्ता थ्रिजी चलाएर बसिररहेका छन्। थ्रिजी चलाइरहेका उपभोक्ताले अनलाइन कक्षामा सहज पहुँच पुग्न गाह्रो हुन्छ।

१७ प्रतिशतमा फिक्स्ड ब्रोडव्यान्ड इन्टरनेट
फिक्स्ड इन्टरनेटको पहुँच हेर्ने हो भने आम उपभोक्तामा निकै कम मात्र छ। प्राधिकरणको विवरणमा उल्लेख भएअनुसार २०७६ पुस महिनासम्म १६ प्रतिशत फिक्स्ड ब्रोडव्यान्ड इन्टरनेटको पहुँच रहेको छ।
अझ ताररहित फिक्स्ड ब्रोडव्यान्ड त जम्मा ०.७६ प्रतिशतको पहुँचमा छ।

फिक्सड इन्टरनेटको विस्तार पनि धिमा गतिमा छ। गत एक वर्षको अवधिमा फिक्स्ड ब्रोडव्यान्ड इन्टरनेट बिस्तार पाँच प्रतिशतले वृद्धि भएको छ। प्राधिकरणको तथ्यांकअनुसार गत वर्ष पुस महिनामा फिक्स्ड ब्रोडव्यान्डको पहुँच ११ प्रतिशत रहेको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मुलुकमा १ सय २२ वटा इन्टरनेट सेवा प्रदायकले सञ्चालनको अनुमति लिइसकेका छन्। फिक्स्ड ब्रोडव्यान्ड इन्टरनेटमा एक ग्राहकबराबर ४ जना उपभोक्ता रहने मान्यता छ।

साथै, प्राधिकरणमा दर्ताका लागि निवेदन दिनेको संख्या झन्डै सय बराबर भइसकेको छ।

मुलुकमा अर्बौं लगानी गर्ने राष्ट्रिय स्तरका इन्टरनेट सेवा प्रदायकदेखि स्थानीयस्तरमा ‘लोकल’ इन्टरनेट सेवा प्रदायक पनि रहेका छन्।

५५ प्रतिशतमा मोबाइल ब्रोडव्यान्ड
इन्टरनेट पुहँचको तथ्यांक हेर्ने हो भने मोबाइल इन्टरनेटको पहुँच आधा जनसंख्याभन्दा केही धेरैमा पुगेको देखिन्छ। प्राधिकरणको पछिल्लो विवरणअनुसार मुुलुकभर मोबाइल ब्रोडव्यान्ड ५५.३० प्रतिशतमा पुगेको छ।

प्राधिकरणले थ्रिजी र फोरजी इन्टरनेटलाई ब्रोडव्यान्ड इन्टरनेटका रुपमा मानेको छ।

फिक्स्ड इन्टरनेटभन्दा मोबाइल इन्टरनेटको पहुँचको विस्तार धेरै छ। एक वर्षको अवधिमा यस्तो इन्टरनेट झन्डै ११ प्रतिशतले वृद्धि भएको छ।

गत वर्ष पुस महिनामा मोबाइल ब्रोडव्यान्डको ४४.३६ प्रतिशतमा रहेको थियो।

मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले पछिल्लो पटक फोरजीको विस्तार गरेसँगै मोबाइल ब्रोडव्यान्डको पहुँच र खतप धेरै बढेको छ।

मुलुकभर झन्डै आधा जनसंख्याले थ्रिजी इन्टरनेट चलाइरहेको छ। प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपाल टेलिकम र एनसेलका गरी १ करोड १६ लाख ५८ हजारले थ्रिजी इन्टरनेट चलाइरहेका छन्।

त्यस्तै नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमका ४५ लाख २७ हजारले फोरजी चलाइरहेका छन्। नेपाल टेलिकमको थ्रिजी र फोरजी दुबैका ग्राहक ९२ लाख ६४ हजार रहेका छन्। त्यस्तै एनसेलका ग्राहक ६६ लाख ६४ हजार रहेको विवरणमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .