ad ad

कारोबार


गौशाला–चाबहिल सडकमा बिजुली तार भूमिगतपछि मात्रै कालोपत्रे हुने

गौशाला–चाबहिल सडकमा बिजुली तार भूमिगतपछि मात्रै कालोपत्रे हुने

वसन्त अर्याल
बैशाख २१, २०७७ आइतबार ७:६,

गौशाला–चाबहिल–चुच्चेपाटीमा कालोपत्रेको काम पुनः रोकिएको छ। विद्युत प्राधिकरणले उक्त सडक खण्डमा विद्युतीय तारलाई भूमिगत बनाउने भनेपछि काम रोकिएको हो।

सडक डिभिजन कार्यालय काठमाडौंले खानेपानीको पाइप बिछ्याई कालोपत्रेको तयारी गर्दा विद्युत् प्राधिकरणको ढिलाइले काम सुरु हुनसकेको छैन।

‘विद्युत् प्राधिकरणले छिट्टै काम सक्ने बताएको थियो’, सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपालीले नेपालखबरसँग भने, ‘प्राधिकरणले सरासर काम गर्न सकेन, हाम्रो काम रोकियो।’

नेपाल विद्युत् प्राधिकरणले आइतबारबाट विद्युतीय तारलाई भूमिगत बनाउने काम सुरु भएको बताएको छ।

‘केही समस्या थियो। आजबाट काम सुरु भएको छ’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘बढीमा १५ दिनमा काम सकिन्छ।’

घिसिङले आफूहरुको कारणले मात्रै पिच गर्ने काम नरोकिने बताए।

‘हाम्रो काम सुरु भएसँगै उहाँहरुले पनि काम सुरु गर्न सक्नुहुन्छ’, उनले भने ।

प्राधिकरणले पनि गौशाला–चाबहिल–चुच्चेपाटीसम्म विद्युतीय तारलाई भूमिगत बनाउन लागेको उनले बताए।

पिच गर्न निर्माण सामग्री छैन
उक्त सकड खण्डमा पिच गर्नको लागि आवश्यक पर्ने निर्माण सामग्री पनि ल्याउन नसक्दा अर्को समस्या रहेको छ।

‘लकडाउनको बीचमै पिच गर्ने भनेर निर्माण सामग्री ल्याउन काभ्रे पठाएका थियौं। तर केही स्वार्थ समूहले निर्माण सामग्री ल्याउन दिएन। समय खेर गयो’, नेपालीले भने।

काभ्रे जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहको समन्वयमा काठमाडौंबाट ७ टिप्पर गिट्टी, बालुवा तथा ढुंगा ल्याउनको लागि गएका थिए। तर त्यहाँका वडाका पदाधिकारीले गिट्टी बालुवा उठाउन दिएनन् ।

‘हामीले समन्वय गरेको हो। स्थानीयले नमानेपछि अहिले जबर्जस्ती गर्ने अवस्था रहेन। अर्को विकल्प खोज्न भनेका छौं’, जिप्रकाका सीडीओ श्रवणकुमार तिमिल्सिनाले भने।

नेपालीले क्रसर उद्योग सञ्चालनमा नरहेकाले ‘स्टक’मा रहेका गिट्टी बालुवा उठाउनुपर्ने बताए।

‘अर्को विकल्पबाट ल्याउनको लागि सहज छैन । सामग्री उपलब्ध छैन। अहिले धादिङका केही ठाउँबाट थोरै मात्रमा गिट्टी, बालुवा पाएका छौं। त्यसैले काम चलाइरहेका छौं।’

चाबहिल–गोपीकृष्ण खण्डमा कालोपत्रे सकिँदै
गौशाला–चाबहिल–चुच्चेपाटीमा काम हुन नसके पनि त्यही आयोजनाको चाबहिल–गोपीकृष्ण खण्डमा भने कालोपत्रे सुरु भएको छ। सडक डिभिजन कार्यलय काठमाडौंले वैशाखभित्र उक्त चाबहिल खण्डका सबै काम सक्ने बताएको थियो।

‘चाबहिल गोपीकृष्ण खण्डमा शनिबारबाट काम सुरु भएको छ’, नेपालीले भने, ‘आइतबार काम सकिन्छ। बाँकी खण्डको काम प्राधिकरणले कहिले काम गर्छ, त्यसमा भरपर्छ।’

डिभिजन कार्यालय काठमाडौंले ओभर–लेका काम चलिरहेको बताएको छ। निर्माण सामग्रीको अभाव हुँदा तीव्रगतिमा काम हुन नसके पनि पुतलीसडक, मैतीदेवीमा निरन्तर काम भइरहेको छ।

सोमबारदेखि नारायण गोपाल चोक चक्रपथ खण्डमा काम हुने नेपालीले बताए।

सडक विस्तार आयोजनाका पनि काम सुरु
उपत्यका सडक विस्तार आयोजनाले आफ्ना मातहतका केही काम सुरु गरेको बताएको छ। आयोजनाले जोरपाटी–सुन्दरीजल, गोदावारी खण्ड र चापागाउँमा काम भइरहेको बताएको छ।

सडक विस्तार आयोजना प्रमुख गुरु अधिकारीले भने, ‘जोरपाटी–सुन्दरीजल खण्डको सडकमा रुख काट्ने काम बाँकी थियो। त्यो सुरु भएको छ। त्यस्तै ढल निकासका लागि ह्विमपाइप बिछ्याउने काम पनि सुरु भएको छ।’

उनले जोरपाटी–साँखु खण्डमा भने काम गर्नको लागि समन्वय भइरहेको बताए। ‘स्थानीयले बाहिरबाट श्रमिक ल्याउन नदिने भनेपछि स्थानीय तहसँग समन्वय गरिरहेका छौं। बाहिरबाट श्रमिक ल्याउन नदिए पनि त्यही क्षेत्रमा बसेका श्रमिकलाई काम गर्न दिने विषयमा कुरा भइरहेको छ’, अधिकारीले भने।

चाबहिल, बौद्ध, सुन्दरीजल, साँखुका सडकमा लामो समयदेखि काम हुनसकेको छैन। काठमाडौंका अन्य मुख्य सडक मर्मतसम्भार र रंगरोगनपछि आकर्षक भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .