ad ad

कारोबार


एक लाख २१ हजार मेट्रिक टन चामल मौज्दात

एक लाख २१ हजार मेट्रिक टन चामल मौज्दात

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १३:७,

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी एक लाख एक्काइस हजार मेट्रिक टन चामल मौज्दात रहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग अठार हजार ४३६ र निजी क्षेत्रका उद्योगसँग एक लाख एकाइस हजार छ मेट्रिक टन गरी कुल एक लाख एक्काइस हजार छ मेट्रिक टन चामल मौज्दात छ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा तीन हजार ५६६ मेट्रिक टन चामल, ६१० क्विन्टल फापर र ५३४ क्विन्टल सिमी मौज्दात छ। त्यस्तै मुलुकका विभिन्न स्थानमा रहेका ठूला चामल उद्योग र कृषकसँग एकसठ्ठी हजार ५४ मेट्रिक टन धान मौज्दात रहेकाले चामल उत्पादनमा कुनै समस्या नरहेको उनले जिकिर गरिन्। मन्त्रालयको तथ्यांकानुसार निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ र चना सोह्र हजार ८१ मेट्रिक टन मौज्दात छ।

पाँच हजार मेटन तेल मौज्दात
मन्त्रालयको तथ्यांकानुसार निजी क्षेत्रका तेल उद्योगसँग पाम आयल ४८६ मेट्रिक टन, पामोलिन एक हजार ९१९ मेट्रिक टन र सोयाबिन तेल एक हजार ६१६ मेट्रिक टन मौज्दात छ। त्यस्तै सूर्यमुखी तेल ८४६ मेट्रिक टन मौज्दात तथा छ हजार ३४६ मेट्रिक टन आयातका क्रममा छ। कोलकातामा समेत ७० हजार ८६६ मेट्रिक टन तेल मौज्दात छ।

राहत वितरण
लकडाउनका अवधिमा कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले स्थानीय तहको मागानुसार खाद्य पदार्थको बिक्रीवितरण समेत गरेका छन्। मन्त्रालयको तथ्यांकानुसार कम्पनीले २९ जिल्लामा तीस हजार ८२६ दशमलव ३६ क्विन्टल चामल बिक्रीवितरण गरेको छ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले पैँसठ्ठी हजार ६५३ किलो नुन, पैँतालीस हजार ६११ लिटर तेल, पाँच लाख छब्बीस हजार २८५ किलो चामल, त्रियानब्बे हजार २३० किलो दाल र त्रिसठ्ठी हजार ६४० किलो चिउरा बिक्री गरेको छ। कर्पोरेशनले सत्र हजार चार सय किलो चिनी, सात ब्याग पिठो, त्रिसठ्ठी हजार ८२ साबुन, सय किलो चिया, ५५० किलो मस्यौरा गरी आठ लाख ७५ हजार ५५८ किलो खाद्य पदार्थ र अन्य वस्तु स्थानीय तहहरुलाई राहतस्वरुप बिक्री गरेको छ।

मौज्दात चिनी ६७ हजार मेटन
कर्पोरेशनका विभिन्न डिपोमा आइतबारसम्म तीन हजार ६०३ मेट्रिक टन चिनी मौज्दात छ। त्यस्तै निजी उद्योगसँग त्रिसठ्ठी हजार २०७ मेट्रिक टन चिनी मौज्दात रहेको छ। एक लाख त्रिपन्न सत्चालीस हजार ७४० मेट्रिक टन नून आयात प्रक्रियामा रहेको छ। विभिन्न दुर्गम जिल्लामा दुई हजार ४३० मेट्रिक टन आयोडिनयुक्त नून मौज्दात छ। लकडाउनका अवधिमा कम्पनीले काठमाडौं उपत्यकाका रामशाहपथ, नख्खु, थापाथली, भक्तपुर र ललितपुरस्थित बिक्री केन्द्रका साथै घुम्ती सेवा (मोवाइल भ्यान) र अनलाइनमार्फत उपभोक्ताको माग अनुसार खाद्य पदार्थ बिक्रीवितरण गर्दै आएको छ।

कम्पनीले देशका आठ अञ्चल कार्यालयसहित आधुनिक चामल कारखाना, राजापुरलगायत देशका विभिन्न स्थानमा २६ शाखा कार्यालयका साथै दुर्गम जिल्लाका विभिन्न स्थानमा ५९ डिपो कार्यालय÷बिक्री केन्द्र एवं सहकारी डिलरबाट खाद्य पदार्थ बिक्रीवितरण गर्दै आएको छ। साल्ट ट्रेडिङले लकडाउन अवधिमा ललितपुर, कालीमाटी, सतुंगल, कोटेश्वर, भक्तपुर र बनेपास्थित बिक्री केन्द्रका घुम्ती सेवा पसलमार्फत जनघनत्व र उपभोक्ताको माग भएका स्थानलाई प्राथमिकतामा राखेर खाद्य पदार्थ तथा अन्य सामग्री बिक्रीवितरण गर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .