ad ad

कारोबार


लकडाउनले थला परेका वायुसेवा कम्पनीलाई चार्टर्ड उडानले राहत

लकडाउनले थला परेका वायुसेवा कम्पनीलाई चार्टर्ड उडानले राहत

वसन्त अर्याल
बैशाख ३१, २०७७ बुधबार १०:१०,

लकडाउनले आफ्नो अस्तित्व जोगाउन हम्मे–हम्मे परिरहेका बेला हवाइ कम्पनीहरुलाई चार्टर्ड उडानले केही राहत मिलेको छ।

०७६ चैत ११ देखि पूरै उडान ठप्प भएदेखि अत्यावश्यक कामको लागि विशेष अनुमति लिई जहाज तथा हेलिकप्टरले उडान भर्दै आएका छन्।

पर्यटक उद्धार, स्वास्थ्य सामग्री ओसारपसार लगायतका काममा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान भएका कारण कम्पनीहरुलाई राहत मिलेको हो। विभिन्न देशले आफ्ना नागरिक लैजान चार्टर्ड उडान गरेका छन्। जसमा नेपाली एयरलाइन्स कम्पनीहरुले पनि अन्तर्राष्ट्रिय उडान गर्न पाएका छन्।

अन्तर्राष्ट्रिय उडान सबैभन्दा बढी नेपाल एयरलाइन्सले गरेको छ।

‘थोरै राहत त अवश्य नै भइरहेको छ’, नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘चार्टर्ड उडानले गर्दा निगम कोषमा रकम जम्मा भइरहेको छ।’

नेपाल एयरलाइन्सले लकडाउनअघि हप्तामा दिल्ली १४, दोहा ७ वटा, मलेसिया ७, दुवई ५ वटा, बैंकक, हङकङ, ब्यांग्लोर, बम्बाई र नारितामा हप्ताको ३/३ उडान गरिरहेको थियो।

लकडाउनपछि नेपाल एयरलाइन्सले ११ अन्तर्राष्ट्रिय र ११ आन्तरिक चार्टर्ड उडान गरेको छ।

जापानमा ३ चार्टर्ड उडान हुँदै
यसैबीच, निगमले जापानको लागि ३ वटा चार्टर्ड उडान बुकिङ भइसकेको बताएको छ। मे १५, १७ र २२ तारिखमा जापानी नागरिक काठमाडौंबाट लगेर जाने निगमले जनाएको छ।

‘चार्टर्ड उडानमा निश्चित दर लिएर उडान गरिरहेका हुन्छौं। चार्टर्ड उडानको रेट घण्टाको दरमा लिनेगरेका छौं। हाम्रो सबै खर्चबाट केही नाफा राखेर उडान गर्छौं’, खड्काले भनिन् ‘दैनिक उडानमा कहिले बढी कमाइ हुन्छ, कहिले कम। फिक्स रेट हुँदा बढी नाफा हुने सम्भावना हुन्छ।’

५३ अन्तर्राष्ट्रिय उडान
नेपाली एयरलाइन्स र विदेशी गरी लकडाउनपछि मंगलबारसम्म ५३ उडान भएका छन्।

‘चैत १०देखि वैशाख ३० सम्म ५३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्’, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘१८ वटा कार्गो उडान मात्रै भएका छन्।’

कार्गो उडानमा १३ चीन, २ युएई, सिंगापुर, दुवई र कतारमा १/१ वटा भएका छन्। यी सबै कार्गो जहाजले स्वास्थ्य सामग्री लिएर आएका हुन्।

अन्तर्राष्ट्रिय उडानमा कतार एयरवेजले त्रिभुवन विमानस्थलमा ११ उडान गरेका छन्। त्यसबाहेक टाइटन ३, इत्तिहाद २, एयर अरेबिया २, कोरियन, चेक, मालिन्डो, मलेसियन, ड्रुक एयर, रोयल फ्लाई एयरलाइन्स रुस, श्रीलंका एयर, थाई लाइन, एयर चाइना, चाइना साउदर्न र पाकिस्तान एयरलाइन्सले १/१ अन्तर्राष्ट्रिय उडान गरेका छन्।

त्यस्तै नेपाली एयरलाइन्स कम्पनीहरुमा सबैभन्दा बढी नेपाल एयरलाइन्सले ११ अन्तर्राष्ट्रिय उडान भरेको छ भने हिमालय एयरलाइन्सले ग्वान्झाउ, खान्सा, चिङक्विङ, कुनमिङ गरी ७ उडान भरेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ।

व्याव्यसायिक रुपमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका थिए। बुद्ध एयरले पनि भारतमा गर्दै आएको थियो।

लकडाउनको अवधिमा बुद्ध एयरले ३ वटा उडान बंगलादेशमा गरेको छ भने श्री एयरलायन्सले २ वटा उडान सुडान र सिंगापुरमा चार्टर्ड उडान गरेका छन्।

करिब २ सय आन्तरिक उडान
विदेश जाने पर्यटक उद्धारको लागि लकडाउनको समयमा पनि आन्तरिक उडान उल्लेख्यमात्रामा भएको छ। विशेष अनुमति लिएर लकडाउन सुरु भएको मार्च २४ देखि १२ मे (मंगलबार)सम्म १ सय ९७ वटा चार्टर्ड उडान भएको प्राथिकरणको तथ्याङ्क छ।

आन्तरिक हवाइ कम्पनीहरुले पर्यटकको उद्धार, खाद्यान्न ढुवानी, कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री, चिकित्सक टोलीलगायतलाई विभिन्न ठाउँमा पु¥याउन हवाइ जहाज तथा हेलिकप्टर उडान भएको हो।

हेलिकप्टरहरुले विशेष अनुमति लिई बिरामी ओसारपसार गरेको, भीभीआईपी उडान लगायत पनि यसमा समावेश छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .