ad ad

कारोबार


माथिल्लो तामाकोशीः सकिनै लाग्यो ठाडो सुरुङको काम

माथिल्लो तामाकोशीः सकिनै लाग्यो ठाडो सुरुङको काम

रमेश लम्साल
जेठ ११, २०७७ आइतबार १२:३,

सरकारले कोरोनाको महामारी रोक्न लकडाउन गरेको आइतबार ठ्याक्कै ६२ दिन भयो। मुलुकको सम्पूर्ण आर्थिक क्रियाकलाप प्राय ठप्प छ। नागरिक घरभित्रै छन्। पेशा व्यवसायमा समेत कोरोनाले कहर निम्त्याइदिएको छ। देशभित्र पनि कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ।

कोरोना कहरका बीचमा पनि घरभित्र रहेका नेपाली नागरिकलाई आशाको सञ्चार भर्ने केही काम भने नियमित भइरहेका छन्। विपद्सँग जुध्दै भएका कामले नेपाली नागरिकलाई एकखालको आत्मविश्वास भरिदिएको छ। त्यसले सरकारी निकाय काममा छन् र उनीहरुले नेपाली जनतालाई लकडाउनमा पनि विश्वास भर्न अभिप्रेरित छन् भन्ने देखाएको छ।

लाखौँ नेपालीको आशा र भरोसाको केन्द्रविन्दुमा रहेको माथिल्लो तामाकोशीले लकडाउनमा दिएको सन्देश घरभित्रै बस्न बाध्य भएका नेपालीलाई हर्षित तुल्याउने खालको छ। आयोजनामा लगानी गर्ने शेयरधनीको संख्या १० लाख बढी छन्। नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो। कोरोनाको संक्रमण हुन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आयोजनाको काम केही समय प्रभावित भयो। एकाध दिन रोकिए पनि आयोजनाले सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम चालू नै राखिएको छ। यसअघि तय गरिएको कार्यतालिकामा निर्माण सकिएको भए दैनिक करिब रु पाँच करोड बराबरको क्षतिसमेत नहुने अवस्था आउने थियो।

विषम अवस्थामा पनि केही भौतिक निर्माणका आयोजना भने आफ्नै रफ्तारमा अगाडि बढेका छन्। प्रगति पनि लोभलाग्दो देखिएको छ। देशको आर्थिक समृद्धिमा समेत महत्वपूर्ण स्थान राख्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम यतिखेर पनि जारी छ। लकडाउनमा पनि काम भइरहेको छ? हो, आम मानिसले सोचेभन्दा भिन्नै तरिकाले माथिल्लो तामाकोशीको काम धमाधम भइरहेको छ। मन्त्रिपरिषद्को गत वैशाख २४ गतेको निर्णयपछि त झन् आयोजनालाई थप सहज भएको छ।

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार सबैभन्दा जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनको समयमा उल्लेख्य प्रगति भएको छ। कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये अब बाँकी ६० मिटर मात्रै छ। गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो। कूल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान सम्पन्न भएको छ। पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ। एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले आगामी असारसम्म ठाडो सुरुङमा पाइप जडानको काम सम्पन्न हुनेछ।

तल्लो ठाडो सुरुङको काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरिरहेको छ। यस्तै कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले पनि लकडाउनको समयमा आफूलाई अब्बल सावित गरेको छ। प्राप्त विवरणअनुसार कूल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये हालसम्म २५० मिटरमा पाइप जडान भइसकेको छ । अब सो सुरुङमा मात्रै ६० मिटर पाइप जडान गर्न बाँकी छ। सोमबार र मंगलबार पनि पाइप जडान गर्ने कार्यतालिका रहेकाले अब ५४ मिटरमा झर्नेछ। पाइप जडानको काम प्रभावकारीरूपमा अगाडि बढेको र एउटा पाइप जडानका लागि पाँच कार्य दिन लाग्ने गरी व्यवस्थापन मिलाइएकाले आगामी असारको पहिलो सातासम्म सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान सकिने प्रवक्ता डा न्यौपानेले जानकारी दिए।

यस्तै आयोजनाको सुरुङको तेर्सो स्थानमा जडान हुने केही पाइपको पनि जडानको काम अगाडि बढ्नेछ भने घुमेको पाइप जडानको काममा समेत गति दिने तयारी गरिएको छ। यस्तै सुरुङमा क्रङ्क्रिट लाइनिङ र ग्राउटिङको कामसमेत भइरहेको छ। केही सामान भने भारतीय ठेकेदार कम्पनी टेक्सम्याको कारखानामा रहेका कारण लकडाउनका कारण आयात गर्न समस्या परेको छ। प्रवक्ता न्यौपानेले सिमेन्ट र की अत्यावश्यक सामग्री आयातका लागि सहजीकरण गरिदिन गृह मन्त्रालयलाई आग्रह गरिएको बताए।

राष्ट्रिय गौरवको आयोजना भएकाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर निर्माण सामग्रीको ढुवानीको प्रबन्ध गरिदिएकाले पनि थप सहजता पैदा भएको छ। आयोजनाले यसअघि केही अत्यावश्यक सिमेन्ट, रडलगायत सामग्रीको नियमित आपूर्ति गरेको थियो। आयोजनास्थलमा लकडाउनको समयमा समेत झण्डै ६५० श्रमिक हाल पनि कार्यरत छन्।

केही श्रमिकले भने घर जान पाए हुन्थ्यो भन्ने माग आयोजनासमक्ष राखेका छन्। उनीहरुलाई उत्प्रेरित गरेर काममा लगाइएको जानकारी प्राप्त भएको छ। लकडाउनका कारण यही वैशाखमै पाइप जडानको काम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि केही दिन काम बन्द हुँदा समयसीमा पर सरेको हो।

यस्तै ठाडो सुरुङमा पाइप जडानका अलावा त्यसको गास (जोड्ने स्थान) मा पनि पाइप जडान गर्नुपर्ने काम बाँकी छ। सो काममा लागि थप १५ दिन लाग्ने भएकाले असारभरिमा निर्माणको काम सम्पन्न गर्ने तयारीमा आयोजना छ। यस्तै विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री भने जडान गरेर तम्तयारी हालतमा राखिएको छ। पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरणसमेत जुटेको छ। एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने छ। आयोजनामा कूल छ वटा विद्युत् उत्पादन गर्ने युनिट रहेका छन्।

माथिल्लो तामाकोशी यस्तो आयोजना हो, जहाँ सुरक्षाका सम्पूर्ण उपाय अपनाएर लकडाउनमा समेत काम भइरहेको छ। जुन अन्य आयोजनाका लागि समेत अनुकरणीय देखिएको छ। काम भइरहँदा आयोजनाका पदाधिकारीलाई अन्य कुराले भन्दा पनि निर्माण सामग्रीको ढुवानी रोकिँदा भने समस्या आइलाग्छ कि भन्ने चिन्ताले भने अहिले पनि सताइरहेको छ। सो समस्यासमेत हल भएको खण्डमा चालू आवको अन्त्यसम्म आयोजना निर्माण सम्पन्न हुने चरणमा पुग्नेछ । सबै व्यवस्था मिलेको खण्डमा राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पहिले सकिने आयोजनाका रूपमा माथिल्लो तामाकोशी चित्रित हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय दोलखाले आयोजनालाई सहजीकरण गरिरहेको छ । अत्यावश्यक पास तथा अन्य सुविधासमेत उपलब्ध गराएको छ । आयोजनाको महत्व र गाम्भीर्यतालाई बुझेर जिल्ला प्रशासन कार्यालयले आवश्यक सहयोग गरेको छ। आयोजनामा कार्यरत श्रमिकलाई व्यक्तिगतरूपमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ। प्रवक्ता न्यौपानेका अनुसार बाँधतर्फको सिभिलको काम पूरा भएको छ। हाइड्रोमेकानिकल गेट राख्ने तयारी गरिएको छ।

सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ। पछिल्लोपटक यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेका कारण पनि थप सहजता भएको छ। आयोजनास्थलमा एक एम्बुलेन्स अनिवार्यरूपमा राख्नैपर्ने, निर्माणस्थलमा खटिएका कामदारलाई आइसोलेसनमा बसेजस्तै गरी स्थानीयवासीसँगको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै आयोजनास्थलमा एक मेडिकल टिम अनिवार्यरूपमा राख्ने व्यवस्था गरिएको छ। कुनै स्वास्थ्य समस्या देखिनेबित्तिकै उपचारको प्रबन्ध गर्न व्यवस्था गरिएको छ। कोभिड–१९ समन्वय समितिको बैठकले ठूला आयोजना तथा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको छ। सोही आधारमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशीको काम चालू हालतमा छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनका अनुसार निर्माण सामग्री आयातमा समेत सहजीकरण गरिएको छ। मन्त्री पुनका अनुसार ठूला आयोजनामा काम गर्ने वातावरण गत चैत २० गतेदेखि नै मिलाइएको थियो। ऊर्जाका आयोजना मात्रै नभइ अन्य खालका उद्योग सञ्चालन गर्ने भन्ने निर्णय भएअनुसार नै प्रक्रिया अगाडि बढाइएको मन्त्री पुनको भनाइ छ। विशेषगरी कोरोनाको सङ्क्रमण फैलन नदिन श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने विषय प्रमुख प्राथमिकतामा छ। अन्य नागरिकसँग घुलमिल नहुने वातावरण बनाउने, हरेक आयोजनामा एक एम्बुलेन्स र मेडिकल युनिट रहनैपर्ने व्यवस्था गरिएको छ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव चार प्रतिशत पुगेको छ। निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजनाको कामलाई निरन्तरता दिन अत्यावश्यक निर्माण सामग्री ढुवानीका लागि गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाइदिएको छ। यस्तै प्रसारण लाइन निर्माण र सवस्टेशनको कामसमेत सम्पन्न हुने चरणमा पुगेको छ। कूल २२० केभी क्षमताको प्रसारण लाइन निर्माण सकिएको भए पनि केही मल्टिसर्किटका टावर भने निर्माण गर्न बाँकी छ। त्यस्तै न्यूखिम्ती सवस्टेशनमा भने कामदारको अभावले निर्माणको काम रोकिएको छ। आर्थिक समृद्धिको लक्ष्यमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको माथिल्लो तामाकोशीबाट एकाध महिनामा विद्युत् उत्पादन हुने विश्वास गर्न सकिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .