ad ad

कारोबार


लकडाउनको साढे २ महिना बित्यो, सरकारले व्यवसाय सञ्चालन कार्यविधि बनाउन सकेन

लकडाउनको साढे २ महिना बित्यो, सरकारले व्यवसाय सञ्चालन कार्यविधि बनाउन सकेन

वसन्त अर्याल
जेठ २२, २०७७ बिहिबार ८:२८,

सरकारले लकडाउन गरेको साढे २ महिनासम्म पनि व्यवसाय सञ्चालन कार्यविधि बनाउन नसक्दा व्यवसायीदेखि सर्वसाधारणसम्म आक्रोशित हुनथालेका छन्। ०७६ चैत ११ देखि लकडाउन गरेर सरकार चुपचाप बसेको उनीहरुले आरोप लगाएका हुन्।

देशका विभिन्न ठाउँमा व्यवसायीहरुले लकडाउन उल्लंघन गर्दै धेरै ठाउँमा बुधबारबाट खोल्नथालेका छन्। बिहीबार काठमाडौंका अधिकांश ठाउँमा पसलहरु खुलेका छन्।

घरबेटीले भाडा माग्ने र सरकारले कर तिर्न उर्दी जारी गरेको भन्दै व्यवसायी आक्रोशित बनिरहेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले लकडाउनले भन्दा पनि भोकमरीले मर्ने बढी हुने भएकोले पसल खोलेको बताए।

‘लकडाउनले भन्दा पनि भोकमरीले मर्ने बढी हुने भए, अब पसल खोल्नुको विकल्प रहेन’, उपाध्यक्ष प्रधानले भने, ‘सरकारलाई कर उठाउन हतार भयो कर तिर्नको लागि पनि व्यवसाय सञ्चालन त गर्नु नै पर्यो।’

उनले व्यवसायीहरुले साढे दुई महिनादेखि सरकारको कानुन मानेरै बसेको भन्दै अब त सरकारले विकल्प दिनुपर्ने बताए।

सरकारले भने लकडाउनपछिको अवस्था कस्तो हुने भन्दै छलफल सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुलाई बोलाएर यसबारे छलफल समेत गरेका थिए।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र, कोरोना रोकथाम उच्चस्तरीय समितिले पनि कार्यविधिको विषयमा अझै छलफल गरिरहेको छ।

व्यवसायीहरुले सरकारले साढे दुई महिनासम्म के हेरेर बसेको भन्दै अहिलेसम्म कार्यविधि नबनाएकोमा प्रश्न गरेका छन्।

‘व्यापार व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले कार्यविधि बनाउँदै छ’, वाणिज्य विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले भने, ‘हामीले सचिव वैकुण्ठ अर्याललाई कार्यविधिको सुझाव पनि दिएका छौं। अन्तिमरुप दिई मन्त्रिपरिषदले छिट्टै सार्वजनिक गर्ला।’

महानिर्देशक सुवेदीले सबै व्यवसाय एकैपटक खोल्नेभन्दा पनि चरणबद्धरुपमा खोल्ने गरी छलफल भइरहेको बताए।

यसका अलावा सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा पनि केही निर्णय गर्न सकेको छैन। यातायात व्यवस्था विभागले मस्यौदा तयार गरी छलफल चलाए पनि पास भइसकेको छैन। यातायात सञ्चालन नभए कुनै व्यवसाय पनि चलायमान नहुने व्यवसायीहरुले बताउँदै आएका छन्।

पर्यटन व्यवसाय सञ्चालन कार्यविधि २ महिनादेखि छलफलमै
पर्यटन बोर्डले लकडाउन सुरु भएको केही समयपछि देशका विभिन्न ठाउँमा अलपत्र परेका पर्यटक उद्धारको काम अघि बढाएको थियो। उद्धारपछि बोर्डले लकडाउनपछि पर्यटन व्यवसाय कसरी सञ्चालन गर्ने भनेर मस्यौदा बनाई छलफल चलायो। होटल तथा रेष्टुरेन्ट, टे«किङ ऐजेन्सी, टुर एण्ड ट्राभल एजेन्सी, रेफ्टिङलगायतका पर्यटन व्यवसायीका छाता संगठनसँग छलफल गरी अन्तिम मस्यौदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ।

‘हामीले सबै व्यवसायी संघ/संस्थासँग छलफल गरी कार्यविधिको अन्तिम मस्यौदा मन्त्रालयमा पठाएका छौं’, पर्यटन बोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मीले भने, ‘मन्त्रालयले आवश्यक छलफल गरी पारित गर्छ, त्यसपछि कार्यान्वयनमा आउँछ।’

रेष्टुरेन्ट एण्ड बार व्यवसायी संघ (रेबन)का अध्यक्ष अरनिको राज भण्डारीले कार्यविधि कहिले पास हुने भन्दै प्रश्न गरे। ‘पहिले त रेष्टुरेन्ट एण्ड बार सञ्चालनसम्बन्धी कार्यविधि पारित हुनुपर्यो’, अध्यक्ष भण्डारीले भने, ‘त्यसपछि बल्ल कसरी लागू गर्न सकिन्छ हेर्नुपर्छ।’

‘स्थानीय सरकारको समन्वयमा व्यवसाय खोलेका हौं’
संघीय सरकारले व्यवसाय सञ्चालन कार्यविधि नबनाए पनि स्थानीय सरकारको समन्वयमा व्यापार व्यवसाय खोल्न थालेको व्यवसायीको दाबी छ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रधानले सम्बन्धित ठाउँका व्यवसायीका संघ÷संस्था र स्थानीय प्रशासनको अनुमतिमा पसल सञ्चालन भएको दाबी गरे।

‘हामीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई २१ गतेबाट व्यवसाय खोल्न सुरु गर्छौं भनेर जानकारी गराएका थियौं’, प्रधानले भने, ‘आजभोलिमा सबै व्यवसाय खुल्छन्।’

उनले जिल्ला वाणिज्य संघहरुले प्रशासन कार्यालय वा पालिकाको समन्वयमा दैनिक ४/५ घण्टा व्यवसाय खोलेको बताए। व्यवसायीले आफूखुसी पसल खोले कोरोना संक्रमण झन् फैलिन्छ नि भन्ने प्रश्नमा प्रधानले भने, ‘अहिले स्थानीय सरकारसँग मिलेर सुरक्षित तवरमा व्यवसाय खोलेका छौं। संघीय सरकारले कार्यविधि बनाएर पछि त्यो पालना गरी व्यवसाय गर्छौं।’

रेवानका अध्यक्ष भण्डारीले सरकारलाई दबाब दिनको लागि केही ठाउँमा व्यवसाय खोलेको बताए। उनले धेरै रेष्टुरेन्ट व्यवसायीहरुले सदाको लागि बन्द गर्ने अवस्थामा आइपुगेको बताए।

‘लकडाउन खोल्न सरकारलाई दबाब दिनको लागि व्यवसाय खोलेका हौँ’, उनले भने, ‘सरकारले औपचारिक रुपमै लकडाउन खोलेर कार्यविधिअनुसार व्यवसाय गर्न दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .