ad ad

कारोबार


विदेशबाट नेपाली ल्याउन हिमालय र नेपाल एयरलाइन्सका ८ जहाज तयार

विदेशबाट नेपाली ल्याउन हिमालय र नेपाल एयरलाइन्सका ८ जहाज तयार

वसन्त अर्याल
जेठ २३, २०७७ शुक्रबार ७:२४,

कोभिड १९ को कारण विदेशमा अलपत्र परेका नेपाली ल्याउन व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान गरेका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले ४/४ जहाज उडानको लागि तयार रहेको जनाएका छन्।

दुवै एयरलाइन्सले भाडादर र दैनिक नेपाली ल्याउन सकिने विवरणसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रस्ताव पेश गरेका हुन्।

नेपाल एयरलाइन्सले २ वटा वाइडबडी छ भने २ वटा न्यारोबडी जहाज छ। त्यस्तै हिमालयले ४ न्यारोबडी जहाज उडानको लागि तयार रहेको बताएको छ।

नेपाल वायुसेवा निगम (नेपालएयरलाइन्स)की प्रवक्ता अर्चना खड्काले निगमले विस्तृत प्रस्ताव पेश गरेको जानकारी दिइन्।

‘हामीले दैनिक ल्याउनसक्ने क्षमता र भाडादर प्रस्ताव गरेका छौं’, खड्काले भनिन्, ‘तर अन्तिम भाडादर कति हुने भन्ने टुंगो सीएमसीले गर्छ।’

उनले अहिले प्रस्तावित भाडादर परिवर्तन हुनसक्ने भन्दै सरकारले पारित गरेपछि मात्रै विस्तृत कुरा भन्नसक्ने बताइन्।

मन्त्रालय स्रोतका अनुसार वाइडबडीको प्रतिघण्टा १८ हजार डलर र न्यारोबडीको साढे ८ हजार डलर भाडा प्रस्ताव गरिएको छ। जुन भाडादर दैनिक उडानभन्दा महंगो हो।

त्यस्तै हिमालय एयरलाइन्सले ४ जहाज उडानको लागि तयार रहेको प्रस्ताव पेश गरेको उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।

‘हामीसंग ए३२०का ३ र ए३१९को एक जहाज छन्’, श्रेष्ठले भने, ‘हामी सबै जहाज उडानको तयार रहेका छौं।’

कुन जहाज कति क्षमताका ?
लामो दूरी उडान भर्नसक्ने वाइडबडी जहाज नेपाल एयरलाइन्ससँग मात्रै छ भने न्यारोबडी हिमालय र जेट विमान श्री एयरलाइन्ससँग छ।

‘अन्तर्राष्ट्रिय उडानको लागि नेपाल एयरलाइन्ससँग ४ वटा जहाज छन्’, प्रवक्ता खड्काले भनिन्, ‘२७४ क्षमताका दुईवटा वाइडबडी र १५८ क्षमताका २ न्यारोबडी जहाज छन्।’

सरकारले नेपाल एयरलायन्स मात्रै प्रयोग गरे एकपटकमा ४ जहाजले ८ सय ६४ जना बोक्न सक्छन्। मन्त्रालयमा पेश गरेको प्रस्तावमा दैनिक दुई उडान गर्न सक्ने उल्लेख गरिएको छ। जसअनुसार निगमले मात्रै एक दिनमा १७ सय नागरिक फिर्ता ल्याउनसक्छ।

त्यस्तै हिमालय एयरलाइन्ससँग ए ३२० का ३ एयरबसको क्षमता १५८ हो भने अर्को ए ३१९ को सिट क्षमता १२८ छ। हिमालय एयरलाइन्सका ४ जहाज प्रयोग गर्दा एकपटकमा ६ सय दुई जना बोक्न सकिन्छ। एक जहाजले दैनिक २ उडान गर्न सके भने १२ सय बढी नागरिक स्वदेश ल्याउन सकिन्छ।

दुई एयरलाइन्सले मात्रै दैनिक २९ सय नागरिकसम्म फिर्ता ल्याउनसक्ने देखिन्छ।

सरकारले चाहेको अवस्थामा श्री एयरलाइन्ससँग ७० सिटे सीआरजे७०० २ वटा जहाज छन्। ५० सिटे सीआरजे २०० पनि २ वटा रहेका छन्। जुन लामो दूरीको लागि पनि प्रयोग गर्न सकिन्छ।

बुद्ध एयर र यति एयरलाइन्सका एटीआर ७२ जहाज भारतलगायतका देशमा उडान गर्न पनि सकिन्छ।

४० हजार बढी नागरिक ल्याउने तयारी
नेपालका लागि रोजगारीका प्रमुख गन्तव्य ६ मुलुकबाट मात्रै करिब ४० हजार नेपालीलाई फिर्ता ल्याउने तयारी भएको छ। कतार, मलेसिया, साउदी अरब, यूएई, बहराइन र ओमानबाट मात्र ३९ हजार ४ सय २० जना फर्किनैपर्ने अवस्थामा रहेको दूतावासहरुको तथ्यांक छ।

जसमा अधिकांश देशले आफ्नै जहाजमार्फत नेपालीलाई स्वदेश फर्काउने बताएका छन्। शुक्रबार मात्रै म्यान्मारबाट नेपाली ल्याइएको छ भने युएईबाट उसकै जहाजले नेपाली ल्याउँदै छ।

नेपालमा आएपछि एयरपोर्टबाट प्रदेशअनुसार होल्डिङ सेन्टरमा पठाइनेछ। त्यहाँबाट आफ्नो गाउँ जान चाहनेलाई प्रदेश र स्थानीय तहको समन्वयमा सम्बन्धित ठाउँको क्वारेन्टिन र होटलमा बस्न चाहनेलाई १४ दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .