ad ad

कारोबार


काठमाडौंपछि धेरै कोरोना परीक्षण जुम्लामा

काठमाडौंपछि धेरै कोरोना परीक्षण जुम्लामा

नेपालखबर
असार १, २०७७ सोमबार ५:९,

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत वैशाख २२ गतेदेखि कोरोना पिसिआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए। मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४६ हजार दुई सय २३ को पिसिआर भएको छ।

जुम्लामा सात हजार ४६५ को पिसिआर परीक्षण भएको रावलले बताए। तेस्रो स्थानमा सुर्खेत प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा सात हजार दुई सय ९७ को पिसिआर परीक्षण भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा छ हजार ५०० को पिसिआर भएको छ । त्यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छ हजार ४५१ जना, कोशी अस्पताल विराटनगरले सात हजार ३९९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले छ हजार ३६१ जना पिसिआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ। देशभर २१ प्रयोगशालाबाट एक लाख ३३ हजार ३७७ को कोरोना जाँच भएको मन्त्रालले विवरण सार्वजनिक गरेको छ।

प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा परीक्षण गर्दै आए पनि पछिल्लो समयमा सुर्खेत, दैलेख, रुकुमपश्चिम जिल्लाका समेत परीक्षण गर्ने गरेको छ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शङ्कास्पद व्यक्तिको पिसिआर परीक्षण गरिएको बताए। आइतबारसम्म सात हजार ४६५ को परीक्षण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेशिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ।

प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा. विजय अर्यालयले पिसिआर मेशिनको बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले चीनमा यसअघि नै उक्त मेशिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले जानकारी दिए।

जुम्लामा अहिले कोरोना भाइरसको परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुई चिकित्सकसहित प्रयोगशालामा चार प्राविधिक छन् । प्रयोगशालामा पिसिआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख विवेक पुन मगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेशिन सञ्चालनका लागि तालीमसमेत लिएका थिए।

रजिष्ट्रार काफ्लेले माथिल्लो कर्णालीमा परीक्षणको दायरा अझै बढाउने बताए। प्रतिष्ठान आफैँले भिटीएम कीट खरिद गरिसकेको छ। प्रतिष्ठानले कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टर प्रयोग गरी हुम्ला, डोल्पा र मुगुमा स्वाब सङ्कलन कार्य गर्ने गरेको छ।

मेडिकल मार्चअन्तर्गत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि ग्रामीण क्षेत्रमा खटिएको रजिष्ट्रार काफ्लेले बताए। जुम्लाका आठै स्थानीय तहमा एक महिनाका लागि १५ जना चिकित्सक परिचालन गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .