ad ad

कारोबार


नेपाली दूतावासहरुले तयारी गर्न नसक्दा सोमबारका सबै उडान रद्द

नेपाली दूतावासहरुले तयारी गर्न नसक्दा सोमबारका सबै उडान रद्द

वसन्त अर्याल
असार १, २०७७ सोमबार १०:८,

विदेशस्थित नेपाली दूतावासहरुले तयारी गर्न नसक्दा आज हुने भनिएका सबै उडान रद्द भएका छन्। सरकारले गत हप्ता जारी गरेको तालिकाअनुसार आज ५ वटा उडान तालिका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तालिकाअनुसार आज (असार १ गते) नेपाल वायुसेवा निगमको माले, मलेसिया र हिमालय एयरलायन्सको साउदी अरब, सिंगापुर, कम्बोडिया उडान हुने उल्लेख छ।

आज नेपाल वायुसेवा निमग र हिमालय एयरलाइन्सका सबै उडान रद्द भएका छन्। एयरलाइन्सको आजको उडान रद्द हुनुको मुख्य कारण दूतावास रहेका छन्।

दूतावासहरु उद्धार हुने कामदारहरुको स्वास्थ्य रिपोर्ट, टिकटलगायतमा अलमल हुँदा एयरलाइन्सले उडान गर्न नपाएको बताएका छन्।

त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले आज कुनै पनि जहाजको उडान तालिका नरहेको बताए। ‘आज डिपार्चर (प्रस्थान) गर्ने कुनै पनि जहाज छैन’, उनले भने।

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले मलेसिया उडान गर्ने तयारी गर्दा पनि कामदारसँग स्वास्थ्य रिपोर्ट नहुँदा उडान गर्न नपाएको बताइन्।

‘मालेको त पहिलै रद्द भएको थियो। मलेसिया उडान गर्ने तयारी गरिएको थियो,’ खड्काले भनिन्, ‘दूतावासले पर्याप्त तयारी नभएको जानकारी गराएपछि अझै अन्योलमा छौँ।’

त्यस्तै हिमालय एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले मन्त्रालयले सुरुमा तालिकाअनुसार आज कुनै उडान नभएको जानकारी दिए।

‘हाम्रो भोलि (असार २)बाट उडान गर्ने समयतालिका सार्वजनिक गरेका छौं’, श्रेष्ठले भने, ‘दूतावास तथा सम्बन्धित देशबाट अनुमति नपाउँदा आज हुने भनिएका उडान पछि हुन्छन्।’

हिमालय एयरलाइन्सले सार्वजनिक गरेको उडान तालिकाअनुसार भोलि (जुन १६) कलोब्बो, माले उडान गर्ने उल्लेख छ। जसको भाडा ३८० अमेरिकी डलर भाडा रहेको छ।

ओमानबाट आइपुगे १ सय ६६ नेपाली
ओमानस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेको भाडा महंगो भएको भन्दै सस्तोमा १ सय ६६ नेपाली स्वदेश पठाएको छ। दूतावासले ओमानको सलाम एयर चार्टर्ड गर्दै सरकारले तोकेभन्दा सस्तो भाडामा पठाएको हो। उक्त जहाज सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको छ।

सरकारले सुरुमा ओमानबाट उद्धार हुने नेपालीको लागि ५१० डलर अर्थात् ६१ हजार ७ सय ३५ रुपैयाँ तोकेको थियो। सर्वत्र विरोध भएपछि शुक्रबार र शनिबार घटाउँदै ४४ हजार ५ सय ४६ रुपैयाँ तोकिएको छ।

तर त्योभन्दा पनि सस्तोमा सलाम एयरले २९९ डलर अर्थात् ३६ हजार १ सय ९३ रुपैयाँमा उडान गरेको हो। जुन सरकारले तोकेभन्दा विदेशी एयरलाइन्सको भाडा ८ हजार तीन सय ५२ रुपैयाँ कम हो।

सरकारले विदेशमा दुःख पाएका नागरिकलाई सस्तोमा वा निःशुल्क उद्धार गर्नुको साटो चर्को भाडा लिन नेपाली एयरलाइन्सलाई अनुमति दिएको छ। नेपाल एयरलाइन्सले भने भाडा चर्को नभएको दाबी गरेको छ।

हङकङबाट ७ नेपाली फिर्ता
नेपाल वायुसेवा निमगको जहाजले हिजो (आइतबार) साँझ हङकङको आइडी भएका नेपाली लगेर ए३२० को जहाज गएको थियो। उक्त जहाज आज (सोमबार) नेपाल फर्किँदा ७ नेपाली पनि ल्याएको थियो। तर ती नेपालीले स्वास्थ्य रिपोर्ट नल्याएको भन्दै सुरुमा त्रिभवन विमानस्थलले रोक लगाए पनि पछि छाडिदिएको हो।

यसअघि कुवेत, युएई, म्यान्मार, अष्ट्रेलिया, जापानबाट पनि नेपाली फर्किएका छन् । कुवेतबाट मात्रै ४४९ र युएईबाट १६८ जना फर्कएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .