ad ad

कारोबार


पहिलोपटक तोकियो चार्जिङ स्टेसनको विद्युत् महशुल दर

पहिलोपटक तोकियो चार्जिङ स्टेसनको विद्युत् महशुल दर

वसन्त अर्याल
असार ३, २०७७ बुधबार ९:५८,

सरकारले पहिलोपटक चार्जिङ स्टेसनको लागि विद्युत् महशुल दर निर्धारण गरेको छ। विद्युत् नियमन आयोगले महशुल निर्धारण गर्दै रातको समयमा चार्जिङ स्टेसनले प्रतियुनिट ३ रुपैयाँ ७५ पैसासम्म तिरे पुग्ने भएको हो।

विद्युत् प्राधिकरणले पेश गरेको प्रस्तावमा विद्युत् नियमन आयोगले सार्वजनिक सुनुवाइ गरी उक्त महशुल निर्धारण गरेको हो।

नियमन आयोगले सार्वजनिक यातायातभन्दा निजी सवारीसाधनको चार्जिङ महशुल दर महंगो रहेको छ भने हिउँदभन्दा वर्षातको समयमा विद्युत् महशुल दर सस्तो छ।

आयोगका प्रवक्ता डा. राम प्रसाद धितालले चार्जिङ स्टेसनले डिमान्ड शुल्क तिर्ने वा अटोमेटिक स्वाप सुविधा लिएर डिमान्ड शुल्क नलाग्ने गरी महशुल निर्धारण गरिएको जानकारी दिए।

उनका अनुसार वैशाखदेखि मंसिरसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म विद्युत् डिमान्ड शुल्क तिर्ने ग्राहकले ३ रुपैयाँ ७५ पैसामा विद्युत् पाउँछ भने डिमान्ड शुल्क नलाग्ने ग्राहक वा अटोमेटिक स्वाप कार्ड भएका ग्राहकलाई उक्त समयमा ४ रुपैयाँ ४५ पैसामा विद्युत् महशुल दर निर्धारण गरिएको छ।

डिमान्ड शुल्क नलाग्ने वा अटोमेटिक स्वाप कार्ड सुविधा भएका ग्राहकले विद्युत् प्राधिकरणसँग एक हजार युनिट विद्युत् प्रयोगको स्वाप कार्ड खरिद गरेको छ भने उसले मासिक एक सय युनिट विद्युत् खपत गरे ग्राहकको अटोमेटिक स्वाप कार्ड (मिटर)बाट सय युनिट घटी ९ सय युनिट बाँकी रहन्छ।

ग्राहकको स्वाप कार्डमा ९ सय युनिट सकिएपछि फेरि विद्युत् प्राधिकरणमा गएर अर्को कार्ड बनाउन पाउँछ। ग्राहकले जति विद्युत् प्रयोग गर्छ, त्यति नै महशुल तिर्छ। डिमान्ड शुल्क तिर्नुपर्दैन।

डिमान्ड शुल्क नलाग्नेको लागि वैशाखदेखि मंसिरसम्म महशुल दर
सार्वजनिक यातायात तथा तिनले प्रयोग गर्ने चार्जिङ स्टेसनको हकमा वैशाखदेखि मंसिरसम्मको विद्युत् महशुल ३३ केभीको लागि पिक समय (साँझ ५ देखि राति ११ बजे)सम्म ८ रुपैयाँ ४० पैसा तोकेको छ।
अफ पिक समय (राति ११ बजेदेखि बिहान ५ बजेसम्म ४ रुपैयाँ ४५ पैसा तोकेको छ भने अन्य समय (बिहान ५ देखि साँझ ५ बजेसम्म)का लागि ६ रुपैयाँ ६० पैसा तोकेको छ।

विद्युत् महशुल दर केभीअनुसार फरक–फरक रहेकोमा ११ केभीका लागि पिक समय ८ रुपैयाँ ६० पैसा, अफ पिक समय ५ रुपैयाँ ५ पैसा र अन्य समय ६ रुपैयाँ ७० पैसा प्रतियुनिट महशुल दर रहेको छ।

तल्लो भोल्टेज (२३०÷४०० भोल्ट)मा पिक समय ८ रुपैयाँ ७० पैसा, अफ पिक समय ५ रुपैयाँ ५ पैसा र अन्य समयमा ६ रुपैयाँ ९० पैसा रहेको छ।

त्यस्तै निजी सवारीसाधन तथा चार्जिङ स्टेसनका लागि वैशाखदेखि मंसिरसम्म ३३ केभी वितरणलाइन भएकाले पिक समयमा ११ रुपैयाँ २० पैसा, अफ पिक समय ४ रुपैयाँ ४५ पैसा र अन्य समयमा १० रुपैयाँ १० पैसा रहेको छ।

११ केभी वितरणलाइन भएकाहरुको लागि पिक समयमा ११ रुपैयाँ ६० पैसा अफ पिक समयमा ५ रुपैयाँ ५ पैसा र अन्य समयमा १० रुपैयाँ २० पैसा महशुल दर तोकेको छ।

तल्लो भोल्टेजको लागि पिक समय ११ रुपैयाँ ७० पैसा, अफ मिक समय ५ रुपैयाँ १५ पैसा र अन्य समय १० रुपैयाँ ३० पैसा महशुल दर वितरण गरेको छ।

हिउँदको ४ महिना महशुल महंगो हुने
सार्वजनिक यातायातमा पुसदेखि चैतसम्म ३३ केभी पिक समय (साँझ ५ देखि ११ बजेसम्म ८ रुपैयाँ ४० पैसा र अन्य समय राति (११ बजेदेखि साँझ ५ बजेसम्म) ६ रुपैयाँ ६० पैसा महशुल दर तोकेको छ।

११ केभी वितरणलाइन भएकाले पिक समय ८ रुपैयाँ ६० पैसा अन्य समय ६ रुपैयाँ ७० पैसा महशुल तिर्नुपर्नेछ भने तल्लो भोल्टेजको लागि पिक समय ८ रुपैयाँ ७० पैसा र अन्य समय ६ रुपैयाँ ९० पैसा महशुल दर तिर्नुपर्नेछ।

अन्य यातायाताको शुल्क भने महंगो छ। ३३ केभी वितरणलाइन भएकाले पिक समयमा ११ रुपैयाँ २० पैसा र अन्य समय १० रुपैयाँ १० पैसा महशुल दर तोकेको छ।

११ केभी वितरणलाइन भएकाहरुको लागि पिक समयमा ११ रुपैयाँ ६० पैसा र अन्य समयमा १० रुपैयाँ २० पैसा रहेको छ।

तल्लो भोल्टेज वितरणलाइनमा पिक समयमा ११ रुपैयाँ ७० पैसा र अन्य समयमा १० रुपैयाँ ३० पैसा महशुल दर तोकेको छ।

डिमान्ड शुल्क लाग्ने ग्राहकको विद्युत् महशुल दर
आयोगका प्रवक्ता धितालले डिमान्ड शुल्क भनेको मिटर जडान गरेपछि चार्जिङ भए पनि नभए पनि मासिक न्यूनतम शुल्क तिर्नुपर्ने बताए। जस्तो वैशाखदेखि मंसिरसम्म ३३ केभीका उपभोग वर्गले चार्जिङ स्टेसनको लागि २ सय ३० रुपैयाँ डिमान्ड शुल्क तिर्नुपर्छ। यस्ता ग्राहकले पिक समयमा ७ रुपैयाँ, अफ पिक समय ३ रुपैयाँ ७० पैसा र अन्य समयमा ५ रुपैयाँ ५० पैसा रहेको छ।

पुसदेखि चैत महिनासम्म डिमान्ड शुल्क तिर्ने ३३ केभी वितरणलाइन भएका चार्जिङ स्टेसन ग्राहकले डिमान्ड शुल्क २३० तिर्नुपर्छ भने पिक समयमा ७ रुपैयाँ र अन्य समयमा ५ रुपैयाँ ५० पैसा तिर्नुपर्ने आयोगले उल्लेख गरेको छ।

त्यस्तै ११ केभी वितरणलाइन भएका २३० डिमान्ड शुल्क तिरी चार्जिङ स्टेसन सञ्चालकका लागि पिक समयमा ७ रुपैयाँ १५ पैसाँ, अफ पिक समय ४ रुपैयाँ २० पैसा र अन्य समय ५ रुपैयाँ ६० पैसा महशुल दर निर्धारण गरेको छ।

चार्जिङ स्टेसन सञ्चालकले २० प्रतिशत सेवा शुल्क लिन पाउने
आयोगले चार्जिङ स्टेसन सञ्चालकले विद्युतीय सवारीसाधनलाई चार्जिङ सेवा दिएबापत महशुलमा अधिकतम २० प्रतिशतसम्म थप गरी लिन पाउने नियमन आयोगले जनाएको छ।

तर नेपालमा विद्युतीय सार्वजनिक यातायात सञ्चालन गर्दै आएको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले २० प्रतिशत सेवा शुल्कले कसैले पनि चार्जिङ स्टेसन निर्माण नगर्ने बताएका छन्।

‘एउटा चार्जिङ स्टेसन निर्माणमा ७० लाखसम्म पर्छ’, थापाले भने, ‘जग्गाको भाडा, कर्मचारीलाई तलब महशुल दरको २० प्रतिशतले पुग्दैन।’

उनले गाडी चार्ज हुन लामो समय लाग्ने भएकाले चार्जिङ स्टेसन निर्माण गरेर कसैले फाइदा लिन सक्दैन। दिनमा ४÷५ गाडी चार्ज गरेर लगानी उठ्दैन।

‘अब अरुले चार्जिङ स्टेसन बनाइदिन्छ र गाडी चार्ज गरौँला भन्दा पनि आफैँ गाडी किन्ने र चार्जिङ स्टेसन पनि निर्माण गर्नुपर्ने अवस्था अयो’, उनले भने।

यस्तो छ आयोगले निर्धारण गरेको महशुल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .