ad ad

राजनीति


आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाइ मापन, उचाइको हिसाब निकट भविष्यमैः मन्त्री अर्याल

आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाइ मापन, उचाइको हिसाब निकट भविष्यमैः मन्त्री अर्याल

नेपालखबर
असार ३, २०७७ बुधबार ९:५१,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले अब फिताले नभएर यन्त्रले जमिनको नापनक्सा गर्ने सिस्टमको विकास गरिएको बताएकी छन्। मन्त्रालयको बिनियोजन शीर्षकहरुमाथी राष्ट्रियसभाका सांसदले उठाएका प्रश्नको बुधवार राष्ट्रियसभामा जवाफ दिँदै मन्त्री अर्यालले नाप नक्साको क्षेत्रमा अब फिताले नभएर यन्त्रले नाप्ने प्रविधिको विकास गरिएको बताइन्।

विगतको त्रुटीपुर्ण नापनक्साका कारण जनताले निकै अप्ठ्यारो झेल्नुपरेकाले धेरै खालका गुनासाहरु आउनेगरेको भन्दै मन्त्री अर्यालले ती कुरालाई मध्यनजर गर्दै नापनक्साको काम फिताबाट नभएर यन्त्रबाट गर्ने कार्यको शुरुआत गरिएको बताइन्।

‘विगतमा फिताबाट नापनक्सा गर्दा कमजोरी भयो। त्यसैले अब यन्त्रबाट नापनक्साको काम गरिनेछ भनेर त्यो काममा हामी अगाडि बढेका छौं’ मन्त्री अर्यालले भनिन्, ‘देशभर आधुनिक तरिकाबाट डिजिटल प्रणालीबाट पुनः नापजाँच गर्ने कार्य भइरहेको छ। यो सबै ठाउँमा गर्न जरुरी पनि छ र त्यो कामको थालनी पनि भएको छ।’

नापनक्सा क्षेत्रको अत्याधुनिक प्रविधि ‘लाइडर प्रविधि’ यसै आर्थिक वर्षदेखि नेपालको सुदूरपश्चिम प्रदेशबाट शुरु भएको भन्दै उनले त्यसले पृथ्वीको धरातलीय स्वरुपको नापजाँच गर्ने कार्य भइरहेको बताइन्। सरकारी स्तरबाट पहिलोपटक यस किसिमको सर्भेक्षण गरिएको उनको भनाइ थियो।

सात दशक लामो भूमिहिन, सुकुम्बासी समस्याको समाधान यो सरकारले गर्ने बताउदै मन्त्री अर्यालले लामो समयदेखि रहेको भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गरिने बताइन्। जमिनमा पसिना बगाउने वर्ष नै सात दशकदेखि जमिनको स्वामित्व नपाएर तड्पिरहेको दारुण दृष्य हेरेर सरकार बस्न नसकेको भन्दै मन्त्री अर्यालले अब कानुनी रुपमै व्यवस्था गरेर भूमिहिन, सुकुम्बासी, दलितलाई जग्गा उपलब्ध गराइने बताइन्।

अव्यवस्थित बसोबासीका सन्दर्भमा उनीहरुको जोतभोगका आधारमा निश्चित शुल्क लिएर स्वामित्व प्रदान गर्नुपर्छ भन्ने कानुनी व्यवस्था गरिएको बताइन्। भूमिहिन सुकुम्बासीका समस्या समाधान गर्न सरकारले भूमि समस्या समाधान आयोग गठन गरेर काम अगाडी बढाएको भन्दै उनले अहिलेको प्रतिकूल समयका कारण आयोग फिल्डमा गएर काम गर्न कठिनाइ भएपनि अनुकुल समय आउनेबित्तिकै फिल्डमा गएर यी समस्याको समाधान गरिने बताइन्।

मुक्त हलिया, हरुवा चरुवा, कमैया, कमलहरीका समस्या पनि समाधान गर्नेगरी सरकार अगाडी बढेको भन्दै उनले बाँकी कामहरु स्थानीय तहलाई हस्तान्तरण गरेर स्थानीय तहमार्फत नै सबै समस्याको समाधान गर्ने गरी मन्त्रालय अगाडी बढेको बताइन्।

विगतमा नेपालको नक्सामा छुटाइएको नेपालको नक्सा सहितको राजनीतिक, प्रशासनिक नक्सा तयार गरी सार्वजनिक गरिएको भन्दै मन्त्री अर्यालले सरकारले यस कार्यले सबै नेपालीको स्वाभिमान उच्च भएको बताइन्। बाँकी कुरा नेपाल सरकारले कुटनीतिक हिसाबले दुई पक्षीय वार्ता गरेर टुंग्याउने मन्त्री अर्यालले बताइन्।

प्रकृतिले एउटा अनुपम उपहारका रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा दिएको भन्दै उनले यसको उचाइ मापन अरु मुलुकहरुले धेरैपटक गरेपनि नेपालले इतिहासमै पहिलोपटक आफ्नै स्रोतसाधन र सीपबाट सगरमाथाको उचाइ मापनको कार्य सम्पन्न गरेको बताइन्। अब सगरमाथाको वास्तविक उचाइको हिसाब निकट भविष्यमै घोषणा गर्ने गरी सरकार तयारीमा रहेको उनको भनाइ थियो।

सरकारले पहिलोपटक भूमि बैंकको अवधारणा ल्याएको भन्दै मन्त्री अर्यालले जग्गाको उपयोग र उत्पादकत्व वृद्धी गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ स्थापना गरिको बताइन्।

यसलाई तिनै तहको सरकारको स्वामित्वमा सञ्चालन गरिने भन्दै उनले यस आर्थिक वर्षमा ३ सय वटा पालिकाबाट शुरु गर्नेगरी बजेटमा व्यवस्था गरिएको जानकारी दिइन्।

अबको जग्गा प्रशासन पारदर्शी र सुशासनयुक्त जग्गा प्रशासन भन्ने नाराका साथ मन्त्रालय अगाडि बढेको मन्त्री अर्याको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .