ad ad

कारोबार


अनलाइन कक्षामा झुम्मिए लोकसेवाका विद्यार्थी, दुर्गमका विद्यार्थीलाई सुविधा (भिडियाे)

अनलाइन कक्षामा झुम्मिए लोकसेवाका विद्यार्थी, दुर्गमका विद्यार्थीलाई सुविधा (भिडियाे)

सन्तोष न्यौपाने
असार १५, २०७७ सोमबार ११:३४,

एक ठूलो कम्प्युटर स्क्रिनमाथि वेब क्यामरा जडान गरिएको छ। कोठाको वरिपरि लाइटको राम्रो व्यवस्था छ। अझ उज्यालो होस् भनेर सेतो पर्दा लगाइएको छ।

यो काठमाडौं बुद्धनगरमा रहेको स्मार्ट जिके अनलाइन कक्षाको स्टुडियो हो। आइतबार बेलुका त्यहाँ पुग्दा शिक्षक प्रदिप खतिवडा पढाइरहेका थिए।

स्टुडियोको क्यामराले खतिवडालाई झण्डै चार सय विद्यार्थीमाझ पुर्‍याइरहेको थियो। उनलाई यसरी क्यामराअगाडि पढाउन रमाइलो लाग्नथालेको छ।

‘सुरुमा त खाली कक्षा कोठा भएजस्तो, अप्ठ्यारो महशुस हुन्थ्यो’, नेपाल सरकारका अधिकृत खतिवडाले अनलाइन कक्षा सकेपछि नेपालखबरसँग भने, ‘अहिले धेरै रमाइलो लाग्नथालेको छ।’

खतिवडाले लाइभ अनलाइन कक्षा लिनथालेको एक वर्ष भयो। अहिले प्रत्यक्षभन्दा अनलाइन लाइभ कक्षामा सजिलो लाग्नथालेको उनको अनुभव छ।

अनलाइन कक्षा सुरु गर्न सजिलो भने थिएन। पहिले–पहिले विद्यार्थीहरुले अनलाइनबाट पनि कक्षा हुन्छ र भनेर प्रश्न गर्थे। स्मार्ट जिकेका मनोहर झाले भने, ‘अनलाइनमा कसैलाई विश्वास नै थिएन।’

पछिल्लो समय लकडाउनका कारण अनलाइन मिटिङ र घरबाट कार्यालयको काम सुरु भयो। आफ्नो घरमा अभिभावकले त्यसरी अनलाइनमा काम गर्न थालेपछि धेरैको कानमा ‘जुम मिटिङ’ भन्ने शब्द परिचित भएको छ।

online class 66666

त्यसैले त आजभोलि विद्यार्थीले झालाई सोध्छन्, ‘तपाईंहरुको कक्षा जुमबाट हो?’

विद्यार्थीलाई जुम मिटिङ भन्ने कण्ठस्थ भइसकेको छ। सोही कारण उनीहरुले अनलाइनबाट कक्षा सञ्चालन गर्न, मिटिङ गर्न र छलफल गर्न सकिन्छ भन्ने बुझिसकेका छन्।

पछिल्लो समय कोरोना संकट र लकडाउनका कारण लामो समयदेखि लोकसेवाका भर्ना र परीक्षा रोकिएका छन्। यो बेला घरबाहिर निस्किन नपाएका विद्यार्थीहरु अहिले घरबाटै लोकसेवा परीक्षाको तयारी गरिरहेका छन्।

यस्तो अवस्थामा अनलाइन कक्षाले विद्यार्थीको आकर्षण बढाएको छ।

झाले स्मार्ट जिकेमार्फत सन् २०१६ डिसेम्बरदेखि अनलाइन कक्षा सुरु गरेका थिए। त्यो निःशुल्क थियो।

त्यतिबेला शुल्क लिएर अनलाइन कक्षा चलाउन सकिन्छ भन्ने उनलाई लागेको थिएन।

‘हामीले सुरुमा भिडियो बनाउँथ्यौँ र युट्युबमा हाल्थ्यौँ’, झाले विगत सम्झिए, ‘त्यसले अनलाइन कक्षा सञ्चालन गर्न सघाएको थियो।’

२०७५ वैशाखदेखि भने उनले औपचारिक रुपमा अनलाइन कक्षा सुरु गरे। त्यो पनि सशुल्क।

लोकसेवा तयारीमा जुटेका विद्यार्थीहरुलाई स्मार्ट जिकेले २ हजार ५ सय रुपैयाँ शुल्क तोकेको छ।

‘सबैले पढ्न सकून् भनेर हामीले सस्तो दरमा पढाइरहेका छौँ’, झाले भने, ‘हामी यो शुल्क नबढाउने सोचमा छौँ।’

इच्छुक विद्यार्थीहरु उनको वेबसाइटमा दर्ता हुन्छन्। त्यहाँ उनीहरुको अकाउन्ट बन्छ र त्यहीँबाट युट्युबको भिडियो लिंक पाउँछन्।

शिक्षकले त्यहीँ गृहकार्य दिन्छन्। विद्यार्थी र शिक्षकबीच भर्चुअल छलफल हुन्छ।

स्मार्ट जिके मात्र होइन, सहरमा अहिले लोकसेवाका अनलाइन कक्षा सञ्चालन गर्ने धेरै छन्। पहिला लोकसेवा कक्षा सञ्चालन गरेकाहरुले पनि अनलाइनबाट पढाउन थालेका छन्। छिट्टै अनलाइन लाइभ पढाउने तयारी गरिरहेका छन्।

लोकसेवा ज्ञान अनलाइन कक्षा सुरु गर्दा प्रयागलाल कुमाईलाई निकै अप्ठ्यारो परेको थियो।

सुरु–सुरुमा त विद्यार्थीलाई बुझाउन नै गाह्रो भयो उनलाई। किनकि विद्यार्थीहरु के हुने हो, कस्तो हुने हो भन्ने सोच्थे।

गत वर्ष वैशाखदेखि उनले लोकसेवा ज्ञानको अनलाइन कक्षा सुरु गरे। सुरुमा भिडियो अपलोड गरेर कक्षा चलाउँथे। तर पछि लाइभ कक्षा नै सुरु गरे।

अहिले धेरै फरक परिसकेको छ। अनलाइनबाट पनि प्रभावकारी कक्षा लिन सकिँदो रहेछ भन्ने विद्यार्थीलाई भएको छ।

विद्यार्थीहरुलाई मात्र होइन, शिक्षकले समेत सुरुमा अनलाइन कक्षा पढाउन मान्दैनथे। ‘अहिले शिक्षकहरुलाई पनि बानी परेको छ,’ उनले नेपालखबरसँग भने।

आइतबार लोकसेवा ज्ञानमा पुग्दा शिक्षक सुजन भण्डारीले अनलाइन कक्षा लिइरहेका थिए। उनलाई सुरुमा त अनलाइन पढाउन असजिलो भयो। अगाडि विद्यार्थी छन् जस्तै नलाग्ने।

online class loksewa 3

‘सुरुमा क्यामरा फेस गर्न गाह्रो हुन्थ्यो’, भण्डारीले सुरुवाती दिन सम्झिँदै भने, ‘विद्यार्थीलाई अगाडि राखेर पढाएजस्तो नहुने।’

झण्डै ८ महिना अनलाइन लाइभ कक्षा पढाइसकेका भण्डारीलाई अहिले भने बानी परिसकेको छ।

विद्यार्थीहरुसँग अन्तत्र्रिmया गरेर पढाउन सकिँदो रहेछ भन्ने अनुभव भएको छ।

अनलाइन कक्षाको फाइदा भनेको शिक्षकले आफूले बसेको ठाउँबाट पनि कक्षा सञ्चालन गर्न सक्छन्। लोकसेवा ज्ञानको कक्षा विराटनगर बस्ने शिक्षकले समेत सञ्चालन गर्छन्। त्यसरी बाहिरबाट पढाउनेहरु चार/पाँच जना शिक्षकहरु रहेको कुमाईले बताए।

भारतमा चार्टर्ड अकाउन्टेन्ट पढ्दा ऋषिराम चालिसे रेकर्डेड भिडियो ल्याएर पढ्थे। उनलाई यसरी पढेर नै पास गरे। यसैमा बानी पर्यो।

पछि उनलाई नेपालमा पनि यस्तै अनलाइन कक्षाहरु सञ्चालन गर्न सकिन्छ कि भन्ने लाग्यो। अनि सुरु गरे– ओटिस अनलाइन कक्षा।

सुरुमा चार्टर्ड एकाउन्टेन्ट सदस्यले दिने परीक्षा तयारीको अनलाइन कक्षा सुरु गरे। यसमा राम्रो प्रतिक्रिया आयो।

‘यसले हामीलाई अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ भन्ने हौसला मिल्यो’, चालिसेले नेपालखबरसँग भने, ‘त्यसपछि लोकसेवाका अन्य कक्षा सुरु गर्यौं।’

अन्यलाई जस्तै उनलाई पनि अनलाइन कक्षा सञ्चालन गर्दा विद्यार्थीलाई धेरै ‘कन्भिन्स’ गर्नुपर्यो। उनीहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न, विद्यार्थीलाई यसमा अभ्यस्त गर्न र त्यो प्लेटफर्म तयार गर्न डेढ वर्ष लाग्यो।

एकपटक पढेपछि विद्यार्थीहरु सन्तुष्ट नै हुन्छन्। उनीहरुले अरुलाई राम्रो हुन्छ भनेपछि एकपछि अर्को गर्दै विद्यार्थीहरु जोडिने क्रम बढ्दो छ।

उनकोमा अहिले झण्डै १ हजार ५ सय विद्यार्थीहरु रहेको बताए।

उनको अनलाइनका आफूले चाहेअनुसारको कक्षा लिन सकिन्छ। यसको अर्थ के भने कसैले एउटा विषयमा एउटा मात्र कक्षा लिन चाहे पनि निश्चित शुल्क तिरेर कक्षा लिन सकिन्छ। विषय र कक्षाअनुसार एउटा कक्षाको एक सय, २ सय रुपैयाँ लाग्छ।

दुर्गमका विद्यार्थीलाई सहज
लोकसेवा पढ्नकै लागि कयौँ विद्यार्थी विभिन्न जिल्लाबाट काठमाडौं आउने गरेका छन्। उनीहरुले होस्टल खोज्ने, महिनाको पाँच/सात हजार होस्टलमा बुझाएर लोकसेवाको कक्षा लिने गरेका छन्।

अनलाइन कक्षाले त्यो बाध्यता केही हदसम्म हटाएको छ। सरकारी जागिर खाने सोच भएका त्यस्ता विद्यार्थीहरु आफ्नै घरबाट लोकसेवाका विभिन्न कक्षा अनलाइनबाटै लिइरहेको लोकसेवा ज्ञान अनलाइन कक्षा सञ्चालन गरिरहेका प्रज्ञालाल कुमाईको भनाइ छ।

स्मार्ट जिकेका झाले अनलाइन कक्षाको कोर्षलाई दुर्गमका विद्यार्थीलाई सहज हुने गरी डाउनलोड गर्नसकिने व्यवस्था मिलाएको बताए।

जहाँ राम्रो इन्टरनेट छैन, भएको ठाउँमा पनि राम्रोसँग चल्दैन, ती ठाउँका विद्यार्थीहरु महंगो मोबाइल डाटा प्रयोग गर्न बाध्य छन्। हरेक जिल्लाबाट आफ्नोमा अनलाइन कक्षा लिने विद्यार्थीहरु रहेको झाले बताए।

त्यस्तै, लोकसेवा ज्ञानको अनलाइनमा पनि झण्डै ७७ जिल्लाबाट कक्षा लिएको कुमाईले बताए।

लकडाउनपछि राष्ट्र बैंक, वाणिज्य बैंकलगायतका सरकारी बैंक र नेपाल वायुसेवा निगमको आवेदनलाई लक्षित गरेर स्मार्ट जिकेले कक्षा सञ्चालन गरिरहेको छ। यी कक्षामा विभिन्न जिल्लाका झण्डै ५ सय विद्यार्थीहरुले पढिरहेको झाले बताए। लगभग सबै जिल्लाबाट विद्यार्थीहरु सहभागी भएको उनको भनाइ छ।

online class loksewa 5

अनलाइन कक्षासँगै अनलाइनबाट अन्तत्र्रिmया, छलफल, गृहकार्य समेत हुन्छ। कपीमा लेखेको गृहकार्यलाई विद्यार्थीहरुले फोटो खिचेर आफ्नो अकाउन्टमा हालिदिन्छन्। शिक्षकले चेक गरेर प्रतिक्रिया पठाउँछन्।

अनलाइन कक्षामा रहेको पहिलो समस्या भनेको इन्टरनेट हो। मुलुकका हरेक ठाउँमा इन्टरनेट पुगेको छैन। भएको ठाउँमा पनि गुणस्तर छैन। यसले गर्दा विद्यार्थीहरुले लाइभ कक्षा लिँदा समस्या भोगिरहनुपर्छ।

कतिपयले त डाटा चलाएर समेत कक्षा लिएका छन्। उनीहरुको लागि धेरै खर्च नहोस् भनेर भिडियो अपलोड गर्ने र त्यो पछि डाउनलोड गर्न मिल्ने बनाइएको कुमाईले बताए।

अपांगता भएकालाई सुविधा
अनलाइन कक्षाले शारीरिक रुपमा अपांगता भएका विद्यार्थीहरुलाई थप सहयोग गरेको छ। उनीहरु हिँडेर पढ्ने ठाउँसम्म पुग्नुपरेन। कोठामै बसेर कक्षा लिँदा उनीहरुलाई थप सजिलो भएको छ।

स्मार्ट जिकेले अपांगता भएकाहरुलाई ५० प्रतिशत शुल्क छुट दिएको छ। आँखा नदेख्नेलाई निःशुल्क पढाइरहेको छ।

त्यस्तै, लोकसेवा ज्ञान अनलाइनले पनि अपांगता भएका विद्यार्थीलाई विशेष सुविधा दिएको जनाएको छ। उनीहरुलाई निःशुल्क कक्षा लिन पाउने बनाएको र विपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई पनि निःशुल्क पढाएको कुमाईले बताए।

online class loksewa 6

विदेशबाट पनि पढ्छन् विद्यार्थी
कामको खोजीमा विदेश पुगेकाहरु समेत अनलाइन कक्षामा आकर्षित भएका छन्। अनलाइन फर्म भर्न सकिने र अनलाइनबाटै कक्षा लिन सकिने भएपछि उनीहरु परीक्षा दिन मात्र आए पुग्छ।

विदेशमा बचेको समयमा अनलाइनबाटै पढेर लोकसेवाको परीक्षा दिन आउने विद्यार्थीहरु धेरै भएको अनलाइन कक्षा सञ्चालकहरु बताउँछन्।

उनीहरुका अनुसार भारत, कुवेत, साउदी अरब, दक्षिण कोरियाबाट कक्षा लिइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .