ad ad

कारोबार


ट्याक्सी व्यवसायी भन्छन् : सरकारले काम गर्न दिँदैन, बैंकले ताकेता गर्नथाले, घरभेटीले पैसा मागे

ट्याक्सी व्यवसायी भन्छन् : सरकारले काम गर्न दिँदैन, बैंकले ताकेता गर्नथाले, घरभेटीले पैसा मागे

वसन्त अर्याल
असार १६, २०७७ मंगलबार ९:४२,

ट्याक्सी व्यवसायीले सरकारविरुद्ध काम गरेर खान देऊ भन्दै आन्दोलन सुरु गरेका छन्। सरकारले चैत ११ देखि घरमा थुनेको भन्दै ट्याक्सीका चाबी यातायात व्यवस्था कार्यालयमा बुझाएका हुन्।

‘हामीलाई काम गरेर खान देऊ भनेका हौं। ट्याक्सी मजदुरको परिवार भोकभोकै छन्। आफैँ भोक भोकै छौं’, अखिल नेपाल यातायात मजदुर संघ वाग्मती प्रदेशका अध्यक्ष दीपक केसीले भने, ‘बैंकले फोन गरिरहेका छन्। किस्ता तिर्न सकेका छैन। रोग, भोकले मानसिक सन्तुलन गुमाउने स्थिति आइसकेको छ।’

taxy andolan ktm lck 2

सरकारले असार १ देखि निजी सवारीसाधन तथा बजार खुला गरेको छ। हाल निजी गाडी जोरविजोर प्रणालीअनुसार सञ्चालनमा रहेका छन्।

तर दिनभर काम गर्ने साँझ खाने यातायात मजदुरलाई ३ महिनादेखि सरकारले न कुनै राहत दिएको छ, न व्यवसाय सञ्चालन गर्न दिएको छ।

केही निजी गाडीले यही रातो नम्बर प्लेटका गाडीले ट्याक्सीले जस्तै मानिस ओसार्दै पैसा असुल्ने गरेका छन्। त्यसको विरोधमा ट्याक्सी व्यवसायी ‘रातो प्लेटका गाडी चलाउँदा कोरोना नसर्ने तर कालो नम्बर प्लेटका गाडीले सर्ने’ भन्ने प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका छन्।

अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समितिका उपाध्यक्ष रविन्द्र भुपाल प्रधानले ट्याक्सी मजदुर मारमा परेको बताउँदै सुरक्षित भएर ट्याक्सी सञ्चालन गर्ने अनुमति दिनुपर्ने बताएका छन्।

‘यातायातका लागि एम्बुलेन्सपछिको दोस्रो छिटो र सुरक्षित साधन ट्याक्सी हो’, प्रधानले नेपालखबरसँग भने, ‘ट्याक्सी खुलाउनुपर्यो, हामी सामाजिक दूरी कायम गर्दै सेवा दिनसक्छौं।’

उनले लकडाउन १ सय दिन पुग्न लाग्दा निजीलाई गुड्न दिने सार्वजनिकलाई गुड्न नदिई भेदभाव गरेको बताउँछन्।

taxy andolan ktm lck 3

सरकारले जेठ २५ लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो। सार्वजनिक यातायात भने चल्ल नदिने निर्णय गरेको थियो। असार १५ गते बसेको कोरोना रोकथाम व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले साउन ७ गतेसम्म यथास्थितिमै राख्ने अर्थात् सार्वजनिक सवारी चल्न नदिने निर्णय गरेको छ।

आन्दोलनरत एक ट्याक्सी व्यवसायीले सरकारसँग आक्रोश पोख्दै भने, ‘हाम्रो ट्याक्सी चल्न दिएन। बैंकको ऋण रहेको छ। घरबेटीले भाडा माग्छ। खानलाई पैसा छैन, पैसा कहाँ कहाँ बुझाउने?’

‘सरकारले कुरा नसुने कडा आन्दोलन’
ट्याक्सी व्यवसायीले असार ८ गते सरकारलाई आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएका थिए। ट्याक्सी व्यवसायी प्रधानले यातायात व्यवस्था विभागमा असार ८ गते ज्ञापनपत्र बुझाउँदै असार १५ गतेसम्म माग पूरा गर्ने समय दिएको बताए।

‘हामीले असार १५ सम्मको समय दिएका थियौं। सरकारले कुनै पहलकदमी गरेन’, प्रधानले भने, ‘त्यसैले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हौँ।’

हाल अखिल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समितिको र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको संयुक्त आयोजनामा आन्दोलन भइरहेको छ।

वाग्मती प्रदेश ट्याक्सी व्यवसायी अध्यक्ष दिपक केसीले माग पूरा भएन भने सबै सार्वजनिक यातायात मिलेर आन्दोलन गर्ने बताए।

‘यातायात व्यवस्था विभागमा चाबी बुझाएका छौं। अब भोकभोकै सविधानसभाको भवनअघि बस्छौं’, केसीले भने, ‘हाम्रो कुरा नसुने ट्याम्पो, माइक्रो बस सबै गाडी यातायात व्यवस्था विभाग तथा सिंहदरबारअघि लगेर राख्छौँ।’

ट्याक्सी व्यवसायीले ट्याक्सीमा दुई जना राखेर मात्रै पनि ट्याक्सी चलाउन तयार रहेको बताए।

नेपाल यातायात राष्ट्रिय महासंघले सार्वजनिक यातायातमा १० लाख मानिस प्रत्यक्ष रोजगारीमा रहेको बताएको छ। महासंघले १० खर्ब डुब्ने अवस्थामा रहेको भन्दै सरकारलाई सार्वजनिक यातायात छिटो चलाउने वातावरण बनाउन भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .