कञ्चनपुरका स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि करोडौँ खर्च गरेका छन्। तर त्यो लगानीको सदुपयोग भएको देखिँदैन।
छाडा पशुचौपायाहरुको विकराल समस्या रहेको जिल्लाका ६ स्थानीय तहले करोडौँ खर्चे पनि त्यो प्रभावकारी नभएको भेटिएको हो।पशु चौपाया व्यवस्थापनको नाममा स्थानीय तहले लाखौँ रकम खर्चेर पनि समस्या ज्यूँका त्यूँ रहेको छ।
जिल्लाका सबैभन्दा बढी छाडा पशुचौपायाको समस्या रहेको सदरमुकामको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, महाकाली नगरपालिका र बेलडाँडी गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा मात्रै करोडौँ खर्चेका छन्।
आर्थिक वर्ष २०७५/०७६ मा छाडा चौपाया व्यवस्थापनमा भीमदत्त नगरपालिकाले एक करोड, शुक्लाफाँटा नगरपालिकाले ४६ लाख, कृष्णपुर नगरपालिकाले २० लाख, बेलडाँडी गाउँपालिकाले ९ लाख, बेदकोट र महाकाली नगरपालिकाले झण्डै २० लाखको हाराहारीमा खर्च गरेका छन्।फेरि अगामी आर्थिक वर्ष २०७६/०७७ को लागि पनि ठुलो रकम चौपाया व्यवस्थापनका लागि विनियोजन गरिएको नगरपालिकाहरुले जनाएका छन्।
लाखौँ लगानी गरेपनि छाडा चौपाय सोचे जस्तो व्यवस्थापन हुन नसकेको जनप्रतिनिधिहरु नै बताउँछन्। ‘केही व्यवस्थापन भयो तर फेरि नयाँ चौपाया बजारमा देखिन थालेका छन्।’ कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष जयनारायण जोशीले भने, ‘हाम्रो लगानीको राम्रो सदुपयोग हुन सकेन, समस्या बल्झिँदै गएको छ।’
छाडा पशु चौपाया व्यवस्थापन हुनुको साटो समस्या झनै बढेको स्थानीयले गुनासो गरेका छन्। छाडा चौपायाको समस्या रहेका कञ्चनपुरको स्थानीय तहले आर्थिक वर्ष २०७५/०७६ मा विनियोजन गरिएको रकमले पूर्वाधार निर्माणका साथै केही स्थानीय तहले छाडा चौपाया विभिन्न ठाउँमा पठाउने गरेका छन्।
भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा धेरै पशु चौपायाहरु पहाडी भेग तथा पूर्वतर्फबाट माग भएपछि त्यहाँ पठाइएको जनाएका छन्। ‘विभिन्न पहाडी क्षेत्रका नगरपालिकाले पशु माग गरेपछि कार्यपालिकाको निर्णय गरेर पशु त्यहाँ पठाइका छन्।’ बेदकोट नगरपालिका–२ का वडाध्यक्ष नरेश सिंहले भने।
बजारभर छाडा चौपाया
छाडा चौपाया व्यवस्थापन गर्ने भने पनि पूर्व–पश्चिम राजमार्ग, बजार क्षेत्रभर नै पशु चौपायाको समस्या जस्ताको त्यस्तै छ। पश्चिम गड्डाचौकीदेखि, सुकासाल, वनगाउँ, बसपार्कदेखि बजारका गल्ली, सुडा लालपुर, झलारी, गुलरिया, कृष्णपुरसम्म जताततै छाडा चौपाया देखिन्छन्। राजमार्गमा छाडा पशुका कारण दैनिक दुर्घटना हुने गरेको छ। करोडौँ खर्च गरेपनि छाडा चौपायाको उचित व्यवस्थापनका लागि स्थानीय तहले दिगो व्यवस्थापन गर्न सकेको छैनन्। यात्रुले राजमार्गमा दैनिक सास्ती खेप्नु परेको छ।
छाडा चौपायाका कारण किसान पनि हैरान छन्। खेतमा लगाएको बाली छाडा चौपायाले सखाप पार्ने गरेका छन्। यातायात व्यवसायी राजमार्गमा छाडा पशुका कारण समस्या निम्तिरहेको बताउँछन्। सर्वसाधारणलाई हिँडडुल गर्न समस्या छ।
गौशाला छ, पशु छैनन्
चौपाया समस्या समाधानका लागि स्थानीय तहले लाखौँ खर्चेर निर्माण गरेका ‘कान्जीहाउस’ (गौशाला) प्रयोग विहीन भएका छन्। छाडा चौपाया राख्नका लागि निर्माण गरिएका गौशाला खाली रहेका छन्। भीमदत्त नगरपालिकाले लाखौँ खर्चेर निर्माण गरेका ‘कान्जीहाउस’ (गौशाला) मा एउटा पनि पशु चौपाया नभएको भेटिएको छ। ४६ लाख खर्च गरेर भीमदत्त नगरपालिका–१९ बागफाँटा तथा रु २६ लाखमा वडा नं ९ ब्रह्मदेवस्थित सामुदायिक वनमा गौशाला निर्माण गरी सञ्चालनमा ल्याइएको थियो।
भीमदत्तमा मात्र नभएर अन्य स्थानीय तहले निर्माण गरेका कान्जीहाउस समेत खाली छन्। लाखौँ खर्चेर निर्माण गरिएको कान्जीहाउसमा एउटा पनि चौपाय नभएपछि लगानी बालुवामा पानी जस्तै भएको छ।
कृष्णपुरको दीर्घकालिन योजनाः गाई फार्म
छाडा पशु चौपाया व्यवस्थापन प्रभावकारी हिसाबले हुन नसकेको भन्दै कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा चौपाया व्यवस्थापनको नयाँ योजना ल्याएको छ। आर्थिक वर्ष २०७६÷०७७ मा दीर्घकालिन योजना अन्तर्गत छाडा पशु चौपाया व्यवस्थापन नभएको भन्दै गाई फार्म खोल्ने योजना ल्याएको हो।
छाडा गाईबस्तुहरुलाई फार्म ल्याएर गाईपालन गर्ने योजना कृष्णपुर नगरपालिकाले अघि सारेको छ। छाडा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले गाईपालनको दीर्घकालिन योजना अघि सारेको नगर उपप्रमुख रमिता रानाले बताइन्।
प्रतिक्रिया