ad ad

कारोबार


लकडाउनको एक तीरले यातायात क्षेत्रमा तीन शिकार

लकडाउनको एक तीरले यातायात क्षेत्रमा तीन शिकार

वसन्त अर्याल
असार २४, २०७७ बुधबार १०:४५,

सार्वजनिक यातायात नचल्दा अटो व्यवसायी, यातायात व्यवसायी र यातायात मजदुर प्रत्यक्ष मारमा परेका छन्। सरकारले साढे तीन महिनादेखि गरिरहेको लकडाउनले उनीहरु मारमा परेका हुन्।

गत वर्ष चैत ११ देखि सुरु भएको लकडाउन साउन ७ सम्म लम्बिएको छ। गरिखाने काम नै बन्द भएपछि यातायात व्यवसायी र मजदुरलाई समस्या भएको हो। सबैभन्दा मार भने मजदुरलाई परेको छ।

सरकारको निर्णय मान्दै यातायात बन्द गरे पनि बैंकबाट ऋणमा काम गरिरहेका व्यवसायीलाई प्रत्यक्ष मार परेको छ। यो क्षेत्रका मजदुरको त हातमुख जोर्ने बाटो नै बन्द भएको छ। उनीहरुले सडकमा निस्केर ‘काम गरेर खान देऊ’ भन्ने माग गर्न बाध्य भएका छन्।

त्यस्तै, बस, मिनीबस, माइक्रो आयात गरी बिक्री गर्दै आएका अटो व्यवसायीको पनि व्यवसाय बन्द छ। उनीहरु आफ्नो कम्पनीका कर्मचारीलाई कसरी पाल्ने, गाडी आयात गर्दाको ऋण कसरी तिर्ने भन्ने अन्योलमा रहेका छन्।

सार्वजनिक यातायातमा लगानी गरेका व्यवसायीको आम्दानी शून्य त भयो नै, गाडीमा समेत खिया लाग्ने तथा पार्टपुर्जा काम नलाग्ने र ऋण तिर्न लगातार बैंकले गरेको ताकेताले तनावमा छन्। किस्ता तिर्न ताकेता गर्ने बैंकलाई व्यवसायीले गाडीको चाबी बुझाइदिने अवस्था आएको बताएका छन्।

सार्वजनिक यातायातमा करिब १० लाख मजदुर रहेका छन्। उनीहरु काम नै नभएपछि कसरी गुजारा टार्ने चिन्ताग्रस्त छन्।

‘सार्वजनिक यातायात नचल्दासम्म अटोबजार चलायमान हुँदैन’
सार्वजनिक यातायात नचल्दा अटो बजारमा अनिश्चितता आएको व्यवसायीले बताएका छन्। यातायात व्यवसायीको लगानी डुब्ने अवस्था आउँदा नयाँ गाडी किन्न कोही तयार नभएको अटो बिक्रेताको भनाइ छ।

टाटा मोटर्सका लागि आधिकारिक बिक्रेता सिप्रदी टेड्रङ प्रालिका कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ठूलो लगानी रहेको व्यावसायिक सवारीसाधन (कमर्सियल भेहिकल) क्षेत्र नै मारमा परेको बताए।

‘साढे ३ महिनादेखिको लकडाउनले कमर्सियल भेहिकल मारमा परेका छन्। सरकारले सुरक्षाका विधि अपनाएर सवारीसाधन चलाउने व्यवस्था गर्नुपर्यो’, श्रेष्ठले भने, ‘यसो नभए त भोलि कमर्सियल भेहिकलमा लगानी गर्न कोही तयार हुँदैन। यसको सिधा असर अटोबजारमा पर्छ।’

सरकारले यातायात व्यवसायीको लगानी उठ्ने सुनिश्चित हुने गरी यातायात सञ्चालन गर्नुपर्ने उनको माग छ।

‘सरकारले ५० प्रतिशत क्षमतामा गाडी चलाउने कार्यविधि बनाएको छ’, उनले भने, ‘तर ५० प्रतिशतमा गाडी कुदाएर व्यवसायीले लागत उठाउन सक्दैन। त्यसको लागि कि भाडा बढाउने, कि व्यवसायीलाई अनुदान दिने व्यवस्था गर्नुपर्छ।’

‘गाडीमा घाँस उम्रियो, बैंकले किस्ता माग्छ’
साढे तीन महिनादेखि थन्क्याएर राख्दा गाडीमा घाँस उम्रिन थालेको यातायात व्यवसायीको भनाइ छ। ऋणमा लिएका गाडीको किस्ता तिर्न बैंकले ताकेता गर्दै आएको छ। यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गाडी गुडाउन नपाउँदा पार्टपुर्जा बिग्रिरहेको, बैंकले किस्ता तिर्न ताकेता गरिरहेको गुनासो गरे।

‘सरकारले यति लामो समय लकडाउन गरेर गाडी बन्द गराउँदा गाडी धनीले कहाँबाट किस्ता तिर्ने ?’, उनले भने, ‘गाडी सञ्चालनमा नआएसम्म बैंकको किस्ता तिर्न सकिँदैन। बरु गाडीको चाबी बैंकमा बुझाउन तयार रहेका छौँ।’

यातायात व्यवसायीले सार्वजनिक यातायातमा निजी क्षेत्रको १० खर्ब बढी लगानी रहेको बताए। व्यवसायीलाई अहिले किस्ता तिर्न अप्ठ्यारो परेको छ। बैंकहरुले किस्ता तिर्नको लागि ताकेता सुरु गरेका छन्। यो समस्यालाई सरकारले कर्जाको पुनर्तालिकीकरण गरेर सुल्झाउनुपर्ने उनले बताए।

मजदुरलाई घरभाडा तिर्न र खाना खानै समस्या
संकटको समयमा यातायात मजदुरहरुका लागि सरकारले समेत कुनै राहतका कार्यक्रममा नल्याउँदा दर्दनाक अवस्थामा रहेको यातायात मजदुरले बताएका छन्।

मजदुरहरुको सुरक्षा ग्यारेण्टी गर्नुपर्ने, बीमा, स्वास्थ्य सामग्रीको व्यवस्थासहित आवश्यक प्रोटोकल उपनाएर यातायात सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्।

‘निजी सवारीसाधन जस्तै बरु जोरविजोर प्रणालीमा १ पटकमा १ जना बोकेर ट्याक्सी चलाउन हामी तयार छौँ’, काठमाडौंमा ट्याक्सी चलाउँदै आएका शिवराज सापकोटाले भने, ‘न राहत, न काम हामी कसरी बाँच्ने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .