ad ad

कारोबार


सोल्टी होटलबाट बाहिरिन लागेको ७२ करोड रोकियो

सोल्टी होटलबाट बाहिरिन लागेको ७२ करोड रोकियो

दीपक भट्ट
असार २४, २०७७ बुधबार १२:२७,

सोल्टी होटलबाट बाहिरिन लागेको सेयर लगानी रोकिएको छ।

७२ करोड ५० लाख रुपैयाँ मूल्याङ्कन भएको होटलको सेयर बिक्री गरेर विदेशी लगानीकर्ता बाहिरिन लागे पनि कोरोना संक्रमण तथा त्यसपछि भएको लकडाउनको कारण तत्काल नबाहिरिने निर्णय भएको हो।

उपत्यकामा रहेको पाँचतारे होटल सोल्टीमा १० प्रतिशत लगानी रहेको हङकङको कम्पनी ‘होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेड’ले सोल्टीमा गरेको लगानी फिर्ता लैजाने निर्णय गरेको थियो।

गत कात्तिकमा आफ्नो निर्णय कम्पनीले सञ्चालक समितिमा राखेको थियो। सोहीअनुसार होटल सञ्चालक समिति बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको समूहले उक्त सेयर किन्ने निर्णय समेत भएको थियो।

सोअनुसार सेयर खरिदबिक्रीको प्रक्रिया सुरु भएको थियो। साधारण र बोनस सेयर हङकङको कम्पनीको रहेकोले सिधै खरिदबिक्री गर्न मिल्ने वा नमिल्ने भन्ने विषय कम्पनी रजिष्ट्रारको कार्यालय र उद्योग विभागसम्म पुगेको थियो। विभागले नेपाल स्टक एक्स्चेन्ज(नेप्से)मा रायको लागि पत्र समेत पठाएको थियो।

तर नेप्सेले ब्लक सेयर भएकोले मिल्ले भन्ने राय दिएको थियो। सोअनुसार हङकङको कम्पनीले बिक्री गर्ने र ज्ञानेन्द्र शाह समूहको कम्पनी सोल्टी इन्टर प्राइजेजले खरिद गर्ने प्रक्रिया अघि बढेको थियो। यसै बीचमा कोरोना संक्रमण र विश्वव्यापी लकडाउन सुरु भयो।

लकडाउनकै बीच सोल्टी होटलमा सो सेयर खरिदबिक्रीको सम्बन्धमा बैठक बसेको एक सञ्चालकले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार उक्त बैठकले हाललाई सेयर खरिद पनि नगर्ने र बिक्री पनि नगर्ने निर्णय गरेको छ।

सोहीअनुसार अहिले उद्योग विभागलाई समेत खरिदबिक्रीको प्रक्रिया रोक्न होटल सञ्चालक समितिले पत्र लेखेको छ।

उक्त पत्रमा भनिएको छ, ‘होटलमा रहेको विभिन्न कम्पनीको सेयर स्वामित्व फेरबदल तथा घटबढ गर्नको लागि थालिएको प्रक्रिया यथास्थितिमा रोक्न आग्रह गरिन्छ। सञ्चालक समितिले सो बारेको निर्णय फिर्ता लिएको छ।’ 

सोल्टी होटलमा होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको १० प्रतिशत, इन्टरप्राइज प्रालिको ३९ दशमलव ५७, वायुसेवा निगमको १२ दशमलव २६ र सर्वसाधारणको ३८ दशमलव १७ प्रतिशत लगानी रहेको छ।

यसकारण लगानी फिर्ता रोकियो
एक सञ्चालकका अनुसार होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको हङकङमा तथा मकाउका विभिन्न होटलमा लगानी रहेको छ।

नेपालमा लगानी भएको पैसा पनि उतै लगानी गर्ने फिर्ता लान खोजेको थियो। तर थप लगानी गर्ने वातावरण अहिले नभएकोले होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेड सेयर बिक्री नगर्ने बताएकोले हाललाई सो प्रक्रिया समेत रोकिएको हो।

२०२२ मंसिर १० गते सयवटा कोठाबाट सेवा सुरु गरेको उक्त होटलको तत्कालीन समयमा राजा महेन्द्रले उद्घाटन गरेका थिए।

यो होटलमा ५ वटा इनसाइट रेष्टुरेन्ट रहेका छन्। होटल परिसरमा क्यासिनो समेत सञ्चालनमा छ।

उक्त होटलले विशेष गरी भारतीय पर्यटकको लागि केन्द्रित गरेर नेपालगञ्जमा आफ्नो भगिनी होटल समेत सञ्चालनमा ल्याइसकेको छ।

कैलाश मानसरोवरको लागि नेपालको बाटो हुँदै जाने पर्यटकको लागि केन्द्रित गरेर खोलिएको ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ नामको उक्त होटलमा समेत ज्ञानेन्द्र शाह समूहले १ अर्ब रुपैयाँ लगानी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .