ad ad

कारोबार


लकडाउनले आधा घट्यो विज्ञापन बजार, व्यवसायी भन्छन्ः आत्तिनुपर्दैन, छिट्टै लयमा फर्किन्छ

लकडाउनले आधा घट्यो विज्ञापन बजार, व्यवसायी भन्छन्ः आत्तिनुपर्दैन, छिट्टै लयमा फर्किन्छ

सन्तोष न्यौपाने
असार ३०, २०७७ मंगलबार ११:५५,

विश्वव्यापी महामारी कोरोना संकटको सिधा असर अर्थतन्त्रमा पर्दा त्यसले विज्ञापन बजारमा पनि प्रत्यक्ष प्रभाव परेको छ।

लकडाउनका कारण अर्थतन्त्र चलायमान गर्ने केहीबाहेक अधिकांश कारोबार ठप्प हुँदा झण्डै चार महिनायता विज्ञापन बजार आधा घटेको विज्ञापन एजेन्सीहरुले बताएका छन्।

विज्ञापन बजार घटेसँगै सञ्चारमाध्यममा पनि यसको ठूलै प्रभाव परेको छ।

एएनएस क्रिएसनका म्यानेजिङ डाइरेक्टर सुदिप थापाले लकडाउनको अवधिमा समग्रमा विज्ञापन बजार झण्डै ६० प्रतिशतले घटेको बताए।

‘पत्रपत्रिकादेखि अनलाइनसम्मका विज्ञापन घटेका छन्’, नेपालखबरसँग कुरा गर्दै थापाले भने, ‘पत्रपत्रिकामा धेरै घटेको छ भने अनलाइनमा केही धानिएको छ।’

उनका अनुसार पत्रपत्रिकाको विज्ञापनमा ८० प्रतिशतसम्म घटेको छ। अहिले विज्ञापन व्यवसायमा रहेका व्यवसायीहरुलाई सबैभन्दा ठूलो चुनौतीको समय रहेको थापाको भनाइ छ।

वेलकम एड्भरटाइजिङका अध्यक्ष निर्मलराज पौडेलले भने नेपाली विज्ञापन बजार घट्ने क्रम दुई वर्षदेखि सुरु भएको बताए। नयाँ सरकार आएसँगै गाडीको ऋणको सुविधा, विज्ञापनमा सिलिङ लगाएका कारण विज्ञापन घट्दै गएको उनको भनाइ छ।

‘त्यही परिप्रेक्ष्यमा कोरोना महामारी आउँदा झन् भयावह भयो’, पौडेलले भने, ‘यो महामारीले ७० देखि ७५ प्रतिशत विज्ञापन व्यवसाय घटेको छ।’

यो अवधिमा विज्ञापन बजार यति धेरै घट्नुमा विज्ञापन नीति राम्रो नहुनु मुख्य कारण भएको उनको भनाइ छ। लकडाउनको अवधिमा राम्रो कारोबार भएका चाउचाउ, चामल, तेल, दाल, स्वास्थ्य सामग्रीहरुले समेत विज्ञापन नगरेको उनले बताए।

‘केही वस्तुको राम्रो बजार भएर पनि विज्ञापन भएन’, पौडेलले भने, ‘सरकारको विज्ञापन नीति प्रभावकारी नहुँदा अलिकति कार्टेलिङ गरेजस्तो देखिन्छ।’

पछिल्लो केही दिनदेखि लकडाउन खुकुलो भएसँगै बजार आशावादी भएको छ। तर, बजारमा आर्थिक गतिविधि भने खासै भएको छैन।

लकडाउन खुकुलो भएपछि पनि आर्थिक चलायमान नभएकाले विज्ञापन बजारमा त्यत्ति धेरै फरक नपरिसकेको व्यवसायीहरुको भनाइ छ।

आत्तिनुपर्दैन, छिट्टै लयमा फर्किन्छ
पाँच वर्षअघिको शक्तिशाली भूकम्पपछि मुलुकको अर्थतन्त्रमा ठूलो धक्का लाग्दा पनि विज्ञापन बजार नकारात्मक हुने र अप्ठ्यारो परिस्थिति सृजना हुने आँकलन थियो।
तर, सबैले गरेको अनुमानजसरी विज्ञापन बजारले समस्या भोग्नु नपरेको थापाले बताए।

‘त्यो बेला बजार यति राम्रोसँग चलायमान भयो, त्यसको कभरअप ६ महिनामै भएको थियो’, थापाले भने, ‘अहिलेको अवस्थामा पनि सबैतिर सकारात्मक सोच बनाएर गयौँ भने छिट्टै लयमा फर्किन्छौँ।’

नेपालको विज्ञापन बजार ठूलो नभएकाले छिट्टै लयमा फर्किने उनले बताए। विज्ञापन बजारलाई लयमा फर्काउने विषय सम्बन्धित सरोकारवालाको हातमै रहेको उनको भनाइ छ।

बजारमा आफैँ सुधार नआउने भएकाले यसका सरोकारवालाहरु मिडिया, एड्भरटाइजिङ एजेन्सीहरु, उपभोक्तालगायतले सकारात्मक सोच राखेर बजारलाई डो¥याउनुपर्ने उनले बताए।

आर्थिक क्षेत्र चलायमान हुन बजारलाई चलायमान बनाउनुपर्छ। बजार चलायमान बनाउनमा मुख्य भूमिका विज्ञापनको हुन्छ।

‘बजार चलायमान भएर विज्ञापन दिने कि विज्ञापन दिएर बजार चलायमान बनाउने भन्ने दुई सोच छन्’, थापाले भने, ‘विज्ञापन भनेको लगानी हो। त्यसैले विज्ञापन दिएर बजारलाई चलायमान बनाउन कोशिस गर्नुपर्छ।’

नेपालको विज्ञापन बजार १०/१२ अर्बको सानो भएकाले ‘रिकभरी’ गर्न समय नलाग्ने पौडेलको भनाइ छ।

विज्ञापन एजेन्सी, मिडिया व्यवसायी, विज्ञापन दाता, सरकार बसेर नै दीर्घकालीन रुपमा कसरी विज्ञापन बजारलाई व्यवस्थित र बलियो बनाउने भन्नेबारे छलफल गर्नुपर्ने उनको भनाइ छ।

‘सीएसआर कति हुनुपर्ने, ब्रान्ड विज्ञापन कसरी गर्नेलगायतका विषय स्पष्ट हुनुपर्छ’, पौडेलले भने, ‘बैंक, इन्स्योरेन्स, रक्सीलगायतमा लगाइएको विज्ञापन सिलिङ हटाउनुपर्छ।’

त्यस्तै क्लिन फिडलाई अविलम्ब लागू गर्नुपर्ने र नीति परिवर्तन गरे विज्ञापन बजार अझ धेरै बढाउन सकिने उनी बताउँछन्।

लकडाउनमा ६ अर्बले खुम्चियो विज्ञापन बजार
लकडाउनकै कारण मुलुकको विज्ञापन बजारमा झण्डै ६ अर्बको कारोबार घटेको सरोकारवालाहरुको भनाइ छ।

नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्र कुमार रिजालले मुलुकको कुल विज्ञापनको बजार १२ अर्ब रुपैयाँको रहेको उल्लेख गर्दै अहिले ५० प्रतिशतले घटेको बताए।

कोरोना भाइरस संक्रमण बढेपछि भने ४ महिनाको अवधिमा विज्ञापन बजार ८० प्रतिशतले घटेको रिजालले बताए।

‘यो भनेको वर्षभरमा ५० प्रतिशतले घटेको हो’, रिजालले भने, ‘यो वर्ष ६ अर्बमा विज्ञापन बजार खुम्चिएको छ।’

अर्को वर्ष पनि कति व्यापार हुने र विज्ञापन बजार कति हुने भन्नेमा अनिश्चित रहेको उनले बताए।

सरकारले कात्तिक महिनादेखि क्लिनफिड (विज्ञापनरहित च्यानल) लागू गर्ने भनेको छ। क्लिनफिड लागू भएपछि भने अहिलेको विज्ञापन बजारको ५० प्रतिशत वृद्धि हुने विज्ञापन संघको अनुमान छ। यसको अर्थ अहिलेको १२ अर्बको विज्ञापन बजारमा क्लिनफिड लागू भएपछि ६ अर्बको थप बजार विस्तार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .