ad ad

कारोबार


ऋणीलाई राहतसहितको मौद्रिक नीति आज सार्वजनिक हुँदै, बहुप्रतीक्षामा उद्योगी–बैंकर

ऋणीलाई राहतसहितको मौद्रिक नीति आज सार्वजनिक हुँदै, बहुप्रतीक्षामा उद्योगी–बैंकर

नेपालखबर
साउन २, २०७७ शुक्रबार ६:५४,

बजेट र नीति तथा कार्यक्रमले समावेश गरेको विषयलाई सहयोग पुग्ने गरी आज मौद्रिक नीति सार्वजनिक हुँदै छ। 

कोभिड १९ को महामारीले उद्योग तथा व्यवसाय क्षेत्रमा पारेको असरलाई सम्बोधन गर्ने तथा बजेटले राखेको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पछ्याउने गरी मौद्रिक नीति आउने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही दिनअघि नै बताइसकेका छन्।

यसपटकको मौद्रिक नीति विशेष र विषम परिस्थितिको भएकोले सोहीअनुसार तर्जुमा गरिएको छ। साना, घरेलु, मझौला उद्योगी व्यवसायीदेखि बैंकरहरुले समेत यसको प्रतीक्षा गरिरहेको सन्दर्भमा अर्थतन्त्रलाई चलायमान बनाउने गरी र कोभिडले पारेको प्रभावलाई सम्बोधन गर्ने गरी आउने आशा सबैले राखेका छन्।

यो नीतिले यो वर्ष भने लगानीकर्ताहरुलाई समेत सहयोग पुग्ने ऋणमा सहुलियत दिनेछ।

विशेष गरी ऋण तिर्न नसकेको लगानीकर्ताहरुलाई राहत पुग्ने गरी सहुलियतहरु घोषणा हुनेछ। त्यस्तै लगानीकर्ताहरुलाई राहत पुग्ने गरी बैंकहरुलाई निर्देशनात्मक नीतिहरु आउने अपेक्षा गरिएको छ।

उक्त मौद्रिक नीति राष्ट्र बैंकको बोर्डको आज बिहान बसेको सञ्चालक समितिको बैठकबाट पारित भइसकेको छ।

संसदको अर्थ समितिले बिहीबार मात्रै राष्ट्र बैंकलाई कोभिड १९ ले उद्योग व्यवसायमा पारेको प्रभाव मूल्यांकन गरी सोहीअनुसार राहत, सहयोगको व्यवस्था गर्न उद्योगी व्यवसायीलाई दिएको कर्जाको ब्याज पुँजीकरण, पुनर्तालिकीकरण गर्न र नगद काराेबारलाइ विद्युतीय माध्यममा रूपान्तरण गर्न निर्देशन दिएको थियो।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि हिजो मात्रै आयातमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्ने, विलासी खर्च कटौती गर्ने र अनुत्पादक क्षेत्रको कर्जा प्रवाह कम गर्ने मौद्रिक नीति ल्याउन सुझाव दिएको थियो।

यसअघि नै उद्योगी व्यवसायीहरुले तारन्तार ब्याजदर घटाउन, कर्जाको पुनर्तालिकीकरण गर्ने लगायतका नीतिगत व्यवस्था गर्न माग गर्दै राष्ट्र बैंकका गभर्नर, पदाधिकारीसँग भेटेरै निवेदन गरेका थिए। गभर्नर अधिकारीले पनि यी कुरालाई मध्यनजर गरी दिन सकिनेसम्मको सहुलियत प्याकेजसहितको व्यवस्था गर्ने आश्वासन दिँदै आएका छन्।

यस्तोमा यसपटकको मौद्रिक नीति ठप्प अर्थतन्त्रलाई पुनर्जागृत गर्ने र लकडाउनले समस्यामा परेकाहरुलाई समेत सम्बोधन गर्ने गरी आउने आँकलन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .