ad ad

कारोबार


फुर्सदिला भए सौराहाका हात्ती, जाेगाउनै महासंकट

फुर्सदिला भए सौराहाका हात्ती, जाेगाउनै महासंकट

कृष्ण आचार्य
साउन २, २०७७ शुक्रबार ९:५७,

हात्ती सुन्दरी प्रतियोगिताको ताज पहिरिएकी– पिंकी कली। सन् २०१४ को उपाधि चुमेकी उनी वर्षौंदेखि सौराहाको हात्ती सफारीकी सारथी पनि हुन्। तर साढे तीन महिना भयो– पिंकीले हात्तीसार छोड्न पाएकी छैनन्।

कोभिड– १९ को महामारीले मानिस घरबाहिर निस्कन नसक्दा जंगल घुमाउने पिंकीको दैनिकी यतिखेर हात्तीसारको चौघेरामा कैद हुनपुगेको छ। हौदा (आसन) मा देशीविदेशीलाई राखेर जंगल घुमाउने उनी बाहिर निस्कन पाएकी छैनन्। सौराहाका जंगल सफारीका सहयात्री हात्ती पहिलो पटक यसरी फुर्सदिला बनेका छन्।

मानिस घरभित्रै रहे पनि जीवजन्तु र पशुपक्षीले भने शान्त र खुलेको प्रकृतिमा रमाउन पाएका छन्। तर सौराहामा रहेका हात्तीलाई भने मानिस जस्तै लकडाउनमा बस्नुपरेको छ। हात्ती फुर्सदमा रहेका बेला हात्ती धनी भने तनावमा छन्। पर्यटक नआउँदा सबै आम्दानी गुमेको हात्तीपालक व्यवसायी विनोद तिमिल्सिना बताउँछन्। उनले हात्ती पाल्नका लागि पहिलोपटक महासंकट झेल्न परेको गुनासो गरे।

सौराहामा ७० वटा हात्ती छन्। हात्तीले एकपटकमा चार जनासम्मलाई बोकेर बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वनभित्र सफारी गराउँथे। डेढ घण्टासम्म लाग्ने ४०० हेक्टर जंगल क्षेत्रमा उनीहरुले दिनमा चारपटकसम्म पर्यटक बोक्नुपर्थ्यो। कहिले काही त उनीहरुलाई भ्याइ नभ्याए हुन्थ्यो। तर गत चैत ११ देखि सुनसान सौराहाका यी हात्ती पनि लकडाउनमै छन्। चितवनको पर्यटन व्यवसाय धानेका हात्ती अहिले खानै नपाउने अवस्थमा पुगेको उनले बताए।

‘कोरोनाको यस महामारीमा सबैलाई संकट परेको छ। हात्तीलाई चर्ने ठाउँ नै भएन। त्यसैले हामीले चितवन निकुञ्जसँग चर्ने ठाउँको प्रबन्ध होस् भन्ने माग गरेका छौँ’, उनले भने।

निकुञ्जले सौराहा नजिक राप्ती नदी पारीे हात्ती चर्न स्वीकृति दिएको थियो। लकडाउन शुरु भएपछि गत चैत १५ देखि त्यहाँ हात्ती चरेका थिए। तर गतजेठ १८ पछि चराउन नदिएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषिराम तिवारीले गुनासो गरे।

हात्ती सवारी सौराहाको मुख्य चिनारी मात्रै होइन, आन्दानीको मुख्य स्रोत पनि हो। निजी क्षेत्रबाट पालिएका ती हात्तीले पर्यटनको मुख्य समय (सिजन) मा दैनिक ६०० पर्यटकलाई जंगल डुलाउथे। अहिले, महामारीले सबै ठप्प मात्रै छैन, सफारीकै व्यवसाय गर्दै आएकालाई हात्ती कसरी जोगाउने भन्ने पिरलो परेको छ।

घरपालुवा हात्ती निकुञ्जभित्र छिर्न नपाउने नीति रहेको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन नारायण रुपाखेतीले बताए। तर संकटको अवस्थामा आफूले केही सहयोग गरेको तर नीतिकै उल्लंघन हुने गरेर सधैँलाई हात्ती चराउन दिने पक्षमा आफू नरहेको उनले जानकारी दिए।

‘मैले अलि समय व्यावहारिकता हेर्ने कुरा हुन्छ। चराउन पाउने नीति बन्छ भने मैले रोक्ने कुरा भएन। यसका लागि विभाग वा मन्त्रालयले नीति बनाएर दिन पर्यो’, उनले भने। हात्ती सफारी र जीप सफारीका लागि स्वदेशी तथा विदेशी पर्यटक सौराहा आउने गरेका छन्। एउटा हात्ती पाल्नका लागि मासिक करिब रु एक लाखसम्म खर्च हुने व्यवसायीको भनाइ छ।

हात्तीका लागि दिनमा दुई क्विन्टल घाँस पराल, २०० लिटर पानी, २० केजी धान, एक किलो चना र एक पाउ नून आवश्यकता हुन्छ। माहुते र सुसारे तथा खानपानमा हात्तीका लागि महिनामा ७० हजारदेखि रु एक लाखसम्म खर्च हुने व्यवसायी बताउँछन्। यहाँको हात्ती सफारीबाट करिब २०० ले रोजगारी पाएका थिए। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले हात्तीको राजधानी भनिने चितवनका हात्ती महासंकटमा पुगेको बताए।

‘संघकोतर्फबाट चरिचरनको व्यवस्था मिलाउन अनुरोध गरेका छौँ’, उनले भने, ‘हात्ती संरक्षण गर्नु सरकारको पनि दायित्व हो।’ उनले खानपानमा कमी हुँदा हात्तीको स्वास्थ्यमा समेत समस्या हुने चिन्ता थपिएको बताए।

हात्ती सफारीमा निजी हात्ती मात्रै प्रयोग हुने गरेका छन्। निकुञ्जभित्र निजी हात्ती जान नपाउने नियमका कारण मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी हुने गरेको छ। हात्ती सफारीबाट मध्यवर्ती वनले वर्षमा डेढ करोड रुपैयाँसम्म आम्दानी गर्दछन्।

निकुञ्ज स्थापना हुँदादेखि नै सौराहामा हात्ती सफारी शुरु भएको हो। यहाँको पर्यटनको मुख्य आधार हात्ती सफारीकै भरमा होटेलसहित अन्य पर्यटकीय गतिविधि हुन्छन्। सौराहामा वर्षमा दुई लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। तीमध्ये ९० प्रतिशत पर्यटक हात्ती चढेर जंगल घुम्न जान्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .