ad ad

कारोबार


आन्तरिक उडानमा नेपाल वायुसेवा निगमको हिस्सा शून्य!

आन्तरिक उडानमा नेपाल वायुसेवा निगमको हिस्सा शून्य!

वसन्त अर्याल
साउन ५, २०७७ सोमबार १२:९,

आन्तरिक उडानमा नेपाल वायुसेवा निगमको बजार हिस्सा लगभग शून्यप्रायः हुने भएको छ। निगम सञ्चालक समितिले साउन १५ बाट चिनियाँ जहाज नचलाउने निर्णय गरेसँगै आन्तरिक बजार हिस्सा कटौती हुने भएको हो।

सञ्चालक समितिले एमए६० का दुई र ४ वटा वाई१२ई चिनियाँ जहाजका कारण करिब वार्षिक ५० करोड घाटा भएको भन्दै जहाज सञ्चालन नगर्ने निर्णय गरिसकेको छ।

निगमको आन्तरिक उडानमा ८ जहाज भए पनि अधिकांश चिनियाँ जहाज लामो समयदेखि ग्राउन्डेड अवस्थामा छन्। निगमले लकडाउनअघि एमए ६० र वाई १२ ई का एक–एक जहाज मात्रै सञ्चालन गरिरहेको थियो।

निगमले जहाज ग्राउन्डेड भइसकेपछि स्पेयर पार्टस अर्डर गर्दा अत्यधिक समय लाग्ने र अर्डर गरेको २ महिनासम्म पनि प्राप्त गर्न नसकिएको भन्दै जहाज ग्राउन्डेड गरिरहेको थियो।

आन्तरिक बजारमा राम्रो कमाइ हुने ट्रङ्क रुट (सुगम मार्ग)मा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेको निगमको दुर्गममा पनि आफ्नो सेवा कटौती हुँदै छ।

चिनियाँ जहाज सञ्चालन नगरे आन्तरिक उडानको लागि निगमसँग २ वटा ट्विनअटर जहाज रहेका छन्।

‘चिनियाँ जहाजबाहेक दुईवटा ट्विनअटर त रहेका छन्’, निगमका प्रवक्ता अर्चना खड्काले भनिन्, ‘दुईवटा ट्विनअटरमार्फत दुर्गममा उडान जारी रहन्छ।’

निगमसँग भएका ट्विन अटरको सिट क्षमता जम्मा १९ मात्रै हो।

६२ वर्ष पुरानो नेपाल एयरलाइन्सले लामो समय एकछत्र राज गरेको आन्तरिक उडानमा अब बजार हिस्सा लगभग शून्यमा झर्नु दुःखद रहेको निगमका एक सञ्चालक सदस्यले बताए।

निगमले दुई वाइडबडी र दुुई न्यारोबडी जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

चिनियाँ जहाजको ठाउँमा नयाँ जहाज ल्याउने योजना
यसैबीच, वायुसेवा निगमले चिनियाँ जहाजको ठाउँमा नयाँ जहाज खरिद गर्ने योजना बनाएको छ। निगमले नयाँ जहाजको लागि अध्ययन समेत गरिसकेको छ।
‘केही समय ट्विनअटर चलाउने त्यसपछि नयाँ जहाज खरिद गर्ने योजना रहेको छ’, प्रवक्ता खड्काले भनिन्, ‘नयाँ जहाज खरिदसम्बन्धी अध्ययन रिपोर्ट आइसकेको छ। मन्त्रालयको निर्देशन कुरेर बसेका छौँ।’

उनले ट्रंक रुट र स्टल रुट (सुगम र दुर्गम) दुवै रुटका लागि अध्ययन भएको बताएकी छन्।

निगमले नयाँ जहाज खरिद गर्ने भने पनि सहज भने नभएको एक सञ्चालक सदस्यले बताए।

‘निगमको ऋण मात्रै करिब ४० अर्ब रहेको छ’, उनले भने, ‘नयाँ जहाज खरिदको लागि पनि ऋण नै आवश्यक छ। कसरी ऋण व्यवस्थापन गर्ने तयारी गरेका छौँ।’

उनले वाइडबडी र न्यारोबडी खरिद गर्दा ऋणको ब्याजदर बढी भएको भन्दै सस्तो ब्याजदरमा ऋण खोज्न सकिने बताए। ऋण कसरी ल्याउने भन्ने विभिन्न विकल्पमा अध्ययन भइरहेको उनको भनाइ छ।

‘हामीले नयाँ जहाज ल्याएर नाफा कमाउनसक्ने सम्भावना छ तर अहिलेजस्तो १०-१२ प्रतिशत ब्याजदरमा ऋण लिएर नयाँ जहाज खरिद गर्दा फेरि समस्या हुनसक्छ’, उनले भने, ‘स्रोत हामी आफैँ व्यवस्थापन गर्छौँ। सरकार जवानी मात्रै बस्दा हुन्छ।’

उनले ऋण तिर्न नसके जहाज सरकारकै हुने भएकाले जमानी बस्दा फरक नपर्ने बताए।

निगमले सुगममा २ र दुगर्ममा २ गरी ४ जहाज खरिद गर्ने सकिने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .