ad ad

कारोबार


लगानीयोग्य रकम थुप्रिएसँगै बैंकहरुले घटाउन थाले ऋणको ब्याजदर, कुनको कति?

लगानीयोग्य रकम थुप्रिएसँगै बैंकहरुले घटाउन थाले ऋणको ब्याजदर, कुनको कति?

नेपालखबर
साउन ८, २०७७ बिहिबार १२:३२,

बजारमा अधिक तरलता प्रवाहसँगै बैंकहरुले ऋणको ब्याजदर घटाउनथालेका छन्। बैंकहरुले ऋणको ब्याजदर एकल अंकमा ल्याएको जानकारीसहित सूचना जारी गर्नथालेका हुन्।

अहिले राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंकहरुमा करिब १ खर्ब ६६ अर्ब रुपैयाँ लगानीयोग्य पैसा रहेको र मौद्रिक नीतिले सीसीडी रेसियो समेत ८० बाट ८५ प्रतिशत पुर्याएपछि बैंकहरुको लगानी बढ्दै छ।

साथै लकडाउनको कारण ऋण माग कम भएको र लकडाउन खुलेपछि माग आउने क्रम जारी रहँदै गर्दा बैंकहरुले कर्जाको ब्याजदर घटाउनथालेका हुन्।

यस्तो छ बैंकहरुको ब्याजदर
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर बुधबारदेखि एकल अंकमा हुने गरी तोकेको छ। बैंकले तोकेको ब्याजदरसम्बन्धी यो व्यवस्था कार्यान्वयनमा समेत आएको जनाएको छ। योसँगै अब बैंकका नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत मात्रै हुने गरी तोकिएको छ। हाल बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ। बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २ सय ४० वटा शाखा कार्यालय, २ सय ५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ।

ग्लोबल आईएमई बैंक लिमिटेड
ग्लोबल आइएमई बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले नयाँ ब्याजदरसहितको योजना सार्वजनिक गरेको छ।

ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् र यस कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहनेछ। यसैगरी बैंकले ८.९९ प्रतिशतमा गाडी कर्जा र ९.४९ प्रतिशतमा सेयरको धितोमा कर्जा प्रवाह गर्ने जानकारी गराएको छ।

सनराइज बैंक
सनराइज बैंकले आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पुँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले ‘सनराइज सरल एसएमई कर्जा’ ९.९५ प्रतिशत वार्षिक ब्याजदरमा दिने भएको छ।

उक्त योजनाअन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्यघण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको समेत जानकारी दिएको छ।

प्राइम बैंक
नौ दशमलव ८७ प्रतिशत बेसरेट (आधार दर) रहेको प्राइम बैंकले भने ४ देखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेर ब्याजदर तय गरिने जनाएको छ। प्राइमले बचत खातामा साढे ५ प्रतिशतसम्म ब्याज दिने सूचना प्रकाशित गरेको छ। मुद्दती निक्षेपमा भने ८ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख गरेको हो।

नबिल बैंक
नबिल बैंकले ऋणीलाई ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ। नबिल बैंकले वार्षिकोत्सव योजना सार्वजनिक गर्दै सम्पूर्ण ऋणीलाई उक्त सुविधा दिने घोषणा गरेको छ। उक्त योजनाअन्तर्गत बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष ब्याज छुट दिने भएको छ।

यसअन्तर्गत ग्राहकले घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ प्रतिशत र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशतसम्म छुट पाउनेछन्।

एनआइसी एसिया बैंक
एनआईसी एसिया बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा विभिन्न कर्जाहरु उपलब्ध गराउने जनाएको छ। उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने बैंकको भनाइ छ।

सुपर चामत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहने ग्राहकले यस योजनाको लाभ लिन सक्नेछन्। न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम १ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ।

यसअन्तर्गत अधिकतम ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको हो। घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोरेटोरियम अवधि लिन सकिने र उक्त मोरेटोरियम अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्नसक्ने समेत सुविधा छ।
यसबाहेक ‘फ्लेक्जिवल ईएमआई’मार्फत ग्राहकले आफ्नो आर्थिक क्षमताअनुसारको आफूले तिर्नसक्ने ईएमआई वार्षिक रुपमा आफैँले निधारण गरेर भुक्तानी गर्नसक्ने सुविधा उपलब्ध रहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .