ad ad

कारोबार


के ढकाल प्यानलको जित सुनिश्चित देखेर उद्योग महासंघको निर्वाचन सारिएको हो?

के ढकाल प्यानलको जित सुनिश्चित देखेर उद्योग महासंघको निर्वाचन सारिएको हो?

दीपक भट्ट
साउन ९, २०७७ शुक्रबार १२:२५,

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा चैत २८ गते हुनुपर्ने विधानमै उल्लेख छ।

हरेक ३ वर्षका लागि महासंघको नयाँ कार्यसमिति बन्छ। नयाँ कार्यसमितिको निर्वाचन पनि साधारणसभामा नै गर्नुपर्ने हुन्छ। सोही कारण गत वर्ष चैत २८ र २९ गते नयाँ साधारणसभा र निर्वाचनको मिति तय भएको थियो।

तर कोभिड–१९ को कहर सुरु भयो। सरकारले चैत ११ गतेदेखि नै लकडाउनको घोषणा गर्यो। त्यसपछि महासंघको निर्वाचन पनि सर्यो। तर अहिले लकडाउनको बहाना बनाउँदै महासंघ कार्यसमितिले विधानविपरीत समेत काम गर्नथालेको छ।

महासंघको विधानअनुसार निर्वाचन तथा साधारणसभाको मिति सार्नको लागि कार्यकारिणी समितिले निर्णय गर्नुपर्छ। तर महासंघको पदाधिकारी बैकठले चैत २८ र २९ गतेको निर्वाचन मिति सारेर जेठ ७ मा पुर्यायो। त्यो समयमा पनि निर्वाचन हुनसकेन। त्यसपछि पुनः नयाँ मिति पदाधिकारी बैठकले नै सार्यो। जुन मिति यही साउन २६ र २७ गतेको लागि तय भएको थियो।

मिति सारिरहँदा महासंघमा विधानविपरीत अर्को काम पनि भएको छ। चैत महिनाभरिमा निर्वाचन हुन नसके बढीमा २ महिना मात्रै लम्ब्याउन सकिने विधानले व्यवस्था गरेको छ। तर विधानविपरीत गएर काम हुनथालेपछि त्यसको विरोध भएको छ।

यसैबीच, पुनः मिति सार्ने तयारीमा महासंघको नेतृत्व लागिपर्यो। यस्तो अवस्थामा कार्यकारिणी समितिको बैठक बोलाउँदा त ठूलै विवाद हुने देखेपछि महासंघ नेतृत्वले पदाधिकारी बैठक मात्रै बोलायो।

chandra dhakal ummedwari 1

त्यसमा पनि विरोध र ठूलै बहस हुने देखिएपछि सबै पूर्वअध्यक्षहरुलाई अध्यक्ष भवानी राणाले निम्तो गरिन् तर पूर्वअध्यक्ष विनोद चौधरीलाई भने बैठकमा निम्तो नै गरिएन।
जुन बैठक हिजो अर्थात् ८ गते भएको थियो।

बैंकठमा विशेषगरी पूर्वअध्यक्ष चण्डीराज ढकाल, एसोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र वस्तुगत उपाध्यक्ष उमेशलाल प्रधानले विधानविपरीत काम भइरहेको र मिति पर–पर धकेलिरहनु उचित नभएको कडा रुपमा बताएका थिए। त्यसको बाबजुद पनि पछिल्लो समय तोकिएको मितिमा पनि निर्वाचन नहुने निर्णय उक्त बैठकले गर्यो।

महासंघका किशोर प्रधान र चन्द्र ढकालले आआफ्नो नेतृत्वमा दुई प्यानलसहित निर्वाचनमा जाने घोषणा नै गरिसकेका छन्।

कोरोना महामारीको बहानामा निर्वाचन मिति सारिरहनेजस्तो विधानविपरीतका काम भएपछि वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्र ढकाल प्यानलले राणाको नेतृत्वमाथि विभिन्न आरोप लगाएको छ।

शुक्रबार पत्रकार सम्मेलन नै गरेर उसले मिति सार्ने निर्णयमा विरोध र आपत्ति जनाएको छ। ढकाल पक्षले आफूलाई ‘बलियो’ देखाउँदै अहिले नै निर्वाचन गरिए ‘प्रधान प्यानल’ हार्ने निश्चित रहेकोले मिति सारिएको आरोप लगाएको हो।

पत्रकार सम्मेलनमा एसोसिएट उपाध्यक्ष रहेका व्यवसायी ढकालले रणनीतिक रुपमा आफू कमजोर नरहेको र निर्वाचन सारिनु उचित नभएको ‘विनम्र’ तरिकाले बताए पनि उनका प्यानलका अरु वक्ताहरुले भने खरो रुपमा ‘हामी बलियोे देखेर नै मिति सारिएको’ आरोप लगाए।

तर ढकालले सिधै उनीहरुको भाषा नबोलेर ‘साधारणसभा स्थगित गरेर अर्को मिति तय नगरिँदा यसले कानुनीमात्र नभई महासंघको नैतिक र सामाजिक जगसमेत कमजोर बनाएको’ बताए।

उनको भनाइ थियो, ‘साढे ५ दशक पुरानो संस्था कानुनी रुपमा इतिहासमै कमजोर अवस्थामा पुगेको बेला यसलाई कम्तीमा चुनावी दाउपेचको शिकार बनाउनु हुँदैनथ्यो। यो आफैँमा दुर्भाग्यपूर्ण छ।’

कोभिड–१९ को कारण मर्कामा परिरहेका उद्योगी व्यवसायीको माग सम्बोधन गराउने छाता संगठन नयाँ नेतृत्व नपाउँदा निजी क्षेत्र आफैँ कमजोर हुँदै गइरहेको उनले बताए।

त्यस्तै ढकालकै प्यानलका वस्तुगत उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले सोही कार्यक्रममा अहिले आफूहरुको मत देखेर नै नेतृत्वसँग मिलेर मिति सार्न अर्को प्यानल लागिपरेको र सोहीअनुसार निर्णय भएको बताए।

के भन्छ अर्को प्यानल?
तर ढकाल प्यानलले लगाएको आरोपको प्रधान प्यानलले खण्डन गरेको छ। ढकालका प्रतिस्पर्धी किशोर प्रधानले ढकाल प्यानलले लगाएको आरोप आफैँमा गलत रहेको बताए।

‘अहिले हामीलाई नेतृत्वसँग मिलेको आरोप लगाइएको छ’, उनले नेपालखबरसँग भने, ‘चन्द्र ढकाल अघिल्लोपटक एसोसिएट उपाध्यक्षमा चुनाव लड्दा नेतृत्वसँग नै मिलेमतो गरेका थिए। अर्को कुरा, हामीलाई अहिले मत छैन भन्ने कुरो छ, त्यो गलत हो।’

kishor pradhan

उनले महासंघको पदाधिकारी बैठकले गरेको निर्वाचन मिति सार्ने निर्णयको बचाउ गर्दै सरकारले नै अहिलेको अवस्थामा सभा÷सम्मेलन गर्न रोकेकाले सरकारको नीतिअनुसार हिँड्ने बाध्यता आइपरेको बताए।

उनले भने, ‘सबैलाई बाध्यता नै छ। मत छ÷छैन भनेर उनीहरुले त आरोप लगाउने कुरो हो। त्यो आरोपले हामीलाई केही फरक पर्दैन। हामी आरोप÷प्रत्यारोपभन्दा काम गर्ने टिम हौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .