ad ad

कारोबार


सरकारी कर्मचारीलाई नि:शुल्क कोरोना बीमा, यस्ता छन् शर्त

सरकारी कर्मचारीलाई नि:शुल्क कोरोना बीमा, यस्ता छन् शर्त

नेपालखबर
साउन २१, २०७७ बुधबार १०:३६,

बीमा समितिले सरकारी कर्मचारीहरुलाई निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रमको औपचारिक सुरुवात गरेको छ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं. ५५ र २८५ को कोरोना बीमा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै बीमा समितिले सरकारी कर्मचारीहरुको निःशुल्क बीमा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

समितिले बुधबार पत्रकार सम्मेलन गरी सरकारी कर्मचारीहरुको सामूहिक कोरोना बीमा गर्दा नेपाल सरकारले शत प्रतिशत अनुदान उपलब्ध गराउने बताएको हो। समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले सरकारी कर्मचारीको निःशुल्क सामूहिक बीमा गर्ने सम्बन्धमा बजेटले व्यवस्था गरेको कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको बताए।

उनले नागरिकले आफ्नो परिवारको सामूहिक बीमा गर्दा ५० प्रतिशत अनुदान पाउने व्यवस्थालाई पनि कार्यान्वयनमा ल्याइएको बताए। परिवारका सबै सदस्यको सामूहिक बीमा गरे मात्रै उक्त अनुदान पाउने अध्यक्ष चापागाईंले बताए। यस्तो बीमालेखको अवधि २०७८ असार मसान्तसम्म मात्र हुने छ।

बीमालेख खरिद गर्नका लागि नेपाली नागरिक हुनुपर्ने, भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको भएमा १५ दिन अनिवार्य क्वारेन्टिनमा बसेको र थप १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको हुनुपर्ने छ।

त्यस्तै सामूहिक कोरोना बीमाका लागि एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको स्वघोषणा सहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पेश गर्नुपर्ने व्यवस्था समेत गरेको छ।

त्यस्तै अनुदान प्राप्त गर्नका लागि समितिबाट जारी गरिएको कोरोना बीमा मापदण्ड, २०७७ मा तोकिए बमोजिमका जोखिमांकन व्यवस्था सम्बन्धी कागजात, एकाघर परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बीमा गरिएको स्वघोषणा एवं सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात, एकाघर परिवारका सदस्यहरुको नाम तथा उमेर खुल्ने सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात, विगत ३० दिनसम्म नेपालमा नै बसोबास गरेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पेश गर्नुपर्ने छ।

बीमा लेख अन्तर्गत एक लाख र ५० हजार गरी दुई प्रकारको बीमांक कायम गरिएको छ। एक लाख बीमांक कायम भएको बीमालेखका लागि प्रतिव्यक्ति एक हजार र ५० हजारको बीमांकका लागि प्रतिव्यक्ति ५ सय बीमाशुल्क कायम गरिएको छ।

परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बीमा गरिएको खण्डमा १ लाखको बीमांकका लागि प्रतिव्यक्ति ६ सय र ५० हजारको बीमांकका लागि प्रतिव्यक्ति ३ सय बीमाशुल्क लाग्ने छ। परिवारको सामूहिक बीमा गर्दा १ लाखको बीमांकका लागि प्रतिव्यक्ति ३ सय रुपैयाँ र ५० हजारको बीमांकका लागि प्रतिव्यक्ति १ सय ५० रुपैयाँ सरकारबाट अनुदान उपलब्ध हुने छ।

कोरोना बीमालेख खरिद गरेको १५ दिन पछि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी हुने बीमा समितिले जनाएको छ। त्यसको लागि बीमालेख दाबी गरेको ७ दिन भित्र बीमितलाई दाबी भुक्तानी हुने व्यवस्था पनि समितिले गरेको छ।

दाबी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ। बीमकले सामूहिक बीमा गर्दा उल्लेखित प्रक्रिया र मापदण्ड विपरीत गरेको पाइए बीमाशुल्क अनुदान स्वरुप उपलब्ध नहुने पनि समितिले स्पस्ट पारेको छ। तर त्यस्तो बीमितको कोरोना संक्रमण भएको पाइएमा बीमालेख विक्री गर्ने बीमा कम्पनीको वासलातबाट दावी भुक्तानी दिन सम्बन्धित बीमकलाई समितिले निर्देशन दिन सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .