ad ad

कारोबार


कोरोनाको जोखिम बढेपछि व्यवसायी आफैँले बन्द गर्न थाले ठमेल र न्युरोडका पसल

कोरोनाको जोखिम बढेपछि व्यवसायी आफैँले बन्द गर्न थाले ठमेल र न्युरोडका पसल

सन्तोष न्यौपाने
साउन २४, २०७७ शनिबार १२:३५,

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि लकडाउनपछि खुलेका पसलहरु पुनः बन्द हुन थालेका छन्।

तीन महिना लामो लकडाउनपछि ठमेल तथा न्युरोड क्षेत्रमा खुलेका पसल एकपछि अर्को गर्दै बन्द हुन थालेका हुन्। ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले पसल तथा अन्य व्यवसायहरु पुनः बन्द हुन थालेको बताए।

‘अहिले ठमेल क्षेत्रमा १५ प्रतिशतमात्रै  पसल खुलेका छन्,’ शर्माले भने, ‘लकडाउनपछि खुलेका पसल पनि धमाधम बन्द भएका छन्।’ पछिल्ला दिनमा उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढ्न थालेपछि असुरक्षाको महसुस गरेर व्यवसायीहरुले आफैँ पसल बन्द गर्न गरेका हुन्। 

त्यस्तै, पर्यटकीय क्षेत्रमा व्यवसाय पनि नभएको हुँदा व्यवसायीहरुले आफ्नो पसल बन्द गरेको उनको भनाइ छ।

तीन महिनाको लकडाउनपछि ठमेल र न्युरोड क्षेत्रका आधा जसो व्यवसायहरु खुलेका थिए। व्यापार नभए पनि सरसफाइ र सामान नबिग्रियोस् भनेर पसल खोलेका धेरै व्यापारीहरुले पुनः सटर लगाउन बाध्य भएका छन्।

कोरोना संकटले गर्दा ठमेल क्षेत्रको व्यवसाय अगामी एक ढेड वर्षसम्म प्रभाव पर्ने भन्दै त्यहाँ भाडावाला र घरबेटीबीच भाडा समायोजन समेत भइरहेको छ। उपाध्यक्ष शर्माका अनुसार ठमेल क्षेत्रका ७० प्रतिशत पसल र घरबेटीबीच भाडा समायोजन भएको छ।

समग्रमा हेर्दा व्यवसायको अवस्था र घरबेटीसँगको सहमतिअनुसार ३० देखि ७० प्रतिशतसम्म भाडा छुट भएको उनले बताए। सस्तो भाडा भएका, पुराना घर र सानो क्षेत्रमा भएकालाई ३० प्रतिशतसम्म र ठूला क्षेत्र र नयाँ संचरना निर्माण गरेर महँगो भाडा लिएकाले ७० प्रतिशतसम्म भाडा छुट लिएका छन्।

कति घरबेटीले लकडाउन अवधि अर्थात ३ महिनाको पुरै भाडा छुट दिएका छन् भने कतिले ६ महिनासम्म ६० प्रतिशतसम्म छुट दिएको छन्। त्यस्तै कतिले ९ महिनासम्म पनि ६० प्रतिशत भाडा छुट दिएको शर्माले बताए।

झन्डै ५ प्रतिशतसम्म व्यवसायी काठमाडौं बाहिर भएका कारण समायोजन हुन नसकेको र कतिको भाडावाला र घरबेटीबीच सहमति हुन नसकेको शर्माले बताए।

त्यस क्षेत्रमा १५ हजार देखि २५ लाखसम्म भाडा छ। ठमेल क्षेत्रमा २ सय घरधनी र १० हजार व्यवसायीहरु रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .