ad ad

कारोबार


धमाधम बन्द हुन थाले होस्टलहरु, सरकारको सहुलियत ऋण पनि पाएनन्

धमाधम बन्द हुन थाले होस्टलहरु, सरकारको सहुलियत ऋण पनि पाएनन्

सन्तोष न्यौपाने
साउन ३१, २०७७ शनिबार १३:२८,

मुलुकमा कोरोना भाइरसले अर्थतन्त्र धरमराइ रहेको बेला होस्टल व्यवसाय अति संकटमा परेको छ।

लामो समयदेखि शैक्षिक संस्था बन्द भएपछि खाली अवस्थामा रहेका होस्टलहरु धमाधम बन्द हुन थालेका छन्। कतिपय व्यवसायी पलायन नै भएका छन् भने कति सहज भएपछि फर्किउँला भन्दै घरधनीलाई चावी बुझाएर हिँडेका छन्।

नेपाल होस्टल एसोसियन महासचिव रुपाली पौडेलले साउनमध्यसम्म ७० वटा होस्टल बन्द भइसकेको बताइन्। ‘फोन गरेर नै केही दिनअघिसम्म ७० होस्टलले बन्द गरेको भन्नु भएको छ,’ नेपालखबरसँग पौडेलले भनिन्, ‘हामीलाई खबर नै नभएका पनि धेरै बन्द भएका छन्।’ उनका अनुरा बन्द गर्नेहरुले भएका सामान साथीभाइकोमा व्यवस्थापन गरेर हिँडेका छन्।
कहिलेसम्म बन्द गरेर राख्नु पर्ने हो भन्ने यकिन छैन। कतिपय व्यवसायीले दशैँ तिहारसम्म भनेर पर्खेर पनि बसिरहेका छन्।

मुलुकभर सञ्चालनमा रहेका होस्टलमध्ये झन्डै आधाजसो होस्टलहरु बन्द हुन बाध्य हुनसक्ने आँकलन एसोसियसनको छ। नेपाल होस्टल एसोसियसनमा मुलुकभरका ७ सय ५० वटा होस्टल सदस्य छन्। त्यसमध्ये काठमाडौंका मात्रै ५ सय ५० वटा छन्।

कोरोना भाइरस संकटका कारण काठमाडौंमा सञ्चालनमा रहेका यी होस्टलमध्ये २ सय ५० देखि ३ सयको हाराहारीमा मात्रै सञ्चालनमा आउने उनको अनुमान छ।

कोरोना भाइरस संक्रमणले सम्पूर्ण शैक्षिक संस्था तथा अन्य शैक्षिक गतिविधि बन्द भएपछि काठमाडौँका होस्टलमा बस्ने विद्यार्थीहरु आफ्नो घर गएका छन्।

नेपाल होस्टल एसोसियन महासचिव रुपाली पौडेल

झन्डै पाँच महिनादेखि खाली रहेका यी होस्टलमा विद्यार्थीले छोडेको जानकारी गराएका छन्। भएका सामान पनि आफन्तीले लगिसकेका छन्। धेरैजसो होस्टल शैक्षिक संस्थासँग सम्बन्धित भएकाले संचालनमा थप समस्या परेको होस्टल एसोसियसन काठमाडौं अध्यक्ष सुनिता लाकौलले बताइन्।

छोटो समयका लागि बस्ने, लोकसेवाको तयारी गर्ने, भाषा कक्षाको तयारीको लागि बसेका विद्यार्थीहरुले होस्टल छोडिसेकेका छन्। तर, नियमित रुपमा कलेज पढ्नेहरु घर गएर बसे पनि फर्केर आउने भनेर कोठा होल्ड गरेर राखेका छन्।

होस्टल एसोसियसनले त्यसरी घरमा बसेर कोठा होल्ड गरेर राखेका विद्यार्थीहरुलाई आधा मात्र भाडा लिने निर्णय गरेको छ। होस्टलको कोठा नछाडेका विद्यार्थीहरुले अहिले आधा भाडा तिरेका छन्। ‘अलि सहज भएपछि आउँछौं भनेका छन्,’ पौडेलले भनिन्, ‘दशैँ तिहार पछि आउछौँ भन्नेहरु धेरै छन्।’

लामो समयदेखि होस्टल खाली भएपछि सम्पूर्ण व्यवसायीले घरधनीसँग आधा भाडा लिन अनुरोध गरेका थिए। त्यस मागमा कति घरधनीले सहमति भएर ३० देखि ५० प्रतिशतसम्म भाडा छुट दिएका छन्। कतिले पनि दुई महिनासम्मको पुरै भाडा छुट पनि दिएका छन्। आधा भाडामा पनि तिर्न नसक्नेहरुले अहिले चावी बुझाएर हिँडेका छन्।

‘यस्तै अवस्था हुने हो भने हामी सबैले छोडेर हिड्नुको विकल्प छैन,’ पौडेलले भनिन्, ‘कहिलेसम्म घरबेटीले आधा भाडा दिने, कहिलेसम्म विद्यार्थीसँग आधा भए पनि ल्याउ भनेर भन्ने। धेरै अन्योल र संकट छ।’

होस्टलहरु बन्द भएपछि घर खाली भएका छन् भने सयौंको रोजगारी पनि गुमेको छ।

राहतको सहुलित कर्जा पनि पाएनन्
कोरोना संकटको मारमा परेका सानादेखि ठूला व्यवसायमा राहत प्याकेज दिने भनेर सरकारले विभिन्न सुविधाको घोषणा गरेको छ।

मौद्रिक नीतिमार्फत् सहुलित कर्जाको व्यवस्था पनि गरेको छ। तर, होस्टल व्यवसायीहरुले भने कुनै पनि राहत नपाउने भएका छन्।

होस्टल एसोसियसन काठमाडौं अध्यक्ष लाकौलका अनुसार सरकारले होस्टल व्यवसायलाई उद्योग व्यवसायक रुपमा अझै पनि सूचिकृत गरेको छैन। उद्योग, व्यवसाय, शैक्षिक संस्था, सेवाजस्ता कुनै पनि व्यवसायको सूचीमा नराखेका कारण सरकारले दिने कुनै पनि सुविधा पाउन सक्ने अवस्था छैन।

‘सहुलियत कर्जा पाउन दोस्रो कुरा हो, सरकारले सूची मै समावेश गरेको छैन,’ लाकौलले भनिन्, ‘हामी घरेलु, वडादेखि नगरपालिकासम्म कर र राजश्व तिरेका छौं तर सरकारले सुविधा भने दिएको छैन।’

सरकारले अहिलेसम्म होस्टल व्यवसायलाई नचिनेको गुनासो पौडेलको छ। होटल, नाइ, किराना पसलजस्ता व्यवसायलाई सरकारले चिनेको छ तर होस्टललाई नचिनेक भन्दै सरकारसमक्ष ज्ञापन पत्र बुझाएको उनले बताइन्।

राज्यका सबै नियम पालना गरिरहेको अवस्थामा पनि सबै व्यवसायलाई सहुलित ऋण उपलब्ध गराउने तर होस्टललाई सुविधाविहीन बनाइएको पौडलेको आरोप छ।
‘राज्यले हामीलाई किन चिन्दैन भनेर ज्ञापनपत्र पनि बुझाएका छौं,’ पौडेलले भनिन्, ‘वाणिज्य बैंकमा जाँदा तपाईंहरुलाई सूचीकृत नै गरिएको छैन भन्छन्।’ होस्टल व्यवसायमा ७० प्रतिशत महिला रहेको भन्दै उनीहरुले पाउने सुविधा पनि नपाएको उनको गुनोसो छ।

महिला उद्यामीका लागि भनेर सरकारले विभिन्न ऐन, नीति, मन्त्रालय र निकाय मार्फत महिला व्यवसाय प्रवद्र्धनात्मक सुविधा उपलब्ध गराएको छ। होस्टल व्यवसायमा लागेका महिला उद्यमीले भने कुनै पनि सुविधा पान नसकेको मैतिदेवी, सेतोपुलमा मातापाथिभरा गर्स होस्टल चलाइरहेकी पौडेलले बताइन्।

अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदा समस्या सम्बोधन गर्ने भनिए पनि यो वर्षको सूचीमा होस्टल व्यवसायलाई कुनै पनि वर्गमा राखेको छैन।

संकटपछिको तयारी
कोरोना संक्रमण कम हुँदै गएपछि होस्टल व्यवसाय कसरी सञ्चालन गर्ने भनेर एसोसियनसका तर्फबाट तयारीसमेत हुन थालेको छ।

संक्रमण कम भएर शैक्षिक संस्था संचालन हुने अवस्था आएमा अपनाउनु पर्ने सुरक्षाका विधि र होस्टलको व्यवस्थापन कसरी गर्ने भनेर सबै होस्टललाई बाध्यकारी नियम लगाएको लाकौलले जानकारी दिइन्।

‘सधैभरी यस्तैै अवस्था त न होला। संक्रमण कम भएपछि कसरी सञ्चालन गर्ने भनेर योजना पनि बनाएका छौं,’ सिनामंगलमा ब्राइज गल्र्स होस्टल चलाइरहेकी लाकौलले भनिन्, ‘सुरक्षाको उपाय यसरी गर्ने भनेर सबै होस्टललाई भनिसकेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .